‘वर एण्ड वधु’ प्रिमियरः आँखा शित्तल बनाएको प्रतिक्रिया

काठमाडौं । भोली शुक्रबारदेखि देशभरका हलमा रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को बुधबार बेलुकी ललितपुरको लाबिम मलमा भव्य प्रिमियर आयोजना गरिएको छ । निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखेनन् । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा फिल्म क्षेत्रका फिल्मीकर्मी, पत्रकार र राजनीतिज्ञहरुको उपस्थिती थियो ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक लगायत हल पुगेका थिए । यस्तै, फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, किरण केसी, विवेक कर्मचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि हल पुगेका थिए ।

फिल्म हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट फिल्म उत्कृष्ट बनेकोमा सबैलाई हेर्न आग्रह गरे । यस्तै, वरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकिय पाटोको तारिफ गरे ।

फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौलाले समग्रमा फिल्म उत्कृष्ट बनेको बताइन् । उनले, आँखा शित्तल हुने फिल्म हेर्न पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै, कलाकार केदार घिमिरेले पनि फिल्म नै राम्रो बनेको प्रतिक्रिया दिए ।

निर्देशक सुयोग गुरुङले यस्तो फिल्म हेर्दा आफूलाई निकै रमाइलो लाग्ने भन्दै निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार फिल्म बनाएको प्रतिक्रिया दिए ।

नायिका मिरुना मगरले आँचल शर्मालाई यो भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् । उनले, आँचलको भूमिकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् ।

फिल्म हेरेका अधिकांशले नव–नायक विवेक कर्माचार्यको कामको पनि खुलेरै तारिफ गरे । विवेक नयाँ नायक जस्तो नलागेको अधिकांशको भनाई थियो ।

भोलिबाट रिलिजमा आउन लागेको फिल्मले मल्टिप्लेक्समा सुखद शो पाएको छ । यसैले, देशभरका दर्शकले यो फिल्मलाई रुचाउने विश्वास गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *