काठमाडौं । पोखरा महानगरपालिकाकी एक कर्मचारीको आन्तरिक सरूवा अहिले सामाजिक सञ्जालमा चर्चा र चासोको विषय बनेको छ । सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गरेकी छन् ।
तीन महिनाअघि मात्रै वडा नम्बर ३ बाट महानगरमा आएकी चन्द्रावतीलाई केही दिनअघि पोखरा-२३ वडामा सरुवा गरिएको हो । करिब ५ वर्ष वडा नम्बर ३ मा बसेर आएकी वाग्लेलाई तीन महिनामै फेरि वडा पठाइएको छ । २३ नम्बर वडा तुलनात्मक रूपमा दुर्गम मानिन्छ ।
पोखरा महानगरपालिकाले जारी गरेको कर्मचारीको पदस्थापन, सरुवा र कामकाजमा खटाउने मापदण्ड २०८० ले महाशाखा, शाखा, वडा कार्यालय, आयोग, समिति र कार्यालयमा कार्यरत कर्मचारीलाई न्यूनतम एक वर्षमा सरूवा गर्न सकिने उल्लेख छ । चन्द्रावतीलाई सरूवा गर्दा यो व्यवस्था उल्लंघन भएको देखिन्छ ।

सरुवापछि आफूले महानगरमा बुझ्दा ‘सातौं तहका कर्मचारीले वडा सम्हाल्ने’ भनेर पठाइएको जवाफ पाएको चन्द्रावतीले बताइन् । तर सरूवाको लिस्ट हेर्दा सुगम भनिएका ठाउँमा समेत छैटौं तहका कर्मचारीलाई वडाको जिम्मेवारी दिइएको पाएको उनको भनाइ छ ।
वाग्लेले भनिन्, ‘पछि अरूबाट थाहा पाएँ, काठमाडौंका मेयर बालेन शाहको प्रशंसामा गीत निकालेपछि मलाई कारबाहीस्वरूप मेयर सा’बकै निर्देशनमा वडा नम्बर २३ मा पठाइएको रैछ ।’
वाग्लेले केही समयअघि ‘हिम्मतवाला बालेनको नाम इतिहासमा लेखियो, गरे जे नि हुने रैछ जे नि देखियो’ बोलको गीत निकालेकी थिइन् । उक्त गीतमा शब्द, लय र स्वर उनकै छ । पाँच लाख भ्यूज पाइसकेको गीत ‘मरे पनि नहटाउने’ अडान वाग्लेको छ ।
वाग्लेले सरुवाको विषयमा प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापासँग बुझ्न चाहेकी थिइन् । तर थापा काठमाडौं गएपछि उनले भेट्न पाइनन् । उनले मेयर धनराज आचार्यलाई भेटिन् । मेयरले सरुवा गर्न आफूले निर्देशन दिएको स्वीकार गरेको उनको दाबी छ ।
वाग्ले सरुवा भएको ठाउँमा गएकी छैनन् । प्रमुख प्रशासकीय अधिकृतसँग कुरा गरेपछि मात्र जाने उनले बताइन् ।
‘जाँदै नजाने त होइन । कर्मचारीले सरुवा भएको ठाउँ जाँदिनँ भन्न पाइँदैन’, उनले भनिन्, ‘श्याम सरसँग कुरा गरेपछि निर्णय गर्छु । के कति कारणले सरुवा भएको हो । त्यो त थाहा हुनुपर्यो नि !’
मेयर आचार्य भन्छन्- मलाई जानकारी छैन
महानगरका मेयर धनराज आचार्यले कर्मचारी सरुवाको विषयमा आफू अनभिज्ञ रहेको बताए ।
‘मैले सुनें, तर मलाई थाहा छैन । कर्मचारीको सरुवा मलाई के थाहा हुन्छ र ? तलको सिस्टमले गर्ने कुरा हो’, उनले भने ।
आफूले कुनै पनि कर्मचारीलाई सरुवाका लागि हस्तक्षेप नगरेको उनको दाबी छ ।
‘मेरो लागि सबै कर्मचारी बराबर हुन्’, उनले भने ।
मेयर आचार्यले वाग्लेलाई वडा नम्बर ३ बाट ३ महिनाअघि सामाजिक महाशाखामा काजमा ल्याइएको र अहिले फेरि वडामै पठाइएको जानकारी पाएको उल्लेख गरे ।
वाग्लेले गाएको बालेनको गीतमा आफूलाई आपत्ति नरहेको आचार्य बताउँछन् ।
‘यो उहाँको स्वतन्त्रताको कुरा हो, सबैले आफ्नो अभिव्यक्ति र विचार सम्प्रेषण गर्न पाउँछन्’, उनले भने ।

Leave a Reply