बुटवल क्षेत्रलाई प्राविधिक शिक्षाको हव बनाउन बिटिआईलाई टेक्निकल क्याम्पस बनाउने अभियान

रुपन्देही । बुटवल क्षेत्रमा प्राविधिक शिक्षालाई व्यवस्थित बनाएर प्राविधिक शिक्षाको शव बनाउने उद्देश्यअनुरुप बुटवल टेक्निकल स्कुललाई प्राविधिक शिक्षालय बनाउने अभियान सुरु भएको छ ।

लामो समयदेखि यस क्षेत्रमा प्राविधिक विषयमा अध्यापन गर्दै आएको बिटिआईलाई अहिले चलेका कोर्षलाई निरन्तरता दिँदै काठमाण्डौ विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा यस क्षेत्रको आधुनिक प्राविधिक क्याम्पसका रुपमा बढाउने योजना अघि सारिएको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अगुवाईमा मंगलबार काठमाण्डौंमा यसको औपचारिक छलफल थालिएको हो । बुटवललाई आजको आधुनिक बुटवलमा पुराउने, यहाँको औद्योगिक विकासको एक हिसाबले शिलान्यास गराएको प्रतिष्ठित संस्था बुटवल टेक्निकल ईष्टिच्युट (बिटिआई) मा इञ्जिनियरिङ विषयको अध्ययन सुरु गर्न काठमाण्डौं विश्वविद्यालय (केयु) सँग छलफल भएको मन्त्री पौडेलले जनाएका छन् ।

काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङतर्फको आङ्गिक क्याम्पस बनाउने सम्बन्धमा छलफल गरी वातावरण निर्माण गर्ने काम भैरहेको उनले जनाएका छन् । यो छलफलमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापा, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, पूर्व विद्यार्थीसमेत रहेका पोखरा निवासी हरि पाण्डेयलगायत सहभागी रहेका थिए ।

छलफलमा सहभागी बुटवलका मेयर पाण्डेयले यो कामले सार्थकता पाएसँगै बुटवलमा शिक्षा र प्रविधिको क्षेत्रमा एक अध्याय थपिने बताएका छन् । ‘मलाई आशा छ बिटिआईलाई आगामी दिनमा नयाँ ढंगबाट अगाडि बढाउन सकिने छ, अहिले यो विषय छलफलकै चरणमा रहेको छ, यो छलफलले अवश्य पनि भावी दिनमा सार्थकता पाउने छ र बुटवललाई प्राविधिक शिक्षाको हव बनाउन सकिन्छ’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *