‘खुइली’, ‘धादिङ भाले’ सहित १० कलाकारलाई दोहोरी प्रतिष्ठानले सोध्यो स्पष्टीकरण

काठमाडौं । दोहोरी गीतलाई असभ्य बनाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले १० जना कलाकारलाई एकै पटक स्पष्टीकरण सोधेको छ । प्रतिष्ठानले यसअघि हास्य कलाकार रहेकी र पछिल्लो समय आफ्नै युट्यूमा दोहोरी सञ्चालन गरिरहेकी नविना सिलवाल ‘खुईली’ सहित १० स्पष्टीकरण सोधेको हो ।

खुइलीसँगै रिया खड्का, नवराज काप्री ‘धादिङ भाले’, सलिना नेपाली, शर्मिला रायमाझी, सीताराम परियार, तारा थापा, शंकर सुनार, सागर बिसी, सुशीला लामालाई स्पष्टीकरण सोधेको हो । प्रतिष्ठानले लोकदोहोरी गीतको नाममा प्रकाशित श्रव्यदृश्यले समाज, संसकृति र समग्र लोक संगीत क्षेत्रलाई पारेको नकारात्मक प्रभावप्रति सचेत गराउँदै उक्त श्रव्यदृश्य युट्यूवलगायत सामाजिक सञ्जालबाट हटाई आगामी दिनमा त्यस प्रकारका गतिविधि नगर्न नगराउने सचेत पनि गराएको अध्यक्ष रिता थापामगर र महासचिव शिव हमालले विज्ञप्तीमार्फत् जानकारी गराएका छन् । नेपाली मौलिक लोक तथा दोहोरीगीतको सम्मान गर्दै आगामी दिनमा यस प्रकारका कार्य नगर्ने र नगराउने सात दिनभित्र लिखित प्रतिवद्धता समेत माग गरिएकाे छ ।

आफुलाई स्पष्टीकरण सोधेकोमा गायिका रिया खड्काले सामाजिक सञ्जाल फेसबुकबाटै प्रतिष्ठानलाई खुला पत्रमार्फत स्पष्टीकरण पेश गरेकी छन् । उनले दोहोरी गाउने कलाकारलाई अनुशासन सिकाउदै स्पष्टीकरण मागेकोमा त्यसको स्वागत गर्दै यो स्वागतयोग्य काम गर्नु भन्दा पहिले प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरलाई संस्थाकै उपाध्यक्ष खुमन अधिकारी, महासचिव शिव हमाल, प्रकाश सपुत, प्रिती आले, पुर्णकला बिसी, बद्री पंगेनी लगायतलाई कारवाही गर्न चुनौती दिएकी छन् । उनले लेखेकी छन्, ‘यस्ता गीत गाउने कलाकार तपाईंको सस्थाको विभिन्न पदमा रहेका छन, तुरुन्तै तीन दिन भित्र कारबाही गर्नुस । यति धेरै गनाउदाँ पनि नजिकैको गन्ध थाहा नपाउने तपाईंको कार्यसमितिले झन टाढाको गन्ध नसुगेकै राम्रो । अनि पहिला आफ्नै घरको कसिङ्गर बडार्नुस अनि हामी आफ्नो घरको कसिङ्गर आफै बडार्छौ । आन्तरिक राजस्व बिभागले राजस्व तिर्न आईज भने जसरी पत्र पनि नकाट्दा राम्रो । अनि हामी आफै सचिन्छौ हैन भने हामिलाई केको स्पस्टिकरण सात दिनको लाज छोपेर अरुलाई चिट्ठी काट्नु यो कतिको जायज काम हो ।’ उनले प्रतिष्ठानको पत्र सामाजिक सञ्जालबाटै आफुले प्राप्त गरेको भन्दै त्यसको जवाफ पनि सामाजिक सञ्जालबाटै पठाएको भन्दै कुनै कमी कमजोरी भएमा माफी पनि मागेकी छन् ।

यस्तै गायिका ज्योती मगरले पनि १० जना कलाकारलाई प्रतिष्ठानले स्पष्टीकरण सोधेकोमा आक्रोश व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत लोक दोहोरी गीत कसैको बाउको बिर्ता नभएको भन्दै प्रतिष्ठानले जसरी गीत गाउँन भन्छ त्यसरी गाउनुपर्ने भन्दै विभिन्न ६ वटा प्रश्न गरेकी छन् । उनले लेखेकी छन्, ‘गायिका मगरले नानी बाबूका प्रस्तुतिकरण खराब कि तम्रा हेर्ने दृस्ठिकोण खराब ? यो कुरालाई गम्भीर मनन गर्न अग्रज अनुज दुबैलाई मेरो ब्यक्तिगत फ्रीको सल्लाह, हुल बाधेर सस्थाको नाममा ब्यक्तिगत असन्तुष्टिको भडास ननिकालुम गर्नेलाई गरिखान दिम, सस्कृती बचाइउनु तम्रो बसको कुरा होइन, पैसा भाका गैर कलाकारलाई आजिबन सदस्यको बिल्ला र अमेरिका युरोप अस्ट्रेलियामा गैर कलाकारलाई प्रतिष्ठानको कलाकार भन्दै चिठी बाडेको र प्रतिष्ठानको बिरुद्दमा आवाज उठाउन सम्भावित ब्यक्तीलाई मनोनीतको सदस्यता बाडे जस्तो सजिलो होइन नि स्वतन्त्र कलाकारलाई स्पष्टीकरण माग्दै चिठी बाड्न । लौ तलबाट औकात अनुसारको कमेन्ट गरुम ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *