गण्डकीमा कुनै पनि चलचित्र प्रदर्शन गर्न नदिने तमु धिंको चेतावनी, हलहरूलाई पठायो पत्र

काठमाडौं । पोखरास्थित गुरुङ समुदायको संस्था ‘तमु धिं नेपाल’ले चलचित्र ‘घर ज्वाइँ’मा समावेश रोधिं/रोदि दृश्य नहटाएसम्म अनिश्चितकालका लागि हल बन्द गर्न गण्डकीका हलहरूलाई चेतावनीसहितको पत्र लेखेको छ ।

संस्थाका अध्यक्ष हुम गुरुङले हलहरूलाई पत्र लेख्दै चलचित्रमा समावेश रोधिं/रोदि शब्द नहटाएसम्म वा संशोधन नगरेसम्म गण्डकी प्रदेशमा कुनै पनि फिल्म प्रदर्शन हुन नदिने चेतावनी दिएका हुन।

पत्रमा लेखिएको छ, ‘चलचित्र घर ज्वाइँले गुरुङ समुदायको रोधिं/रोदि संस्कृति माथि दृश्यांकन गरेको दृश्य विधि र विधानको विपरीत भएको तमु गुरुङ समुदायको निष्कर्ष हो। बारम्बार जानकारी गराउँदा पनि रोधिं संस्कृति माथि न्यायिक निर्णय नगरेको हुनाले सो चलचित्रमा उल्लेखित शब्द संशोधन गरी सम्बन्धित भूगोलकै शब्द नराखेसम्म गण्डकीमा कुनै पनि चलचित्र प्रदर्शन हुन नदिने निर्णय गरेको जानकारी गराउँदछौ।’

पत्रमा विवादित दृश्य हटाउन निर्मातालाई पटक-पटक सम्पर्क गरे पनि र चलचित्र जाँच पास समितिलाई समेत पत्राचार गर्दा पनि बेवास्ता गरिएको कुरा पनि उल्लेख गरिएको छ ।

‘हाम्रो रोदि संस्कृति, हाम्रो लागि महान् छ। यो हाम्रो पहिचान हो। तर चलचित्रमा हाम्रो संस्कृतिलाई छाडा तरिकाले प्रस्तुत गरिएको छ। त्यसैले उक्त दृश्यलाई संशोधन गरी सम्बन्धित भूगोलकै दृश्य राख्नुपर्छ भन्ने हाम्रो माग हो,’ तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ बताउँछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *