काठमाडौं । मनसुन सुरूदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा कमाण्ड पोष्ट स्थापना गरिएको छ । गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भिष्मकुमार भुसालको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट स्थापना भएको हो । जेठ १७ गते गृहमन्त्रालयले उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णयको आधारमा निर्णय गरिएको मध्यनजर गर्दै यस्तो निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव डिजन भट्टराईले जानकारी दिए ।
कमाण्ड पोष्टको सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सहसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव, जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, खानी तथा भूगर्भ विभागका महानिर्देशक सदस्य रहनेछन । यस्तै नेपाली सेनाको विपद् व्यवस्थापन हेर्ने सहायक रथी, नेपाल प्रहरी विपद व्यवस्थापन हेर्ने प्रहरी नायव महानिरीक्षक (डीआईजीपी), सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन हेर्ने सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजीपी), राष्ट्रिय अनुसन्धान विभागका विपद् व्यवस्थापन हेर्ने अनुसन्धान अधिकृत सदस्य रहनेछन् भने गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखा प्रमुख उपसचिव रमा आचार्य सदस्य सचिव छन् ।
मनसून पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड सेन्टरका कार्यमा हप्तादिन, तीन दिन र एकदिन अगाडिको मौसम पूर्वानुमानको जानकारी लिई जोखिमको आँकलन गरी प्रभावका आधारमा पूर्वतयारी र प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गर्ने रहेको छ भने सञ्चारका विभिन्न माध्यमबाट विभिन्न भाषामा सम्भावित जोखिमबारे तत्कालै सूचना प्रवाह गर्ने रहेको छ ।
यस्तै देशभरिका विपद्का घटनाको नियमित रुपमा जानकारी लिने र प्रतिकार्यका लागि तत्कालै सम्बन्धित निकायका सम्वद्ध पदाधिकारीलाई जानकारी गराइ प्रतिकार्यको कार्य गर्ने, गराउने उपप्रधान एवम् गृह मन्त्री, गृह सचिव, प्राधिकरणका कार्यकारी प्रमुख तथा अन्य सम्बद्ध पदाधिकारीलाई घटनाको जानकारी गराउने र आवश्यकता अनुसार निर्देशन लिई प्रतिकार्य गर्ने रहेको छ ।
यस्तै आवश्यकता अनुसार प्रतिकार्यका लागि अन्तर मन्त्रालय तथा सम्वद्ध निकायसँग समन्वय गर्ने, विपद् सम्बद्ध जनताका गुनासालाई एकै स्थानबाट सम्बोधन गर्ने गरी अन स्टेप सेन्टरका रुपमा केन्द्रमा कार्य गर्ने, देशभरिका विभिन्न गोदाममा रहेका खोज तथा उद्दारका सामाग्रीको विवरणलाई तत्कालै अद्यावधिक गरी विपद् पोर्टलको गोदाम इन्भन्टरीमा प्रविष्टि गर्ने गराउने रहेको छ ।
प्राधिकरणका अनुसार मनसुनको सुरुआत भएको घोषणा भएपछि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड सेन्टरको नियमित बैठक बस्नुपर्ने, कार्यालय समय भन्दा बाहेकको समयमा बैठक बस्दा पदाधिकारी तथा आमन्त्रित सदस्यलाई अर्थ मन्त्रालयबाट स्वीकृत निर्देशिका र मापदण्ड बमोजिम बैठक भत्ता र खाजा तथा सम्बन्धित मन्त्रालय, प्रदेश आपतकालीन सञ्चालन केन्द्र, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र र स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रसँग सम्पर्क र समन्वय गर्ने प्रयोजनका लागि सञ्चार खर्च उपलब्ध गराइने रहेको छ ।
यस्तै अत्यावश्यक स्थानमा तत्काल पुर्याउन सकिने गरी एउटा प्रदेशमा कम्तिमा पाँच वटाका दरले हुने गरी सात वटा प्रदेशमा ३५ वटा बेलीब्रिज राख्ने गरी प्रबन्ध भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने, प्रत्येक प्रदेशमा न्यूनतम एृक हजार थान (कोशी प्रदेशमा २५०० थान तार जालीको प्रबन्ध गर्ने प्रत्येक प्रदेशमा २५,००० थान (कोशी प्रदेशमा ५०,००० थान) का दरले स्यान्ड ब्याग र प्रत्येक प्रदेशमा दुई हजारका दरले पोर्टेबल सोलार र बत्तीको प्रबन्ध उर्जा, सिंचाइ तथा जलश्रोत मन्त्रालयले गर्ने रहेको छ । प्राधिकरणका अनुसार भण्डारण केन्द्रबाट जिल्लासम्म राहत सामाग्री पुऱ्याउन लागि प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्रलाई अनुरोध गर्ने पनि रहेको छ ।
गत बैशाख ४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औँ बैठकले प्राधिकरणका सहसचिव बसन्त अधिकारीको संयोजकत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ तर्जुमा गर्न गठन भएको कार्यदलले निर्माण गरी पेश गरेको मनसुन पूर्वतयारी ता प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ लाई आवश्यक संशोधनसहित स्वीकृत गरेको थियो ।
यस्तै सबै मन्त्रालय, विभाग तथा अन्य सम्वद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने र प्रदेश सरकार तथा स्थानीय तहलाई आफ्नो भूमिका अनुसार कार्य गर्न अनुरोध गर्ने निर्णय पनि गरेको पत्रकार सम्मेलनमा जनाएको हो ।

Leave a Reply