सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदाकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने भएका छन् । बिहीबार (जेठ १७ गते) देखि विराटनगरबाट सुरू भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटनमा श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध योगदाकर्ताका सन्ततिलाई पनि उपचार सुविधा पाउने औपचारिक घोषणा गरेका छन् ।

यसअघि २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले आजदेखि लागू हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन भएको हो ।

यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रूपैयाँसम्मको औषधि उपचार सुविधा पाउने भएका छन् ।

कोषले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई नै उपचार सुविधामा समेट्ने गरी तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र आज बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशक उत्तमराज नेपालले जानकारी दिए ।

त्यस्तै, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समायावधिलाई नौ महिनाबाट घटाएर तीन महिनामा झारेको छ । यसअघि कोषमा योगदान गर्न थालेको ९ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्था रहेकोमा अबदेखि तीन महिनाको नियमित योगदानपछि नै योग्य हुने गरी कार्यविधि संशोधन गरिएको निर्देशक नेपालले जानकारी दिए ।

‘उपचार सुविधा पाउन योग्य हुने अवधि घटेको र परिवारमा समेत सुविधा विस्तार भएकाले नियमित योगदानका लागि थप अभिप्रेरित हुने विश्वास लिइएको छ,’ उनले भने ।

Comments

One response to “सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने”

  1. dila ram pandey Avatar
    dila ram pandey

    मानौ म आदद्द छु अब मेरो परिवारले कुन अबस्थामा उपचार खर्च पाउने यस्को लागि मैले के गर्नु पर्ने खुलेर बताउनु भएको भा राम्रो हुने थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *