आर्मीका होमलाल र खोटाङकी निर्मलाले जिते अन्नपूर्ण म्याराथनको उपाधि

पोखरा । चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठ र खोटाङका निर्मला राईले जितेका छन् ।

सोमबार भएको म्याराथनमा निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घन्टा १६ मिनेट २६ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ श्रेष्ठ र महिलातर्फ ५ घण्टा ३७ मिनेट ४७ सेकेण्डमा पुरा गर्दै महिलातर्फ राईले उपाधि जितेका हुन् । उपाधि जितेसँगै श्रेष्ठ र राईले नगद १ लाख ५० हजार रुपैयाँ हात पारे ।

पुरुषतर्फ ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पुरा गर्दै सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो र ४ घण्टा ४३ मिनेट ६ सेकेण्डमा पुरा गर्दै गत बर्षका बिजेता जुम्लाका धिरबहादुर बुढा तेस्रो भए । महिलातर्फ ५ घण्टा ४५ मिनेट ३१ सेकेण्डमा दौड पुरा गर्दै नेपाल आर्मीकी सुनसरी रोकायले दोस्रो र ओखलढुङ्गाकी छोकी शर्पाले ५ घण्टा ५६ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरे ।

दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो । पुरुषतर्फ ३ विदेशीसहित ४९ जना र महिलातर्फ १ विदेशी सहित ११ जना सहभागी थिए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरुलाई म्याराथनका समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री डाक्टर टकराज गुरूङ, मूल आयोजक समितिका संयोजक एवं समितिका अध्यक्ष ललित गुरूङ लगाएतका विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ । सोही दिनको सम्झनामा २०७५ सालदेखि अन्नपूर्ण म्याराथन आयोजना हुँदै आइरहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *