म बाँच्नको लागि विदेश जाँदैछु

म इन्जिनियर हुँ । म विदेश जाँदैछु ।

म डाक्टर हुँ । म विदेश जाँदैछु ।

म सरकारी अधिकृत हुँ । म विदेश जाँदैछु ।

म विद्यार्थी, लेखक, कलाकार, पत्रकार , प्राध्यापक, आर्मी, प्रहरी, राजनीतिज्ञ, व्यापारी, किसान, दक्ष , अदक्ष, आफ्नो गच्छेअनुसार मान्छे म विदेश जाँदैछु … यस्तैमात्र सुनिरहेको छु आजकल ।

के भएको होला ! म जति भेट्दैछु । उति मान्छे भन्दैछन् “म बाँच्नको लागि विदेश जाँदैछु ।”

कोही आजको लागि बाँच्न र कोही भोलिको लागि बाँच्न देश छाडिरहेका छन् । नेपालको एयरपोर्टको भिड जापानको ट्रेन स्टेशन जस्तै भैसक्यो । हाम्रो एयरपोर्ट मान्छे नै मान्छेको आँशु र हाँसोको संगम भैसक्यो ।

बाँच्नको लागि विदेश जान पर्दैन । यहीँ (नेपालमै) ८० हजार खाइरहेको मान्छे विदेश जाँदैछ, जानु पर्ने छैन विदेश भनेर प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छेले भनेको सुन्यौं, पढ्यौं । त्यही दिन पत्रिकामा रुकुमको एक गाउँ नै डंकी रुटबाट विदेश जाँदै गरेको पढ्यौं । मलाई यस्तै हो विदेश जान्छन्, फर्केर आउँछन् भन्ने लागिरहेको थियो ।

तर, आज एकजनाले आएर “दाइ म बाँच्नको लागि विदेश जाँदैछु” भन्दा मेरो हृदय चसक्क भयो । उनी मेरो एकै कोखको भाइ हैनन् । एकै गाउँको र एकै जिल्लाको पनि हैनन् । मलाई यत्ति थाहा थियो- उनी एक असल मान्छे हुन्, भेट्दा मज्जा आउने मान्छे हुन् । सकेको अरुलाई भलो गर्ने मान्छे हुन् । नसके कुभलो नगर्ने मान्छे हुन् । उनी मान्छेजस्तै मान्छे हुन् । हृदयविहीन यो समाजमा उनी हृदय भएका मान्छे हुन् । दया, माया, क्षमा, करुण बोकेर हिँडेका मान्छे हुन् ।

उनको अनुहारमा आएको उदासीले मलाई गाल्यो । उनले भने “म महिनाको चालिस हजार कमाउँछु, श्रीमती टीयूमा पढाउँछिन्, दुई बच्चा छन् , राजधानीमा २० वर्षदेखि डेरामा छु अब म बाँच्नको लागि विदेश जाने भए ।”

मैले सोधेँ “तपाईँ दुईजना कमाउने हुँदा पनि किन बाँच्नकै लागि विदेश किन ?”

उनले भने “दाइ सोझो सीधालाई नेपालमा केही छैन । कि त यहाँ दलाल हुनुपर्यो कि झूठो-मूठो कि राजनैतिक पहुँचको मान्छे हुनुपर्यो । हामीले यहाँ बाँच्न सक्दैनौं ।”

अझ आश्चर्यमा पर्दै मैले सोधेँ “किन यस्तो भन्दै हुनुहुन्छ ?”

उनले आफ्नो खर्चको फेहरिस्त बताए । “दाइ चार जना सुत्न परयो, कोठाभाडा २५ हजार, बच्चाको फी ३५ हजार, खान , बस्न ,लाउन , इष्टमित्र , बिमारी , विवाह बटुलो, यताउता जान ८० हजार कमाएर पनि पुगेन, एक लाख कमाएर बाँच्न सकिएन केही गरि ठूलै बिमारी परियो भने त मरियो नी !”

मैले फेरि सोधेँ “अर्को सस्तो कोठा खोजेर, बच्चाहरूलाई सस्तो स्कुलमा राखे त भइहाल्यो नि !”

उनले भने “दाइ हजुरले समाज नै बुझ्नु भएको रैनछ, अहिले राम्रो स्कुलमा, राम्रो ठाउँमा बसेका बच्चाहरूलाई अर्को ठाउँमा राखेर उनीहरूको मानसिकता के हुन्छ ? अनि मेरो त बीस वर्ष यो ताल भो, वर्को बीस वर्षमा त झन म गल्दै जान्छु अनि ?”

उनको पुच्छ्रे प्रश्नले म अवाक भए ।

“कहाँ जाँदै नि ? ” मैले सोधेँ । उनले भने मिले क्यानडा, अष्ट्रेलिया नमिले दुबई ।

म अवाक भए । उनी गए । साउनको झरी वर्षिरहयो । ऋतुमास नै रोइरहे झै लाग्यो ।

०००

एक जना महिला आउनुभयो । उहाँले भन्नुभयो “मेरो त उमेर गइगयो नत्र म विदेश जान्थेँ ।”

५० वर्षको हुनु भएछ उहाँ । अघि मलाई दाइ भन्ने पनि पचास वर्षको । उहाँ बाँच्नको लागि विदेश जाने भन्दै हुनुहुन्थ्यो । तर, महिला महोदय भने उमेर गइगयो भन्नु भयो ।

म छक्क परेँ र सोधेँ “पचास वर्षमा विदेश हिँड्ने पनि छँदैछन् नी हजुर, किन उमेर गइगयो भन्नुभयो ।”

उहाँले भन्नुभयो “हेर्नुस् सर मेरो त छोरी नै अधिकृत भइसकिन्, अनि मेरो उमेर गएन त ? उमेर पनि व्यवहारिक उमेर हुन्छ नि क्या !”

अनौठो कुरा उहाँले पनि सुनाउनु भयो र भन्नुभयो “सरकारी अफिसर भएकी मेरी छोरी भन्न थालेकी छ, म त विदेश जान्छु ।”

बल्लतल्ल पाएको सरकारी अफिसरले किन त्यस्तो भनेको होला भन्ने मेरो जिज्ञासा झर्न नपाउँदै उहाँले भन्नुभयो “हेर्नुस सर ! मेरो छोरी त आजकल अफिस जानै मान्दिनँ, विदेश जान्छु, जान्छु भनिरहन्छपन् ।”

म झन् आश्चर्यमा परेँ । मनमा कुरा खेलाउँदै थिएँ । सरकारी अफिसमा केही भएछ कि भनेर । यसपालि पनि मेरो प्रश्न खस्न नपाउँदै उहाँको उत्तर आयो ।

“सर छोरीले भनेको सुन्नु भयो भने तपाईँ छक्क पर्नु हुन्छ ।”

मैले के हो र त्यस्तो मैले सोध्न नपाउँदै फेरि उहाँले भन्नुभयो “उनको अधिकृत साथीहरू पनि गएछन् ।”

यसपाला भने उहाँको उत्तर झर्नु अगाडि मैले सोधेँ “मेम अनि साथी गए भन्दैमा जानु पर्दछ त ? त्यत्रो दुःख गरेर पाएको सरकारी जागिर, यहाँ त्यो जागिर खान लालायीत कति छन कति ।”

उहाँले भन्नुभयो “सर, हजुरले भनेको हुन त हो, खासमा मेरो छोरीले भन्दैथिईन, खाउ त दिनभरिको शिकार नखाउँ त कान्छाबाबुको अनुहार भैरहेको छ मामु यो जागिर ।”

“उखानले कुरा स्पष्ट भएन प्रष्ट पार्नु त मेम !” मैले भनेँ ।

उहाँले भन्नुभयो “सरकारी जागिर हस्ताक्षर गरौ अख्तियारमा वा कहिँ जाकिनु पर्ला भन्ने डर, नगरौँ कहिलेसम्म हस्ताक्षर नगरी जागिर खाने दोधारमा मेरो छोरी परिछन्, उनी भन्छिन् “जागिर खाँदा पनि कुन दिन फसिने, नखाउँ के गरी बस्ने ? मेरी छोरी साह्रै सोझी छ सर, आफू इज्जतले बाँच्न पनि ऊ विदेश जाने भएकी छे, कुन दिन जान्छे थाहा छैन ।”

मैले सम्झेँ । सचिवहरू र मुख्य सचिव नै अख्तियारले तानेपछि कर्मचारीमा भुइँचालो जानु त राम्रो हो । गलत गरेकोलाई तान्नु पर्दछ । तर, कामै गर्न नदिने, छोयोकी अख्तियारले तान्नु राम्रो हो त ? यस्तो कारणले भर्खरका युवा अधिकृतलाई त पैसा पनि थोरै जोखिम धेरै भनेर उनीहरू त भागमभाग गर्न थालेका रहेछन् । भन्ने लाग्यो ।

मैले कुरा गरिरहेको मेमलाई नसोधी मनमा कुरा खेलाइरहेको थिए । म टोलाइरहेको बेला सन्नाटा चिर्दै मेमले भन्नुभयो “अबको केही महिनापछि सायद उनी उतै हुन्छिन् होला, के गर्ने सर, साइन गरे जेलमा, नगरे के गरी जागिर खाने ? ज्वाइँले पनि लैजाने भन्नुभएको छ ।”

केही महिनाअघि चर्चित नायिकाले बच्चाको भविष्यको लागि भनेर विदेशमा बच्चा जन्माएर उताको नागरिकता लिएको सम्झेँ । चल्तीको गायिका विदेश गएको सम्झेँ । चर्चित कलाकारहरूको अनुहार झलझल आयो । के गर्ने होला ! गच्छेअनुसारको विदेश जानु नेपालीको नियति नै हो त भन्ने लाग्यो ।

एकै पल्ट विदेशले भिसा दिए देश नै खाली हुन्छ भनेर चोकमा चिया पसलमा मान्छेहरू कुरा गरिरहेको सम्झेँ । गाडीमा, बाटोमा, अफिसमा, मेनपावरमा , कन्सल्टेन्सीमा भिसा कुरेर बसेको मान्छे सम्झेँ । महाराजगञ्जको अमेरिकन दूतावासमा भिसा लिन गएको तातीले बुझाएको पैसा सम्झेँ । अरु दुतावासमा मान्छेको कुदाकुद सम्झेँ । धेरै कुरा सम्झेर दुःख लाग्यो ।

देश देश जस्तो नभएकोमा झर्को लाग्यो । दलालहरूको बिगबिगीले दुःख पाएका मान्छे सम्झेँ । सरकारी अफिस जानै मन नलाग्ने बनाएको कुराहरू सम्झेँ । घर, गाउँ, टोल, समाज, शहर देशमा काम नपाएर भौतारिरहेको युवा सम्झेँ । गर्दा गर्दै थाकेका अनुहारहरू सम्झेँ । खाली पाखा, खेतहरू सम्झेँ । कृषि गर्छु भन्ने कृषकले बिउ मल नपाएको सम्झेँ ।

समयमा समयको काम कहिँ कतै नभएको सम्झेँ । सिंहदरबारमा बसेका सिंहहरू भएको र जनता मृग भएको सम्झेँ । चराले त गुँड मेरो भनेर बस्छ । हामी देश मेरो भनेर बस्न नसकेको सम्झेँ । देश चराले छाडेको गुँडजस्तै बन्दै गएको सम्झेँ । धेरै कुरा सम्झेँ । अनि सम्झेँ विदेश गएका मान्छेहरू पनि त फर्किरहेछन् नि !

वर्षा सकिएर घाम चर्किएको थियो । वर्षा ऋतुको मज्जा नै यहि हो । वर्षा हुने र पसिना आउने घाम लाग्ने । फेरि वर्षा ऋतुले बढेको बाढी सम्झेँ । एकछिन घाम लाग्ने त हो । वर्षा ऋतुको काम नै पानी पर्ने त हो भन्ने सम्झेँ । विदेशबाट आउने मान्छे पनि वर्षा ऋतुमा एकै छिन लागेको चर्को घामजस्तै हो कि भनेर डर-डर लाग्यो ।

नभन्दै पानी दरङरङरङ पर्न थाल्यो । त्यति नै बेला एक व्यापारी मेरो कोठामाभित्र छिरे । उनले पानीले हात पुछ्दै भने “यो देशमा बाँच्न नसकिने भइयो , विदेशिनु पर्ने भयो ।”

दिनभर यस्तै कुरा सुनेर ह्याङ भएको मलाई साँझको पानीको वर्षा ऋतुको आनन्द नदिने कर्कश आवाज किन आयो ? मैले उनलाई भनेँ ।

उनले भने “हेर्नुस्, हजुर म एक सानो व्यापारी, व्यापार गर्छु, खान्छु भनेर हिँडेको, मैले सामान किन्ने गरेको होलसेलरले भ्याट छलेछ, म परेँ फन्दामा ।”

बाहिर पानीको आवाज र उनको कुरा उस्तै लाग्यो मैले भनेँ “मैले अलिक बुझिन नि हजुर !”

उनले भने “मैले दशौं वर्षदेखि सामान किनिरहेको पसलमा एक कर अधिकृत र व्यापारी मिलेर भ्याट वर्षौंदेखि छलिरहेका रहेछन् । मलाई के थाहा त्यो कुरा, अब मैले त सामान ल्याएँ पैसा तिरेँ, त्यो कर अधिकृत र हाम्रो होलसेलरको कुरा मिलेनछ , मलाई समेत तानेर भ्याट छलेकोमा मुद्दा लगायो, सुन्ने कोही भएन, नखाएको विष लाग्ने भयो, अब मैले लाखौं रूपैयाँ कहाँबाट तिर्ने ? यो कुरा सुन्ने कसले, म त यो सकिनेवित्तिकै विदेश जान्छु हजुर, यहाँ त राम्रो गर्दा बाँच्नै नदिने भए ।”

यसो गम खाएँ । आजको दिनमा यी तीन प्रतिनिधि पात्रले म बाँच्नकै लागि विदेश जाँदैछु भनेको सही हो । यस्तै अवस्था रहने हो भने म आफैँ कुनै दिन त्यहिँ पंक्तिमा उभिएर लेख्नेछु र भन्नेछु “म बाँच्नको लागि विदेश जाँदैछु ।”

ओहो ! यो त भएन । तपाईँले चिनेको मान्छे फलानो फलानो हैन, उसलाई भन्नु न । मैले भनेँ ।

उनले सबैलाई भन्न भ्याइसकेका रहेछन् । एक कप चिया खाउँ सँगै बसेर भनेर आएका थिए उनी । बाहिर पानीले माटोको सुगन्ध निकालिरहेको थियो । टेबुलको बाफले चियाको सुगन्ध निकालिरहेको थियो । उनी भने आफ्नो जीवन दुर्गन्ध हुने भयो केही छ भने गरिदिनुस् भनेर म नाथेलाई भनिरहेका थिए । मैले गर्न सक्ने केही थिएन ।

यी त भेटेका मान्छे भए नभेटेका कति हो कति ? बाँच्नको लागि विदेश गएका कति त बाकसमा फर्किरहेका छन् । खाडीको धूप र जेलमा सडेका छन् । यति देख्दा देख्दै पनि लाखौंलाख आफू र परिवार बचाउन विदेश गइरहेका छन् । जाँदैछन् ।

सम्झेँ, अनायासै अन्यायमा कति परेका होलान् । यहाँको सिस्टम र कानूनको फन्दामा नचाहिने काम कति भएको होला । सुनिन्छ/पढिन्छ- अदालत , प्रहरी, प्रशासन सबै-सबै वर्षाको पानीजस्तै नचाहिने कुरामा चुर्लुम्मै डुबिसकेका छन् रे !

सम्झेँ, दूध एक बाल्टी कागती अलिकति । खाना टन्नै हुन्छ, ढुसी अलिकति । यो यति राम्रो देशमा पनि सोझा साझा लाखौं लाख मान्छे छन् । धेरै दूधमा थोरै कागतीले गर्दा, धेरै खानामा थोरै ढुसीले गर्दा देशै खत्तम हुने भयो । पीर लाग्यो राम्रो मान्छेहरूको । बाँच्नको लागि विदेश जाने लाखौं मान्छेहरूको । उनीहरूले वर्षौं वर्ष दुःख गर्दा पनि कति मान्छे तावाको माछा भुङ्ग्रोमा परिरहेको ।

अनि सम्झेँ, बाँच्नकै लागि विदेश जाने दिन नआओस् भनेर कम्तीमा स्वास्थ्य, शिक्षा सबैको लागि बीमा गर्न त सक्छ सरकारले । यति गरिदिए पनि भ्रष्टाचार कम हुन्थ्यो र विकास बढी हुन्थ्यो र बाँच्नकै लागि विदेश जानु पर्दैनथ्यो ।

यसो गम खाएँ । आजको दिनमा यी तीन प्रतिनिधि पात्रले म बाँच्नकै लागि विदेश जाँदैछु भनेको सही हो । यस्तै अवस्था रहने हो भने म आफैँ कुनै दिन त्यहिँ पंक्तिमा उभिएर लेख्नेछु र भन्नेछु “म बाँच्नको लागि विदेश जाँदैछु ।”

मैले यत्ति भन्न र लेख्न नपरोस् । हजुरहरूले सुन्न र पढ्न नपरोस् ।

Comments

7 responses to “म बाँच्नको लागि विदेश जाँदैछु”

  1. Nabaraj Dhakal Avatar
    Nabaraj Dhakal

    समकालीन पुस्ताको विदेशीने हुटहुटी न्यून गर्न थप उत्प्रेरणा जगाउने विचारहरू पस्कनु नै हुनेछ।
    लेख यथार्थ छ,
    “नेपाल नछौडौं”, “यहाँ धेरै कुरा गर्न सकिन्छ” आदिको अभियान चलाउन प्रेरणा मिलोस्।
    हजुरले युवाहरुलाई यहिँ रोक्न चाल्नु भएका कदमहरुप्रति सबैलाई गोलवन्द गर्न हुन पनि अनुरोध गर्दछु।

  2. Bharat Badal Avatar
    Bharat Badal

    जताततै भ्रष्टाचार छ ! विदेश जानू बाध्यता हो । असल मान्छेले देश छोडे उनीहरुलाई हाइ सन्चो हुन्छ । गाह्रो छ बांच्न नेपालमा ! नलेखी उपाय नै छैन ।

  3. Anju Ghimire Avatar
    Anju Ghimire

    मेरो मनमा पनि बारम्बार बिदेश जाने सोच नआएको होइन तर घर सम्झेँ बालबच्चा सम्झेँ अनि यो देशको राजनैतिक बेथिति र कुरितीहरूलाई झेल्न बाध्य भएँ र यतै अल्झिरहेँ ।
    यो लेखले निकै भावुक भएँँ ।बास्तबिकता यहीँ हो हाम्रो अहिलेको समाजको !🙏

  4. रेजु पोखरेल Avatar
    रेजु पोखरेल

    समसामयिक बिषय मन छुने सान्दर्भिक लेख ।

  5. Devi Bhakta dhakal Avatar
    Devi Bhakta dhakal

    नेपाल र नेपालीको वास्तविकतालाई अक्षरमा अनुवाद गर्ने कला,क्षमता र प्रस्तुतिले मन छोयो।राजनीतिका ठेकेदारहरुले यसलाई पढ्नुपर्छ मात्रै हैन बुझ्नुपर्छ ,आत्मसात गर्नुपर्छ।समयमा विदेश भासिनुपर्ने वाध्यताहरुलाई चिर्नुपर्छ।राष्ट्रपतिले आफ्नो छोरालाई विदेशमा रजगज बस्ने व्यवस्था गरेका छन् ।त्यस्तो नेतृत्वले नेपालीका छोराको उत्थान गर्छन् भन्ने हाम्रो विश्वासले धोका दिएको छ।श्रीमान् विदेशी ,श्रीमती विदेशी,छोराछोरी विदेशी र भविष्यमा विदेशिने योजना भएकाहरुलाई हामीले देश सुम्पेर नै यस्तो भयावह अवस्था आएको हो।देशमा छोराछोरी नबस्नेहरुलाई देशको के माया? राष्ट्रपति,प्रधानमन्त्री ,मन्त्री ,सचिव र उच्च पदस्थहरु सबैले विेशिने पूर्वाधार बनाएका छन् ।तिनीहरुलाई यो देशको के माया।यसले लुट्ने र भुट्ने योजनालाई कसरी सफल पार्नेहरुको हातबाट सत्ता र शक्ति खोस्नुपर्छ।अब पलायन हुने पालो आम जनताको हैन यी उच्च पदमा रहने अराष्ट्रिय तत्वहरुको हो।अब विदेशिने मनहरुलाई संगठित र एकीकृत गरेर नेपालीहरुलाई विदेशिन बाध्य पार्ने यो राजनीतिक व्यवस्था र संविधानलाई नै समूल नष्ट गरेर नेपालीलाई नेपालमा नै बस्न योग्य बनाउने व्यवस्था र संविधानको व्यवस्था गर्ने राजनीतिक परिवर्तन नै एकमात्र समाधान हो ।स्वर्ग जस्तो देशलाई नर्क बनाउने राजनीतिक व्यवस्था र नेतृत्वलाई अविलम्ब फेर्ने काम गरौं ।देशबाट पलायन हुने काम युवाहरुले नगर।युवाहरुलाई पलायन हुने षड्यन्त्र गर्नेहरुलाई शक्तिबाट विस्थापित गर्ने र नेपाललाई पुनः स्वर्ग बनाउने योजनामा युवाहरु जुट नकि विदेशिने योजनामा !

  6. Aastha Kc Avatar

    मन छुने लेख। देशकाे बागडाेर सम्हालेर बसेका नेताजीहरुले याे लेख पढेर मनन् गरिदिए विदेश जानेहरुकाे लर्काे कम हुन्थ्याे कि।

  7. Prakash Upadhyaya Avatar
    Prakash Upadhyaya

    What laagdo lekh. Aafno kursi ko nimti hanthap garne r akut sampatti batulne chahna rakhne shashakharu bhayeka Desh ka janatale behornu parne Niyayati bho yo ab. Kasari sudharne ? Yo po samasya bho Mitra.

Leave a Reply

Your email address will not be published. Required fields are marked *