राष्ट्र र जनताको हितविपरीत हुने विदेशी सहायता नल्याऔं: सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार प्रविधि तथा सूचनामन्त्री रेखा शर्माले राष्ट्र र जनताको हित विपरीत हुने विदेशी सहायता नल्याउन आग्रह गरेकी छन् ।

काठमाडौंमा शनिबार आयोजित सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेलामा बोल्दै उनले राष्ट्र र जनताको हितमा हुने गरीमात्रै वैदेशिक सहायता भित्र्याउन सामाजिक संघसंस्थालाई सचेत गराएकी हुन् ।

मन्त्री शर्माले सरकारले मुलुकको समृद्धिका लागि कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको बताइन् ।

उनले उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी गरिन् । उत्पादन वृद्धि हुनेगरी सहायता रकम परिचालन गर्न पनि सामाजिक संघसंस्थालाई मन्त्री शर्माले निर्देशन दिइन् ।

‘सरकार वैदेशिक अनुदान र ऋणमा चलिराखेको छ । सरकारको निकाय हो, समाज कल्याण परिषद् । त्यसले विभिन्न खालको आईएनजीओबाट पैसा लिइरहेको छ भने हामीले हाम्रो राष्ट्र र जनताको हितविपरीत हुने गरेर ऋण लिनुहुँदैन । त्यो शर्त हामीले मान्नु हुँदैन । हाम्रो देश र जनताको पक्षमा भएको यदि कुनै पनि समाजवादी राष्ट्र, सामाजिक संघसंस्थाहरुले फण्डिङ गर्छन् भने त्यसलाई अछुतको व्यवहार पनि गर्नुहुँदैन’, उनले भनिन्, ‘अहिले समृद्धिको योजनामा हामीले के भनेका छौ भने सबभन्दा हाम्रो बेस कृषि हो । कृषि उत्पादन बढाउने गरी बजेट परिचालन गर्न सक्नुपर्छ । कृषिका कार्यक्रम कसरी चलाउने ? हामीले बढी उत्पादनमा ध्यान दिनुपर्छ ।’

मन्त्री शर्माले समाज कल्याण परिषद्ले राष्ट्र र जनताको हित प्रतिकूल हुने खालका कुनै पनि सहायता लिन नहुने स्पष्ट पारिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *