प्रकाश तामाङको ‘हेर्ने कथा’लाई १२ दिनमा करोड भ्यूज, युट्यूबबाट कति भयो आम्दानी ?

काठमाडौं । ३५ वर्षदेखि परिवारसँग विछोडिएका प्रकाश तामाङको कथालाई ११ दिनमै युट्यूबमा १ करोडपटक हेरिएको छ । नेपालमा यसप्रकारको डकुमेन्ट्री फिल्मले ८ अंकमा भ्यूज बटुलेको सम्भवत पहिलोपटक हो ।

विद्या चापागाईंको प्रस्तुति र कमल कुमारको लेखन/निर्देशनमा निर्माण भएको एपिसोड गत २४ अगष्टमा अपलोड गरिएको थियो । सुरुको दिनमा औसत भ्यूज पाए पनि दोस्रो दिनबाट फेसबुकमा भाइरल भएपछि भ्यूज ह्वात्तै बढेको हो । धेरैले यो एपिसोड हेरेर रोएको भन्दै स्टाटस लेखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडिओ शेयर गरेका थिए ।

भिडिओ एक वर्ष अगाडि नै सुटिङ भइसकेर अहिले सार्वजनिक गरिएको हो । यतिका समयसम्म यसलाई अपलोड नगरिकन राखिएको विषयमा निर्माण पक्षले केही बताएको छैन । हेर्ने कथाले प्रकाशलाई परिवारसँग गत वर्ष नै पुनर्मिलन गराएका थियो । त्यसपछि उनी आफ्नो कर्मभूमिमा नै फर्किएका थिए । पुरानै कामलाई निरन्तरता दिएका थिए ।

भिडिओ युट्यूबमा आइसकेपछि भने प्रकाशको जीवनमा नयाँ मोड आएको छ । उनी भाइरलम्यानमा परिणत भएका छन् । उनलाई सहयोग गर्न खोज्नेहरुको तँछाडमछाड छ । केही युवतीहरु प्रकाशसँग विहे गर्छु भन्दै भाइरल हुने प्रयासमा छन् ।

यता हेर्ने कथालाई पनि निकै ठूलो माइलेज प्राप्त भएको छ । यो भिडिओ आउनुभन्दा अगाडि हेर्ने कथाको युट्यूब च्यानलमा १० लाख सब्स्क्राइबर्स थिए । ११ दिनभित्रमा ४ लाखभन्दा बढी सब्सक्राइबर्स थपिएका छन् । भ्यूजको रफ्तार अझै पनि जारी रहेको हुँदा सब्स्क्राइबर्सको ग्राफ अझै माथि उक्लिन सक्ने देखिन्छ । अहिले दैनिक औसत १० हजार सब्स्क्राइबर थपिइरहेका छन् ।

कार्यक्रमबाट निर्मातालाई आर्थिकरुपमा फलिफाप भएको छ । मोनिटाइज भएका च्यानललाई यूट्यूबले भ्यूजका आधारमा डलर भुक्तानी गर्छ । यो आम्दानीमा विभिन्न तत्वहरुले प्रभाव पार्छन् । लामो भिडिओहरु यदि दर्शकले पूरै हेरे भने त्यसको मोनिटाइजेसन पनि राम्रो हुन्छ । कुन देशबाट कति हेरियो भन्नेले धेरै फरक पर्छ ।  । प्रकाशको एपिसोड एक घन्टा १० मिनेट लामो छ । दर्शक अन्त्यसम्म नै अडिएका छन् । त्यसैले यसले आकर्षक आम्दानी दिने निश्चित भएको हो ।

युट्यूबमा राखिएको भिडिओबाट हुनसक्ने आम्दानीको आँकलन गर्ने विभिन्न वेवसाइटहरु छन् । ती वेवसाइटहरुबाट हेर्दा हेर्ने कथाको यो एपिसोडले अहिलेसम्म अनुमानित २० हजार डलर (करिब २७ लाख रुपैयाँ) आम्दानी गरेकाे देखिन्छ । आम्दानीको सिलसिला भ्यूज आउञ्जेलसम्म चलिरहन्छ ।

यो एपिसोड अहिले पनि युट्यूवको नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ । अझै धेरै दिनसम्म भिडिओले राम्रो भ्यूज पाइरहने देखिन्छ ।

Comments

2 responses to “प्रकाश तामाङको ‘हेर्ने कथा’लाई १२ दिनमा करोड भ्यूज, युट्यूबबाट कति भयो आम्दानी ?”

  1. Tek Bahadur bk Avatar
    Tek Bahadur bk

    Herne Katha herera ankha bata anshu najharne ko hola ra…mero ankhabata ta anshu nai thamiena ….

  2. खेम प्रसाद नेउपाने Avatar

    अरु युटुबे हरुर पतुर्कार भनाउदा हरु जलेर मर्ने भयेअब कसैकाआँखा फुट्ने भय केगर्ने र कशैका स्वाष् पोइला गयको खोज्दा यति भिउज आउदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *