थामे बाढी: हिमताल फुटेर बाढी आएकाे पुष्टि (तस्बिर/ भिडिओ)

काठमाडौं । सोलुखुम्बुको थामेखोलामा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा शुक्रबार दिउँसो हिमताल फुटेर बाढी आएको पुष्टि भएको हो ।

गाउँपालिकाले हेलिकप्टरमार्फत स्थलगत निरिक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टी भएको जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ।

उक्त क्षेत्रमा पाँच वटा ताल रहेको छ ।अरु तालहरु पनि जोखिममा रहेको छ । बाढीको थप जोखिमको सम्भावना नरहेको देखिएपनि ठाउँठाउँमा पहिरोले खसेर जुनसुकै बेला खोला थुनिन सक्ने अवस्था रहेको छ।

शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *