युरोप यात्रामा विष्णु खत्री, स्पेनमा प्रवासीहरूलाई नचाए

स्पेन । लोक गायक विष्णु खत्री अहिले युरोप यात्रामा छन् । स्पेनको कोष्टाव्लाङ्का निवासी नेपालीहरूले खाबियाको विन्दिया रेष्टुरेन्टमा आयोजना गरेको सांगीतिक कार्यक्रममा खत्रीले लोक गीतमा प्रवासीहरूलाई नचाएका हुन् ।

गायक खत्रीले मौलिक पञ्चैबाजाको गीत धवलागिरीको, भरिया दाई, दुना टपरी, घर त बागलुङ गलकोट तिर हो, सालैजो भाका लगायतका दर्जनौँ गीत गाएका थिए ।

नेपाली जन प्रगतिशील मञ्च युरोपका सदस्य केशर बहादुर थापाले गायक खत्रीका गीतहरूमा देश(परदेशका दुख सुख समेटेर जीवन्त बनेको बताए ।

‘उहाँका गीतहरू कहिल्यै पुराना हुँदैनन्, सधैँ नयाँ जस्तै लाग्छन्’, उनले भने, ‘लोक संस्कृति जगेर्ना गर्न जीवन्त गीतहरूलाई प्राथमिकता दिएर कलाकारलाई प्रोत्साहन गर्नुपर्छ ।’

नेपाली जन प्रगतिशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज कँडेलले स्पेनका नेपालीहरूले नेपाल सम्झाउने गतिविधि गर्दै आइरहेको बताए ।

‘पर्यटन प्रवर्द्धन, कलाकारको प्रोत्साहन गर्न एकजुट हुँदै आएका छौँ’, उनले भने, ‘गायक विष्णु खत्रीका गीत प्रत्यक्ष सुनेर रमाएका छौँ ।’

नेपाली जन प्रगतिशील मञ्च कोष्टाव्लाङ्काका अध्यक्ष बालकुमार बुढाले परदेशमा रहेका नेपालीले नेपाली लोक, संस्कृति जोगाउन बेलाबखत सांगीतिक कार्यक्रम गर्दै आइरहेको बताए ।

‘परदेशमा रहे पनि नेपाली भाकाहरू भुलेका छैनौँ’, उनले भने, ‘अग्रज गायक खत्रीको सांगीतिक कार्यक्रमले नेपालीहरूलाई ऊर्जा थपेको छ ।’

गायक खत्रीलाई कोष्टाव्लाङ्कामा रहेका विभिन्न नेपाली संगठनहरुले सम्मान गरेका थिए । खत्रीले यही अगष्ट १ (साउन १७)मा बार्सिलोनामा सांगीतिक प्रस्तुति दिँदैछन् ।

अगष्ट ३ मा पोर्चुगलको जम्बुजिरा, अगष्ट ५ मा बेल्जियम लुवेनमा पुग्नेछन् । पोर्चुगल, माल्टा, फिनल्यान्डका केही सांगीतिक कार्यक्रम गरिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *