मकवानपुरकाे बागमतीको गाउँसभामा लफडा, उपाध्यक्षसहित वडाध्यक्षहरुले गरे बहिस्कार

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा गाउँसभाको क्रममा लफडा भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र आठौं गाउँसभामा अध्यक्ष सर्केश घलानले एकलौटी गरेको भन्दै नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले बहिस्कार गरेका हुन् ।

गाउँपालिका उपाध्यक्षसमेत रहेका नेपाली कांग्रेस नेता फणिन्द्र तिमल्सिना, वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर डिमडु∙, वडा नम्बर ७ का अध्यक्ष उत्तरबहादुर भोलन, वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना (केशव), वडा नम्बर ९ का अध्यक्ष पूर्णराम घलान र कार्यपालिका सदस्य डम्बरबहादुर विकले गाउँसभा बहिस्कार गरेका छन् ।

उनीहरुले टाउकोमा कालोपट्टी बाँधेर गाउँपालिका कार्यालय अगाडि नाराबाजी गर्दै गाउँसभा बहिस्कार गरेका हुन् । दोस्रो पटक गाउँपालिका अध्यक्षमा विजयी नेकपा माओवादीका नेता घलानले एकलौटी रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याउन खोजेपछि कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले विरोध गरेका छन् ।

उनीहरुले प्रत्येक वडामा सिलिङ बजेटको व्यवस्थापन गर्नुपर्ने, उपाध्यक्ष र वडाध्यक्षको हक अधिकारमा हस्तक्षेप गर्न नहुने, गाउँपालिकाले करार कर्मचारी नियुक्ति गर्दा प्रदेश र संघको बजेट प्रयोग गर्न नपाउने, यदि करार कर्मचारी नियुक्ति गरेमा आन्तरिक स्रोतबाट तलबभत्ता दिनेगरी नियुक्त गर्नुपर्ने, क्रसर उद्योगको नाउँमा विनियोजन गर्दै आएको बजेट आउँदो आर्थिक वर्षबाट विनियोजन गर्न नहुने माग राखेका छन् ।

उपाध्यक्षसहितका अन्य जनप्रतिनिधिहरुले गाउँसभा बहिस्कार गरे पनि गाउँपालिका अध्यक्ष घलानले पेलेरै भए पनि गाउँसभा गरेको वडाध्यक्षहरुको आरोप छ ।

ठूलो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रको अभ्यासलाई गाउँपालिका अध्यक्ष घलानले धावा बोलेको वडाध्यक्ष तिमल्सिनाको भनाइ छ । घलानको पहिलो कार्यकालमा पनि गाउँ अधिवेशन विवादमा पर्ने गरेको थियो ।

यसअघिको कार्यकालमा एमालेबाट निर्वाचित उपाध्यक्ष धनमाया स्याङ्तानसहितका जनप्रतिनिधिहरुले पटक पटक गाउँसभा बहिस्कार गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *