भोजपुरका कवि शिव पराजुलीको ‘कविता कोकिल’ पूर्वराष्ट्रपति भण्डारीबाट लोकार्पण

काठमाडौं । भोजपुरका पुराना कवि शिवकुमार शर्मा पराजुलीको काव्यकृति ‘कविता कोकिल’ लोकार्पण गरिएको छ । नेपाल पर्यटन बोर्डको हलमा आयोजित एक विशेष समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कृति लोकार्पण गरिन् ।

पराजुलीले २०४० सालमा थमाएका पाण्डुलिपीलाई उनका चेलाहरूले ४१ वर्षपछि गुरु दक्षिणास्वरूप ती कृतिको संग्रहलाई पुस्तकको आकार दिएका हुन् । भोजपुर सदरमुकामनजिकको पोखरेस्थित सरस्वती आधारभूत विद्यालयका तत्कालीन शिक्षकसमेत रहेका कवि पराजुलीले पछि सम्भव भए प्रकाशित गरिदिनु भनेर आफ्नो हातमा हस्तलिखित कविताको पोका थमाइदिएको प्राज्ञ डा. विप्लव ढकालले बताए ।

भोजपुर नगरपालिका सेवा समाजको सहकार्यमा नेपाल वाङ्मय फाउन्डेसनले उक्त काव्य लोकार्पण गरेको हो । ‘कविता कोकिल’ को सन्दर्भमा डा. विप्लव ढकालले सम्पादकीय मन्तव्य, प्राडा गोविन्दमानसिंह कार्कीले समीक्षात्मक, साथै पूर्वअर्थमन्त्री एवं साहित्यकार शंकरप्रसाद कोइरालाले शुभकामना मन्तव्य राखेका थिए ।

भोजपुर जिल्ला आफ्नो पनि जन्मस्थान भएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले भोजपुरसँग आफ्ना कतिपय संस्मरण गाँसिएको उल्लेख गरिन् । भोजपुरको सर्वाङ्गिण विकासमा हातेमालोका लागि उनले सबैमा अनुरोधसमेत गरिन् ।

कार्यक्रममा भोजपुरको माटोमा जन्मिएका पूर्वमन्त्रीहरु टंक ढकाल, कृपाशुर शेर्पा, उमेश श्रेष्ठ, शेरधन राई, सांसदहरू हेमराज राई, सुदन किराती, जयन्ती राई, प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत विभिन्न क्षेत्रमा नाम कमाएका भोजपुरेहरूको उल्लेख्य जमघट थियो ।

भोजपुर नगरपालिका सेवा समाजका संयोजक राजकुमार कार्कीले गुरुको इच्छा पूरा गर्न आफूहरूले गरेको प्रयासलाई सबैले उत्साहका साथ सहयोग गरेको भन्दै पुस्तक प्रकाशन र बिक्रीको क्रममा उठेको रकम पोखरे स्कुललाई अक्षय कोष खडा गरिएको जानकारी गराए ।

कार्यक्रमको थप फोटो तथा भिडिओ हेर्नुहोस्-

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *