शिवपुरीमा हाइकिङ गर्न पुगेको टोलीलाई हतियार देखाएर लुटपाट

काठमाडौं। काठमाडौंको शिवपुर जङ्गलमा शनिवार हाइकिङ गरिरहेको टोली लुटपाटमा परेको छ।

स्रोतका अनुसार बिहान ११ बजेतिर बुढानीकलण्ठ मन्दिरबाट झन्डै २ घण्टा पैदल दुरीमा रहेको क्षेत्रमा हिँडिरहेका बेला हतियारसहित आएको समूहले आफूहरूलाई लुटपाट गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। काठमाडौं प्रहरी परिसरको टोलीले लुटेराको खोजी गरिरहेको छ।

प्रहरीमा परेको उजुरीअनुसार ५ जनाको समूह हाइकिङ गर्न शनिवार बिहान शिवपुरी जङ्गलमा छिरेका थिए। बागद्वार क्षेत्रमा पुगेपछि ५ जना अनुहारमा पट्टी लगाएको समूहले घेरेर उनीहरूसँग भएको सामान लिएका थिए।

‘सबैले अनुहारमा कालो पट्टी लगाएका थिए। उनीहरूले खुकुरी देखाउँदै हामीहरूलाई लुटपाट गरे’, पीडितले प्रहरीलाई भनेका छन्।

प्रहरीका अनुसार लुटेराले मोबाइल, घडी र पैसालगायत सामान लगेको पीडितले बताएका छन्। यसअघि झन्डै २ साताअघि काठमाडौंको चम्पादेवीमा पनि हाइकिङमा गएका दुई जनाले आफूहरू लुटपाटमा परेको भन्दै प्रहरीमा उजुरी गरेका थिए।

उनीहरूको बयान अनुसार दुई जनाले खुँडा देखाएर उनीहरूसँग भएको मोबाइल लगेका थिए।

‘तर सिमकार्ड भने निकालेर फिर्ता दिए’, उनीहरूले बयानमा भनेका छन्। प्रहरीले उक्त घटनाको पनि अनुसन्धान गरिरहेको छ। हालसम्म कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *