विवाह गर्छु भनेका युवकले धोका दिएको थाहा पाएपछि दुबईबाट फर्किएर बलात्कारको जाहेरी

काठमाडौं। श्रम स्वीकृति बनाउन जाँदा चिनजान भएका श्रम कार्यालय ताहाचलका कर्मचारीले विवाह गर्ने प्रलोभन दिएर बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी छिन् ।

जाहेरवाला कविता (गोपनीयताका लागि नाम परिवर्तन) गत वैशाखमा मात्र दुबई पुगेकी थिइन् । आफू दुबई पुगेपछि आरोपी सबिन (नाम परिवर्तन) ले बारम्बार गाली गर्दै पछि सामाजिक सञ्जालमा ब्लक गरेको जाहेरवालाको दाबी छ । त्यसपछि उनले नेपाल फर्किएर जाहेरी दिएकी थिइन् ।

प्रहरीले श्रम कार्यालय ताहाचलका ती कर्मचारीलाई साउन २५ गते पक्राउ गरेको थियो । कविताका अनुसार गत फागुनमा श्रम स्वीकृति बनाउन जाँदा सबिनसँग उनको चिनजान भएको थियो । त्यसपछि सबिनले आफूले श्रम स्वीकृति बनेपछि पठाई दिने भन्दै कविताको नम्बर लिएर उनलाई घर पठाएका थिए ।

फागुन १९ गते सबिनले आफूलाई सुन्धारास्थित एक होटलमा पुर्याएर विवाह गर्ने प्रलोभन देखाएको र घरमा जुठो परेकाले ६ महिनासम्म विवाह गर्न नमिल्ने भएको बताएका थिए । जाहेरवालाका अनुसार उनी १४र१५ वर्ष दुबई बसेर फर्किएकी थिइन् । सबिनले अविवाहित रहेको बताएपछि आफू पनि अविवाहित रहेकाले भविष्यमा उनीसँग विवाह गर्ने सोच बनाएको जाहेरीमा उल्लेख छ ।

गत वैशाख ९ गते उनी विदेश जानका लागि काठमाडौं आएकी थिइन् । दुबई जानुभन्दा अघिल्लो दिन सबिनले भेट्न बोलाएपछि नयाँ बसपार्कस्थित होटलमा पुर्याएको जाहेरीमा उल्लेख छ । ‘त्यस दिन पनि मैले नमान्दा नमान्दै जबर्जस्ती करणी गरे र विदेशबाट फर्किएपछि विवाह गर्नुपर्छ भन्दै प्रलोभन देखाए’, जाहेरीमा उल्लेख छ ।

तर आफू विदेश पुगेपछि सबिनले उनी विवाहित रहेको र छोराछोरीसमेत रहेको कुरा खोलेको कविताले प्रहरीलाई बताएकी छिन्। सबिनविरुद्ध ७ देखि १० वर्ष कैद सजाय माग गरेर काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ। अनुसन्धानका क्रममा सबिनले श्रम कार्यालयमा भेट भएपछि कविता आफैले सम्पर्क गरी सम्बन्ध बढाएको र आफू विवाहित रहेको कुरा उनलाई जानकारी गराएको बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *