प्रकाशलाई चुमभ्यालीबाट स-सम्मान बिदाई गरिने, चुमनुव्रीका अध्यक्षले भने- म नेतृत्व लिन्छु (भिडिओ)

काठमाडौं । विद्या चापागाईंको युट्यूव सिरज ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ का पात्र प्रकाश तामाङ ‘काले’ यतिखेर चर्चामा छन् । ३५ वर्षअघि काठमाडौंबाट भागेर गोरखाको चुमभ्यालीमा पुगेका प्रकाश तामाङको पुन:स्थापनाका लागि विभिन्न शुभेच्छुकदेखि सरकारसम्मले पहल थालिसकेका छन् ।

प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए । त्यसलगत्तै बालुवाटारबाट उनलाई फोन गयो ।

प्रधानमन्त्रीले पुन: आज प्रकाशलाई नागरिकताका लागि सहजीकरण गर्न गृहसचिव एकनारायण अर्याललाई बोलाएर निर्देशन दिइसकेको बताएका छन् ।

गृहसचिव अर्याललाई निर्देशन दिँदै गरेको फोटो राखेर ओलीले लेखेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई चार दिनभित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ ।’

नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने ओलीको भनाइ छ ।

यो पनि पढ्नुहोस्- चुमभ्यालीबाट काले तामाङ भन्छन्- अब भोजपुर फिर्छु, बाबुआमा पालेर बस्छु

दशैंमा फेरि फर्किने वाचासहित काले तामाङ पोहोरको दशैंपछि चुमभ्याली साहूकोमै फर्किएका छन् । चुमनुव्री गाउँपालिका-७ छेकम्पारमा रहेका उनी आर्थिक सहयोग जुट्ने र नागरिकता पनि बन्ने अवस्था आएपछि भोजपुर नै फर्किने सोच बनाएको बताउँछन् ।

हामीसँगको सम्पर्कमा प्रकाशले एउटा घर र अलिकति जग्गाजमिन भएमा खेती गरेर जीविका चलाउने इच्छा व्यक्त गरे ।

प्रकाशले ३४ वर्ष बिताएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई पनि हामीले भेटेका छौं । आफूले भिडिओ हेरेपछि प्रकाशको बारे विस्तृत कुरा थाहा पाएको उनले बताए ।

‘उनी बसेको ठाउँ गाउँपालिकाको केन्द्रबाट २ दिन टाढा हो । सम्झिएर ल्याउँदा केही वर्षअघि मसँग पनि भेट भएको रछ । तर, उनको भित्री कथा थाहा थिएन । स्थाानीय सरकार प्रमुखको हिसाबले म उनलाई हाम्रो पालिकाबाट र साहूबाट समेत स-सम्मान खादा लगाएर भोजपुर पठाउन आजबाटै काम थाल्छु’, अध्यक्ष लामाले भने ।

वडाध्यक्ष र प्रकाशका साहूसँग कुरा गरेर अहिलेसम्मको श्रम नमर्ने गरी न्यायोचित ज्याला दिलाइने साथै गाउँपालिकाले पनि सहयोग गर्ने उनले सुनाए ।

अध्यक्ष लामाको भनाइ जस्ताको तस्तै-

भिडिओ दोहोर्‍याएर/तेहेर्‍याएर हेरेँ । प्रकाशको कथाले सार्है भावुक भएँ । विश्वकै दुर्लभ लाग्यो । प्रधानमन्त्रीज्यूले पनि भेट्न चाहनुभएको रहेछ । उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । चुमनुव्री गाउँपालिकाको एउटा अभिभावकको नाताले प्रकाश मोक्तान बसिरहनुभएको छेकम्पारका वडाध्यक्षसँग समन्वय गरेर उनलाई आफ्नो घर फर्काउन विशेष पहल गराउँछौं । प्रकाश त्यहाँ बसेको ३४ वर्ष भइसकेको रहेछ । उनको पारिश्रमिको लागि टसी लामा र दाइसँग समन्वय गरेर पहल गर्नेछु ।

चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामा ।

भर्खरै प्रकाशसँग फोनमा कुरा पनि गरेँ । प्रकाशलाई पनि भनिसकेँ । तपाईँलाई घर फर्काउने, प्रधानमन्त्रीज्यूलाई भेटाउने प्रतिवद्धता गर्छु । प्रधानमन्त्रीज्यूले नेपाल सरकारबाट उहाँलाई गाँसबासको लागि थप सहयोग गर्न आग्रह गर्छु । हामी चुमनुव्री गाउँपालिका, छेकम्पारबाट उहाँलाई स-सम्मानरूपमा एउटा परिवारबाटै छुटेजसरी बिदाईमा कुनै कसर बाँकी राखिने छैन । यसमा स्वयं म नेतृत्व लिन्छु । प्रकाशले वास्तवमा आफ्नो दाजुभाइ-आमा बाबुलाई भेटिरहँदाको भिडिओ अझै झलझली आइरहेको छ ।

उहाँको सहयोगलाई लिएर धेरै साथीहरूको प्रतिक्रिया आएको छ । म सम्मान गर्छु । आवेगमा पनि कुराहरू आएको छ । सबैलाई संयमरूपमा प्रतिक्रिया दिन हुन अनुरोध गर्दछु । म स्वयं गाउँपालिका अध्यक्षको हिसाबले प्रकाशको अभिभावकीय भूमिका निर्वाह गरेर उहाँलाई पठाउँछु । सबै पाहुनालाई सम्मान गरेर पठाउने चुमभ्यालीको विशेषता उदाहरणीय छ । मेरो उहाँसँग कुरा भएको छ । लामो समयसम्म उहाँले बसेर गर्नुभएको श्रमको पारिश्रमिक दिलाएर भोजपुरमा साथीहरूसँग समन्वय गरेर परिवारमा पुन:स्थापना गर्छौं । प्रकाशको बुवालाई म के भन्छु भनेँ- तपाईँका छोरालाई तपाईँ भए ठाउँमा ल्याउने प्रतिवद्धता जनाउँछु ।

Comments

4 responses to “प्रकाशलाई चुमभ्यालीबाट स-सम्मान बिदाई गरिने, चुमनुव्रीका अध्यक्षले भने- म नेतृत्व लिन्छु (भिडिओ)”

  1. Yam Paudel Avatar
    Yam Paudel

    नेपालमा नखुलेका यस्ता प्रकाश धेरै नै छन् जस्तो लाग्छ, खाना लगाउन दिएको भरमा सबै क्षेत्रबाट वञ्चित गरि श्रमशोषण गर्नेहरुलाई आवश्यक छानबिन गरी कारवाही गर्नुपर्दछ ।

  2. एल बि मुखिया Avatar
    एल बि मुखिया

    बुझकी र शहनशिल अध्यक्ष ज्यु👍️

  3. Surya Bahadur Baral Avatar
    Surya Bahadur Baral

    अति मार्मिक लाग्याे ।आबश्यक परे सहयाेग गर्न तयार छु।

  4. jayandra gharti magar Avatar
    jayandra gharti magar

    यो समाचार सुनेर प्रकशको श्रम मेहनत कर्मको फल मिलोस भन्ने प्राथना गर्दछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *