रिनाकाे शंकाष्पद मृत्यु: श्रीमानले शव लिएर भागेको माइती पक्षको आराेप, अस्पतालमा प्रदर्शन

जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका ८ की नवविवाहित युवती २० वर्षीया रिनादेवी रायको मंगलबार राति शंकास्पद मृत्यु भयो । माइत पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।

मृतक रिनाको शव दुई दिनदेखि आज जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको थियो । आज पोष्टमार्टम भएलगत्तै उनको शव लिएर श्रीमान पक्षले भागेको भन्दै अस्पतालमा माइत पक्षले प्रदर्शन गरेका छन् ।

धनुषाको हँसपुर नगरपालिका ६ की रिनाको सामाजिक परम्परा अनुसार गत वैशाख १९ मा मात्रै रोहनसँग विवाह भएको थियो । माइती पक्षले सुनचाँदीका गरगहना, फर्निचर, लत्ताकपडासहित करिब १५ खर्च गरेको दाबी गरेको छ ।

थप दाइजो माग्ने गरेपछि रिना केही समयदेखि माइतीमा थिइन् । माइतीबाट ससुराल गएकै राति उनको आफ्नै श्रीमान, सासु, ससुरासहितले रिनाको हत्या गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी समेत दर्ता गराएको छ ।

माइत पक्षले रिनाको हत्या गरेकाले आफूहरु नै दाहसंस्कार गर्ने तयारी गरेको थियो । रिनाको माइत पक्षका एक युवकले भने, ‘शव लग्न हामीसँग हस्ताक्षर गराएको थियो । हामीले कहाँ दाहसंस्कार गर्ने छलफल गरिरहेका थियौं । त्यही क्रममा शव लिएर केटा पक्षले फरार भयो ।’

शव लिएर भाग्न अस्पतालमा बस्ने प्रहरीले सहयोग गरेको उनले आरोप लगाए । प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका उनले भने, ‘प्रहरीले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने हो । तर शव लिएर भाग्न सहयोग गर्दा अब निष्पक्ष छानबिन हुनेमा शंका लाग्यो । प्रहरीले नै पैसा खाएको छ ।’

Comments

One response to “रिनाकाे शंकाष्पद मृत्यु: श्रीमानले शव लिएर भागेको माइती पक्षको आराेप, अस्पतालमा प्रदर्शन”

  1. KB Gurung Avatar
    KB Gurung

    janchetana khoi??? ghatna vai sake paxi matrai kaan thado parni sarkar prasasan police janta afai pani…

Leave a Reply

Your email address will not be published. Required fields are marked *