विदेशमा नेपाली व्यवसायको प्रवर्द्धन गर्नु पनि राष्ट्रकै लागि हो: राजदूत क्षेत्री

आबुधावी । संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाली व्यवसाय विदेशमा समेत प्रवर्द्धन गर्न सके राष्ट्रकै लागि फाइदा हुने बताएका छन् ।

आबुधावीमा रहेको ब्लिजिङ स्टार ग्रुप अफ कम्पनीअन्तर्गत नेपाली रेष्टुरेन्ट ‘बीबीटी’को उद्घाटन गर्दै राजदूत क्षेत्रीले विदेशमा नेपाली व्यवसाय गर्दा नेपाली खाना, नेपाली खाद्य सामग्री तथा नेपाली चिजबिजको बजारीकरणसँगै रोजगारी तथा कमाएको पैसा नेपाल पठाउने भएकाले देशका लागि चौतर्फी फाइदा हुने बताए ।

यूएईमा नेपालीको संख्याअनुरुप उल्लेख्य नेपाली व्यवसाय नभएको अवस्थामा क्रमिक रुपमा व्यवसाय बढ्नु सुखद पक्ष भएको उनको भनाइ छ ।

‘रोजगारी गर्न आएका युवाले काम गरेर कमाएको पैसा व्यापार व्यवसायमा लगानी गर्नु उदाहरणीय कार्य हो’, राजदूत क्षेत्रीले भने ।

यूएईको आफ्नो कार्यकालमा राजदूत क्षेत्री पहिलो पटक यसरी नेपालीको व्यवसाय उद्घाटनमा सहभागी भएका हुन् ।

वैदेशिक रोजगारीका लागि १० वर्ष पहिले सेक्युरिटी गार्डको रुपमा यूएई आएका रामेछापको सुनारपानीका केशव कार्कीले आबुधावीमा रियल स्टेट, हार्डवेयर, रेस्टुरेन्ट तथा सरसफाइसम्बन्धी काम गर्नेलगायत कम्पनी सञ्चालन गर्दै आएका छन् ।

कार्कीले दूतावासमा सेल्टर नहुँदा वा आबुधावीमा समस्यामा परेका नेपालीलाई दूतावासको सिफारिसमा गाँसबासको समेत सहयोग गर्दै आएका छन् ।

रेष्टुरेन्टको उद्घाटन कार्यक्रममा राजदूत क्षेत्रीसँगै दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी भुपेन्द्र घिमिरे, श्रम सहचारी अविद अन्सारी, एनआरएन यूएईका उपाध्यक्ष फडिन्द्र ढकाल, विभिन्न बैंकिङ संघसस्थाका प्रतिनिधि तथा स्थानीय इमाराती परिवारको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *