काठमाडाैं । मिडियाको बढोत्तरीसँगै आजकाल राष्ट्रिय टेलिभिजनदेखि युट्यूबसम्म थरिथरिका अन्तरवार्ताहरु आइरहेका हुन्छन् । नेतादेखि सेलिब्रिटीलाई बोलाएर विभिन्न गेमहरु खेलाउने र भ्यूज बटुल्ने होडबाजी नै छ । यो मेसोमा केहीले सञ्चारमाध्यमको सीमा बिर्सिएर अमर्यादित शैलीहरु अपनाइरहेको पनि पाइन्छ ।
कान्तिपुर टिभीमा प्रशारण हुने एउटा चर्चित कार्यक्रम हो, इट्स माइ शो । यो कार्यक्रम लामो समय सुरजसिंह ठकुरीले चलाएका थिए । तर, अहिले उनलाई ओसिन सिटौलाले रिप्लेस गरेकी छन् । ओसिनले चलाएको पहिलो शो हिजो मात्रै अन एयर भएको थियो, जसमा गेस्टको रुपमा नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह छन् । सुरजले ठिकठाकरुपमा चलाइरहेको एउटा ए ग्रेडको शोलाई ओसिनले छोटो समयमै सी ग्रेडमा झार्न सक्ने अनुमान उनको पहिलो एपिसोडबाट गर्न सकिन्छ ।
करिब एक घण्टा लामो अन्तरवार्ता हेरिरहँदा तपाईंलाई यस्तो महसुस हुन्छ कि मानौं यो नेपालको होइन, हलिउडको कार्यक्रम हो । कार्यक्रममा ९० प्रतिशत जति संवाद अंग्रेजीमा गरिएको छ । होस्टले अंग्रेजी फलाकेपछि नायिकाहरु पछि पर्ने कुरा आएन । अझ, साम्राज्ञी बोलेको सुन्दा त लाग्छ, उनलाई राम्रोसँग नेपाली बोल्नै आउँदैन ।
खैर, यहाँ चर्चा गर्न लागिएको प्रसंग चाहिँ अर्को हो । कार्यक्रममा ओसिनले गेस्टहरुलाई एउटा यस्तो गेम खेलाएकी छन्, जुन एकदमै अपाच्य छ, खासगरि महिला कलाकारका हकमा । एकजना युट्यूबरले कलाकारहरुलाई बोलाएर अन्टसन्ट प्रश्न सोध्ने र जवाफ नदिएको खण्डमा रक्सी घुट्क्याउन लगाउने गरेको देख्नुभएको होला । ओसिनले त त्योभन्दा पनि निकै अगाडि बढेर नायिकाहरुलाई सोझै नांगिन भन्छिन् ।
‘यो र्यापिड फायर सेग्मेन्ट हो । तपाईंले कि प्रश्नको जवाफ दिनुपर्छ, कि यु हेभ टु स्ट्रिप (तपाईं नांगिनु पर्छ ।)’ ओसिनको यो शर्तले स्वस्तिमा नर्भस हुन्छिन् । आफूले धेरै लुगा नलगाएको हुँदा फुकाल्न कठिन हुने उनले बताइन् ।
त्यसपछि ओसिनले सुझाव दिइन्, ‘तपाईंले लुगाको कुनै पार्ट खोल्न सक्नु हुन्छ । नत्र तुना खोल्दा पनि हुन्छ ।’ तुना खोल्ने कुराले साम्राज्ञी जोडजोडले हाँस्न थाल्छिन् ।
ओसिन फेरि थप्छिन्, ‘मैले ‘त्यो’ तुनाको कुरा गरेको होइन, लुगाको तुना भनेको । (हाँस्दै) त्यो तुनाको विषयमा मैले नसोचेको धेरै भयो । इट हेभ विन लङ टाइम ।’
त्यसपछि आफ्नो गेमलाई अझै प्रष्ट्याउँदै उनी भन्छिन्, ‘तपाईंले आन्सर गर्न सक्नु भएन भने चाहिँ आफ्नो जिउमा भएको कुनै वस्त्र…’ आसिनलाई रोक्दै स्वस्तिमा (लुगा देखाएर) : ‘कुनै…? एउटै त लगाको छु ।’
साम्राज्ञीः ‘हो त, मेरो पनि एउटै छ ।’
(दुवै नायिकाले खासै लुगा लगाएर आएका पनि थिएनन् । साम्राज्ञीले छाति ह्वाङ्गै खुलेको वान पिस गाउन लगाएकी थिइन् । उनको पहिरन हेर्दा लाग्थ्यो राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिन आएकी होइन्, प्रेमीसँग रोमान्टिक डेट हिँडेकी हुन् । स्वस्तिमाको पनि वान पिस थियो, तर साम्राज्ञीको जति ओपन थिएन ।)
आसिन उनीहरुलाई लोभ्याउन खोज्छिन्, ‘यो एउटा कम्पिटिसन हो । हामीसँग गिफ्ट ह्याम्पर पनि छ । गिफ्ट ह्याम्पर चाहिँ म सेट पछाडि दिन्छु । अगाडि दिन मिल्दैन ।’ त्यसपछि दुवै नायिका गेमका लागि तयार हुन्छन् ।
ओसिनले स्वस्तिमाबाट सुरु गर्छिन् ।
‘यो र्यापिड फायर भएकाले प्लीज मेक इट फास्ट । स्वस्तिमा प्लिज ‘विवाहित’ जस्तो नबन । आर यू रेडी ?’
ओसिनको पहिलो प्रश्नः सेक्स कि खाना ?
एकछिन अल्मलिएपछि स्वस्तिमाले सोचेभन्दा कडा जवाफ दिइन् : खाना खाइरहेको बेला सेक्स ।
साम्राज्ञी थप्छिन्ः ओ आइ लभ द्याट (मलाई त्यो एकदम मन पर्छ)
ओसिन (हाँस्दै)– ह्वाट ? ह्वाट आर यु टकिङ अबाउट ? (के ? तिमी के भन्दैछौ ?)
साम्राज्ञी : यु क्यान (सकिन्छ)
पहिलो प्रश्नमा स्वस्तिमा लुगा फुकाल्नबाट जोगिन्छिन् ।
ओसिनको अर्को प्रश्नः अविवाहित भएको भए कोसित रोमान्टिक डेट जान चाहन्छौ ?
स्वस्तिमा भन्छिन्ः अर्पण दाइ । रोमान्टिक चाहिँ हुँदैन होला ।
ओसिनः एउटा निर्देशकको नाम भन जसको अनुहारमा झापड लगाउन मन छ ।
यो प्रश्न स्वस्तिमा हडबडाउँछिन् । उत्तर दिन नसक्ने बताउँछिन् ।
ओसिन ठाडै भन्छिन्ः त्यसो भए लुगा फुकाल ।
बाध्य भएर स्वस्तिमा निर्देशक हेमराज बिसीको नाम लिन्छिन् ।
‘नेपाल छोडेर अमेरिका जानुभएको छ, त्यसैले..’ स्वस्तिमाले जोगिनलाई भन्छिन् ।
ओसिन सोध्छिन्- एकजना अभिनेता जो एकदमै गन्हाउँछ ?
प्रश्नको जवाफ दिन नसकेर स्वस्तिमाले लुगाको साटो आफ्नो औंलाको औंठी फुकाल्छिन् ।
अर्को प्रश्न सोधिन्छः तपाईं यी मानिसहरुको बेडरुममा कसलाई भेट्नुहोला ? पहिलो– साम्राज्ञीको बेडरुममा ।
स्वस्तिमाको जवाफः उनको आमा
अनमोल केसी ?
स्वस्तिमा हाँस्दै भन्छिन्ः एकजना दिमागमा आयो तर नाम लिन सक्दिनँ ।
त्यसपछि अनमोलको कुकुर कोको भनेर फुत्किन सफल हुन्छिन् ।
दयाहाङ राई ?
उहाँको पत्नी । रेनुका भाउजु ।
पुजा शर्मा ?
उहाँको व्वाइफ्रेन्ड अहिलेको । नाम चाहिँ बिर्सिएँ ।
तीनैजना एकछिन छिल्लिएको हाँसो हाँस्छन् । यस्तो लाग्छ कि यो कुनै राष्ट्रिय टेलिभिजनको कार्यक्रम नभएर कामुक महिलाहरुको रत्यौली हो ।
सबैभन्दा आपत्तिजनक चाहिँ अर्को सेग्मेन्टमा छ, जहाँ उक्त शोमा सहभागी नै नभएकी एक नायिकाको चरित्रहत्या हुने गरी निजी जीवनबारे टिप्पणी गरिएको छ ।
दुई हिरोको नाम लिएर स्वस्तिमालाई सोधिन्छः पहिला योसँग र अहिले योसँग अफेयरमा भएको हिरोइन को हो ?
स्वस्तिमाले पनि बिना सोचविचार एक नायिकाको नाम लिन्छिन् । तीनैजना फेरि छिल्लिएर हाँस्छन् । साम्राज्ञी अर्को हिरोको नाम लिएर भन्छिन्– बीचमा यो पनि थियो थियो ।

Leave a Reply