उपप्रधानमन्त्री महासेठलाई उपहार भन्दै बालेनले पठाए एक ट्रक धूलो, कार्यालय अगाडि खन्याइयो (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् ।

विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धूलो उपहार पठाएका हुन् ।

उनले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने बताएका छन् ।

उनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा राखेका छन् ।

त्यसबारे उनले लेखेका छन्

माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू !

तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको छ ।

काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धूलोको हात छ, जसले गर्दा महानगरवासीले धूलोधूवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ ।

यो धूलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने छु, माया सम्झेर स्वीकार्नुहोला ।

Comments

One response to “उपप्रधानमन्त्री महासेठलाई उपहार भन्दै बालेनले पठाए एक ट्रक धूलो, कार्यालय अगाडि खन्याइयो (भिडिओ)”

  1. बिनोद तिमिल्सिना,धरान १६ Avatar
    बिनोद तिमिल्सिना,धरान १६

    गजब,
    मलाई यस्तो अराजकता खुब मनपर्छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *