चितवन राष्ट्रिय निकुञ्जले माछा मार्न कडाइ गरेपछि सन्तोष बोटेकाे पुस्ताले गरेकाे संघर्ष

चितवन । सहदेव बोटे पश्चिम चितवनका बासिन्दा हुन् । राप्ती किनारको ऐलानी जग्गामा सानो झुपडी थियो । दिनदिनै राप्तीमा हेलिएर माछा मार्न जान्थे । कमाउने र परिवार चलाउने बाटो राप्तीको माछा थियो ।

सहदेवका दुई छोरा पनि बाल्यकालदेखि नै बाबुको माझी जीवन देख्दै हुर्किए । दुई छोरामध्ये एक हुन् सन्तोष बोटे । सन्तोषले थाहा पाएदेखि नै बाबुको पेशा माछा मार्ने देखे । उनी पनि बाबुसँगै राप्तीको पानीमा हेलिँदै बाबुले जालमा पारेका माछा बटुल्दै हुर्किए ।

सहदेवले आफ्नो जीवनमा माछा मार्न सिके । उनको जीवन अघि बढ्दै गर्दा चितवनमा बाघ, गैंडा संरक्षण योजना आयो । चितवनमा बाघ, गैंडा जोगाउन वन संरक्षण गर्नुपर्छ भन्ने नीति सरकारले ल्यायो । चितवन राष्ट्रिय निकुञ्ज नाम दिएर देशमै पहिलो वन्यजन्तु संरक्षण क्षेत्र स्थापना पनि भयो ।

स्थानीय वासिन्दा आवश्यकअनुसार वन पस्न नपाउने भए । २०३० सालअघि जंगलकै भरमा जीवन चल्ने उनीहरुले घाँस दाउराको लागि सुरक्षाकर्मीको अनुमति लिनुपर्ने भयो । सहदेवको परिवार पनि यहाँका आदिवासी जस्तै जल र जंगलकै भरमा चलेको थियो । निकुञ्ज स्थापनापछि जंगल र नदीसँगको सामीप्यलाई सुझबुझपूर्ण तरिकाले र अनुमति लिएर मात्रै उपयोग गर्नुपर्ने भयो ।

यद्यपि उनको पेशा फेरिएन, न फेरियो जीविकोपार्जनको आधार । निकुञ्ज स्थापनाको १५ वर्षपछि जन्मिएका सहदेवले छोरालाई पनि आफूले जानेको सीप माछा मार्ने नै हस्तान्तरण गरे । अहिले सहदेव यो संसारमा छैनन्, तर बाबु सहदेवको सीप सन्तोषसँग छ ।

बुबाको मृत्युअघि दाजुको परिवार छुट्टिसकेको थियो । परिवारको जिम्मेवार व्यक्ति उनी नै भए । त्यसैले पनि राप्ती नदीमा माछा मार्न जानुपर्ने बाध्यता थियो उनको । परिवार धान्नुपर्ने बाध्यताका कारण उनलाई हजुरबुबा, बुबाहरुले जस्तै नदी किनारा र ऐलानी जमिनको झुपडीमै जीवन बित्छ झैं लाग्थ्यो ।

दुःखसुख उनले एसएलसीसम्म विद्यालय जान पाए । विद्यालयबाट बचेको समय राप्ती नदी तिरैतिर बुबासँगै बिताउँथे, तर बुबाको मृत्युपछि उनको बाटो बोटे र माछा मार्ने माझीमा मात्रै सीमित भएन । उनलाई घर चलाउने विकल्प खोज्ने अवस्थामा पुर्‍यायो ।

‘बुबा बितेपछि मेरै काँधमा जिम्मेवारी आयो’, सन्तोष भन्छन्, ‘जिम्मेवारीले कमाउने विकल्प खोज्नुपर्ने बनाउने रहेछ ।’

चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पुरानो राष्ट्रिय निकुञ्ज हो । २०३० सालमा बाघ, गैंडा जस्ता वन्यजन्तु संरक्षण अभियान सुरु भएपछि निकुञ्ज सुरक्षाको लागि सेना बस्न थाल्यो । त्यसपछि विस्तारै राप्ती नारायणीमा भएका जलचरको संरक्षणको कुरा पनि उठ्न थाल्यो ।

जनावर संरक्षण प्रकृति र पर्यावरणको लागि महत्वपूर्ण त छँदैछ । अझ चितवन राष्ट्रिय निकुञ्ज यहाँको प्राकृतिक विविधताका कारण पनि विश्व सम्पदा सूचीमा सूचीकृत छ । संरक्षणकै प्रतिफल चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ पुगेका छन् । एक सिंगे गैंडालगायतका अन्य वन्यजन्तु पनि बढ्दो क्रममा छन्, तर निकुञ्ज घोषणा गरी संरक्षण क्षेत्रको रुपमा कानूनले सम्बोधन गरेपछि सन्तोषको परिवारसँगै धेरै आदिवासीको जीविकोपार्जनमै समस्या पर्‍यो ।

बाल्यकालमा माछा मार्न सिक्दा बुबासँगै जुनै समय पनि राप्ती नदी पुग्थे सन्तोष, तर चितवन राष्ट्रिय निकुञ्ज बनेपछि विस्तारै माछा मार्न अनुमति लिनुपर्ने भयो । निकुञ्ज प्रशासनले अनुमतिपत्र प्राप्त बोटेहरुलाई मात्रै माछा मार्न स्वीकृति दिने भयो । अझ स्वीकृति पाएकाहरुले पनि वर्षमा ६ महिनामात्रै माछा मार्न पाउने भए ।

सन्तोष भन्छन्, ‘हाम्रो जीवन जल र जंगलसँग जोडिएको छ । राप्ती नारायणी हाम्रो सभ्यताको थलो हो, तर हामीले माछा मार्दा घडियाल मासिन्छ भनेर बोटे समुदायलाई नदीमा जान नियन्त्रण गर्न थालियो ।’

जंगलसँगै जीवन जोडिएका बोटे समुदायको जलमाथिको अधिकार खोस्न नहुने उनको माग छ । यद्यपि संरक्षणको प्राथमिकतामा जीविकोपार्जनको आधार खोज्नुपर्ने अवस्थामा पुगे सन्तोष ।

१२ वर्षअघि बुबाबितेपछि उनले सौराहाको होटलमा काम थाले । उतैबाट साथीहरुको सल्लाहले कतार गए । कतारमा साढे ३ वर्ष काम गरेपछि पुनः नेपाल फर्किए । नेपाल आएपछि सन्तोषले उनको साथी सर्कल सबैको जीविकोपार्जन अझै पनि निकुञ्जले दिएको लाइसेन्सको आधारमा वर्षमा ६ महिना माछा मारेर जेनतेन चलिरहेको देखे ।

चितवन राष्ट्रिय निकुञ्जले २०५८ सालमा हाल भरतपुर महानगरपालिका- १३ बोटे टोलमा माछा मार्ने लाइसेन्स बाँडेको थियो । सन्तोषको घर भएको उक्त टोलमा त्यसबेला बोटेहरुको ३५ घर थियो । निकुञ्जले दिएको लाइसेन्स हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ, तर कतिपय नबुझेका समुदायका सदस्य भएकाले नवीकरणको म्याद सकिएपछि जाँदा उनीहरुले माछा मार्ने कागज पुनः पाएनन् । त्यही कारण माछा मार्ने लाइसेन्स अहिले घटेर १३ जनाको मात्रै रहेको सन्तोष बताउँछन् ।

कमाउन कतार गएका उनलाई नेपाल फर्किएपछि भने त्यहाँको दुःख गरेर हुने कमाइ नेपालमै माछा मार्नेसँगै अर्को पेशाबाट पनि हुन्छ होला भन्ने लाग्यो । २०७५ सालमा नेपाल आएपछि आफू जस्तै माछा मार्ने १८ परिवारलाई उनले भेला गरे । अनि सल्लाह गरे- राप्तीमा माछा पनि मार्ने, तरकारी खेती पनि गर्ने ।

सुरुमा त उनका साथीभाइ उत्साहित भए । तरकारी लगाउने त्यो पनि अर्गानिक । सबैको सहमति भयो । लामो समयदेखि पश्चिम चितवनमै विषादीरहित तरकारी खेती गर्दै आएका छविलाल न्यौपानेले उनीहरुलाई खेती गर्ने तरिका सिकाइदिए । अनि गोलभेंडाको बीउ पनि दिए ।

‘सबै जना मिलेर जम्मा गरेको ६० हजार रुपैयाँ थियो हामीसँग । हाम्रो १० कठ्ठा ऐलानी जग्गामा तरकारी लगाउने निधो गर्‍यौं’, सन्तोषले भने, ‘विषादीरहित तरकारी खेती थाल्दा सबैजनाको कमाउने आधार दुई वटा भयो भनेर खुसी पनि भयौं ।’

तरकारी खेतीले एकै पटकमा धेरै नाफा दिन सकेन । त्यसैले १२ जनाले समूह छोडे, तर सन्तोषलाई तीन परिवारले साथ दिए । ६ जना मिलेर तरकारी खेती गरे । त्यसयता उनीहरुले गोलभेंडा, काँक्रो, खुर्सानीलगायतका तरकारी लगाए ।

केही नाफा पनि भयो, तर नाफा पुनः खेतीमै लगाए । ‘हामीले माछा मार्न पनि छोडेका छैनौं । सँगै विस्तारै पेशा परिवर्तनको बाटोमा पनि छौं’, सन्तोषले भने ।

यसअघि पानीको अभावले उनीहरुले तरकारी रोप्न सकेनन् । अहिले भने पानी पुगेकाले तरकारी लगाउने तयारी गरिरहेको सन्तोष बताउँछन् । उनी भन्छन्, ‘खेतीपातीमात्रै होइन, गाउँका बालबालिका पढाउने अभियान पनि अघि बढायौं । अहिले गाउँका सबै बालबालिका पढ्न थालेका छन् ।’

जीविकोपार्जनको विकल्पमा अरुलाई पनि प्रोत्साहित गर्ने युवा सन्तोष बोटेलाई २०७७ सालमा युवा तथा खेलकुद मन्त्रालयले युवा उद्यमीको रुपमा सम्मान पनि गरेको थियो । त्यो उनको जीवनकै पहिलो सम्मान थियो, जसबाट कृषि उद्यममा लाग्न प्रेरणा पनि पाएको उनले बताए ।

‘सम्मान गर्न त बोलाउनुभयो । मलाई कृषिमा अझ राम्रो गर्न उत्साहित पनि बनायो’, सन्तोष भन्छन्, ‘सरकारकै मान्छेले बोटे कस्तो जाति हो भनेर सोध्नुभयो । त्यतिबेला चाहिँ नराम्रो लाग्यो ।’

सन्तोषलाई आफू बोटे समुदायको भनेर चिनाउँदा गौरव लाग्छ । जंगल र पानीको नजिक बस्ने आदिवासी जनजाति, जसको मूल पेशा माछा मार्ने हो । राष्ट्रिय जनगणना २०७८ अनुसार बोटे जातिको संख्या १५ हजार ८१८ जना अर्थात् कुल जनसंख्याको ०.०५ प्रतिशत रहेको छ, तर सन्तोष आफूहरुको गणना नै राज्यले राम्रोसँग नगरेको गुनासो गर्छन् ।

बोटे समाज चितवनमा समेत आवद्ध रहेका सन्तोष भन्छन्, ‘हामीलाई पाखा लगाउने काम राज्यबाट भइरहेको छ । एक त हाम्रो यकिन तथ्याङ्क सरकारसँग छैन । अर्कोतर्फ हाम्रो खोलानालासँग जोडिएको रीतिरिवाज, संस्कारलाई नदीबाट टाढा बनाइदिएको छ । यसरी विस्तारै एकादेशको कथामा बोटे समुदाय थियो रे भन्ने अवस्था आउँछ कि भन्ने डर लाग्छ मलाई ।’

अधिकारको वकालतसँगै ३५ वर्षे सन्तोष बोटे जीविकोपार्जनका वैकल्पिक आधारहरु भने खोज्नुपर्नेमा सहमत छन् । उनी भन्छन्, ‘हाम्रो जातीय संरक्षणसँगै जीवन चलाउन माछा मार्ने विकल्प भने बोटेहरुले खोज्नुपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *