‘माधव कमरेडलाई भनिसकें, सर्वसम्मत नेतृत्वका लागि उपयुक्त मै हुँ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई अहिले महाधिवेशनको चटारो छ । एमालेबाट विद्रोह गरेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले असार १६ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ । यो महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ । यो महाधिवेशनबाट नेतृत्वमा माधव नेपाल आफैं दोहोरिने दाउमा छन् ।

तर, उनलाई सम्मानिन नेता झलनाथ खनालको सहयोगमा महासचिव घनश्याम भुसालले चुनौती दिँदैछन् । आज नेता खनाल निवास डल्लुमा दुई नेताबीच भएको छलफलमा मिलेर अघि बढ्ने सहमति बनेको छ ।

दुई नेता मिलेर आफूविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गर्ने देखेपछि आफ्नो नाममा सहमति जुटाउन आन्तरिक छलफलमा अध्यक्ष नेपाल लागेका छन् । खनालले भुसाललाई सघाउने सुइको पाएपछि आइतबारको भेटमा नेपालले यो विषयमा चासो राखेका थिए । तर, खनालले स्पष्ट जवाफ दिएका थिएनन् ।

त्यसो त नेतृत्वको विषयमा मात्रै होइन, नेपाल र खनालबीच पार्टीमा वैचारिक मतभेद पनि छ । नेपाल जनताको बहुदलीय जनवाद (जबज) अहिले छाड्न नहुने पक्षमा अडिग छन् भने खनाल त्यो इतिहास भइसकेकाले समाजवादी क्रान्तिको अवस्थामा पुगिसकेको तर्क गर्छन् । त्यसमा खनाललाई भुसालको समर्थन छ ।

पार्टीभित्र पुस्तान्तरणको बहस पनि नभएको होइन । ७० वर्ष उमेद हद हटाएपछि नेपाल र खनाल दुवै नेतृत्वको लागि हौसिएका थिए ।

तर, नेता खनाल नीति, कार्यक्रम र आफ्नो राजनीतिक विचार भुसालले बोकेको भन्दै समर्थन गर्न तयार भएको बताइसकेका छन् । तर, संस्थापन पक्षका नेताहरुले महासचिव भुसालले विद्रोहको बेलामा साथ छाडेर बीचमा आएर नेतृत्व खोजेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । आसन्न महाधिवेशनको तयारी र नेता खनालसँगको भेटवार्तामा केन्द्रित रहेर महासचिव घनश्याम भुसालसँग गरिएको कुराकानीः

– महाधिवेशनका लागि नेतृत्वको दौडधूप चलिरहेको बेलामा झलनाथ खनाल निवास डल्लु पुग्नुभयो । के के कुराकानी भए ?

हामीले महाधिवेशन, महाधिवेशनका चुनौती र जिम्मेवारी, भावी नेतृत्वलगायतको विषयमा छलफल गरेका हौं ।

– भावी नेतृत्वमा उहाँ (झलनाथ)ले तपाईंलाई समर्थन गर्ने सहमति भएको हो ?

समर्थन कसले कसलाई गर्ने भन्दा पनि अहिले जुन विचार निर्माण गरेर टुंगोमा पुगेका छौं, अहिले जुन कार्यक्रम अघि सारेका छौं, अहिलेको कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि विचारहरूको सान्दर्भिकता र सुरक्षा गर्ने विषयमा हामीले कुराकानी गर्‍यौं । त्यसमा समान धारणा र मत छन् । यी विचार धारणा निर्माण गर्ने विषयमा हामी सँगसँगै छौं ।

मैले यो विषय आठौं महाधिवेशनमा पनि उठाएको थिएँ । नवौं महाधिवेशनमा जाँदाखेरि जेएन कमरेड पनि यसमा सहमत भइसक्नु भएको थियो । यो कुरा नवौं महाधिवेशनमा उहाँले नै पेस गरिसक्नु भएको थियो । त्यसकारण यो विचारसँग हामी सँगसँगै आएका छौं । यस विचारको लागि हामीले थप मेहनत गर्नुपर्ने भयो भन्ने विषयमा कुरा भयो ।

– भनेपछि नेतृत्वसहित एकै ठाउँमा उभिने सहमति भयो ?

नेतृत्वबारे धेरै छलफल गरेनौं । भावी नेतृत्वले अगाडिका दिनमा पनि यी विचारहरूलाई रक्षा गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने सहमति भएको छ । त्यहीअनुसार अघि बढ्छौं ।

– यो भेटपछि अब अध्यक्षमा तपाईंले उम्मेदवारी दिने पक्का भएको हो ?

त्यो त अलग कुरा छँदैछ । मैले उहाँहरूसँग इच्छा जाहेर गरेको छु । मैले मेरो इच्छा छ, मेरो योग्यता पनि पुगेको छ । यस अर्थमा मलाई सहयोग गर्नुस् । समर्थन गर्नुस् भनेको छु दुवै नेताहरूलाई ।

– माधव नेपाल आफैं नेतृत्वमा दोहोरिने दाउमा हुनुहुन्छ । तपाईंले इच्छा व्यक्त गर्दा कस्तो प्रतिक्रिया पाउनुभयो ?

उहाँले पनि छलफल गरौं भन्नुभएको छ । यो विषयमा छलफल जारी छ ।

– तपाईंले पार्टीको अध्यक्ष महाधिवेशनबाट सर्वसम्मत घोषणा हुने सम्भावना देख्नुभएको छ ?

सर्वसम्मत नेतृत्वका लागि सबैभन्दा सजिलो र उपयुक्त मै हो भन्ने लाग्छ ।

– माधव नेपाल नै दोहोरिने दाउमा भएकाले तपाईंको सम्भावना त कमजोर देखिन्छ नि ?

सर्वसम्मत नेतृत्वका लागि आमरुपमा जनमत छ । त्यो सर्वसम्मत भनेको विचार र सिद्धान्तको आधारमा सर्वसम्मत हो । त्यस्तो लिडरसिपको कुरा हो । यी सबै कुरालाई हेर्दा दुवै सिनियर कमरेडले मलाई समर्थन गर्दा सर्वसम्मत हुने सबैभन्दा सजिलो तरिका यही बाटो हो ।
त्यसो हुँदा प्रतिनिधिहरूको पनि आम रुपमा सहमति हुनुपर्छ भन्ने सेन्टिमेन्ट छ । त्यसैले सहमति हुने सबैभन्दा सजिलो उपाय यही हो । त्यस अर्थमा म बढी विश्वस्त छु ।

– तर, तपाईंमाथि पार्टीभित्रकै नेताहरूले विद्रोहको बेलामा साथ छाडेर अहिले बीचमा आएर नेतृत्व दाबी गर्‍यो भन्ने आरोप लगाइराख्नु भएको छ नि ?

साथ छाडेको, नछाडेको चाहिँ मैले जान्दिनँ । म जहाँसुकै रहें, म एउटा बेलाको मात्रै विद्रोही होइन । म त राजनीतिमा बीसौं वर्षदेखिको विद्रोही हुँ । त्यो गर्दा एक हप्ता, एक महिनाको विद्रोहको कुरै होइन यो ।

हामी अब जबजभन्दा अगाडि बढिसकेका छौं । समाजवादी कार्यदिशामा पार्टी गइसकेको छ । जबजको मामला हाम्रो पार्टीमा समाधान भइसकेको छ ।

म जहाँ छु, विद्रोहकै कुरा गरिरहेको छु । यहाँ हुँदा होस् या नहुँदा । त्यसैले यो कुरा सामान्यतया राजनीतिक रूपले सचेत मान्छेले यस्तो कुरा गर्दैन अथवा मलाई देखिराखेको, जानिराखेको, बुझिराखेको मान्छेले यो कुरा गरेको छैन जस्तो लाग्छ ।

– पार्टीको दस्तावेज निर्माणमै पनि दुई शीर्ष नेताबीच मतभेद थियो । त्यसमा कुरा मिलिसकेको हो ?

सुरूमा थियो । अब हाम्रो समाजवादको कार्यदिशा हो कि जनताको बहुदलीय जनवादको भन्ने थियो । त्यो चाहिँ समाजवादकै कार्यदिशा हो भन्ने कुरामा पार्टीले टुंगो लगाइसकेको छ ।

– त्यो भनेको माधव नेपाल जबज छाड्न तयार हुनुभएको हो ?

यो माधव नेपालजीको मात्रै कुरा भएन । जो साथीहरू जबजको कार्यदिशा र त्यसको वरिपरि जे जति मान्यता थिए, त्यो सबै हाम्रो छलफलको दौरानमा समाधान भइसकेको छ । र, हामी अब जबजभन्दा अगाडि बढिसकेका छौं । समाजवादी कार्यदिशामा पार्टी गइसकेको छ । जबजको मामला हाम्रो पार्टीमा समाधान भइसकेको छ ।

– एमालेबाट विद्रोह गरेको औचित्य अझै नेकपा एसले पुष्टि गर्न नसकेको आरोप लाग्दै आएको छ । यो महाधिवेशनले त्यो पुष्टि गर्छ ?

विद्रोहको औचित्य पुष्टि हुन चाहिँ यसले गरेको संकल्प पूरा हुने हो । यसमा हामी प्रयत्नशील छौं । त्यो प्रयत्नमा हामी विद्रोहको औचित्य पुष्टि गर्ने दिशामा यो महाधिवेशनले आफ्नो कार्यक्रम र नेतृत्वमा तय गर्‍यो भने विद्रोहको औचित्य पुष्टि गर्छ ।

याे पनि पढ्नुस् : नेकपा एसको अध्यक्षमा घनश्याम भुसाललाई सघाउन झलनाथ खनाल तयार

Comments

One response to “‘माधव कमरेडलाई भनिसकें, सर्वसम्मत नेतृत्वका लागि उपयुक्त मै हुँ’”

  1. ksp pyl Avatar
    ksp pyl

    माधवजस्तो पदको भोकोले अरूलाई छोडछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *