कुलमान घिसिङले ९ वर्षसम्म २२ अर्ब बक्यौता नउठाएर लोकप्रियताको आडमा विद्युत महसुल विवादलाई राजनीतिकरण गरेको आरोप
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले विगतको सरकार र विद्युत प्राधिकरणको नेतृत्वले मिलेमतोमा १६ अर्ब रूपैयाँ महसुल छुट दिएको भन्दै अहिले सरकारबाहिर गएपछि हिरोइजम देखाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा माओवादी केन्द्र र रास्वपाका सांसदहरूले अहिलेको सरकारमाथि आरोप लगाएपछि बास्कोटा आक्रोशित बनेका हुन् । उनले हजार कुतर्कको काम छैन भन्दै ९ वर्षदेखि बक्यौता नउठेको स्मरण गराए ।
बास्कोटाले भने, ‘९ वर्षदेखि विद्युत प्राधिकरणको नेतृत्वमा को छ ? उठाउने भए यो समय पर्याप्त होइन ? मैले सन्चारमन्त्री भएका बेला १ वर्षमा ५१ अर्ब राजश्व उठाइदिएको अनुभव छ । अचेल खुबै नो इफ नो बट भन्ने भाषा चलेको छ । म पनि भन्छु, नो इफ नो बट विद्युत महसुल नउठाउनेलाई कारबाही गर्नुपर्छ कुरा क्लियर कट । मलाई कुनै लोकरिझ्याइँ गर्नु पनि छैन, गलत कुराको आँधीबेहरी केही समय चल्ने हो, तर सत्य एउटै हुन्छ । तत्कालीन सरकार (प्रचण्ड) र विद्युत प्राधिकरणको नेतृत्वलाई प्रश्चन छ, १६ अर्ब मिनाह किन दिइयो ? एकातिर महसुल नउठाउने, अर्कोतिर हिरोइजम देखाउन पर्दैन । मिलेमतोमा महसुल छुट दिनेको लोकरिझ्याइँ पनि धेरै टिक्दैन । विद्युत प्राधिकरण राज्यको सम्पत्ति हो, कुनै एक पपुलिस्टको निजी सम्पत्ति होइन ।‘
बास्कोटाले विद्युत प्राधिकरणको नेतृत्वले आफ्नो दायित्व बमोजिम महसुल नउठाएर राजनीतिकरणमा लागेको भन्दै यो राजनीतिकरणको विषय समेत नभएको बताए । उनले नाइस टु अलबाट समस्या समाधान नहुने भन्दै अबको लोकतन्त्र लिपिपोतिबाट नचल्ने समेत बताए । उनले व्यक्तिको पपुलारिटीबाट तर्सिनेखालको व्यक्ति आफू नरहेको र आफूले धेरै आक्रमणहरू सहेर आएको समेत प्रष्ट पारे ।

Leave a Reply