‘जन्म’ र ‘आमा’सम्बन्धी मोदीको मन्तव्य भाइरल: विपक्षीले बनाए चुनावी मुद्दा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक युट्युबर ध्रुव राठीले शुक्रबार साँझ एक ट्विट गरे । अंग्रेजी भाषामा गरिएको उनको ट्विटको कुरा यस्तो थियो- ‘एक व्यक्ति भन्छ उनको जन्म उनकी आमाले दिएको होइन । एक व्यक्ति, जो यो कुरामा निश्चिन्त छ कि उसको जन्म जैविक रुपमा भएको होइन । के यस्तो दिमाग भएको व्यक्ति प्रधानमन्त्री हुन योग्य होला ?’

राठीले नरेन्द्र मोदीलाई लक्षित गरेर यस्तो लेखेका थिए । मोदीले हालसालै विभिन्न टेलिभिजन च्यानलहरुमा सार्वजनिक गरेका मन्तव्यहरुमा आधारित भएर राठीले यस्तो आलोचना गरेका थिए ।

के भनेका थिए मोदीले ?

प्रधानमन्त्री भएपछि पत्रकार सम्मेलन फेस नगरेको आरोप छ मोदीलाई । उनले पत्रकारहरुसँग अन्तर्वार्ता कम दिएको आरोप छ । यद्यपि, अहिले जारी चुनावी दौरानमा मोदीका अन्तर्तार्वाहरु भकाभक आइरहेका छन् । एकदेखि आधा दर्जन बढी पत्रकार एकै स्थानमा राखेर पुरानो बेलायती शैलीको अन्तर्वार्ता दिइरहेका छन् मोदी । केही समय अगाडिको अन्तर्वार्तामा उनले आफ्नो जन्म र आमाका बारेमा बोलेका थिए ।

खासगरी यो कुरा भाइरल बनाएकी हुनु भारतीय पत्रकार महिला रुबिका लियाकतले । उनले पाँच वर्ष अगाडिको अन्तर्वार्ताको कुरा जोडेर मोदीको चुनाव क्षेत्र उत्तर प्रदेश राज्यको वाराणसीमा फेरि त्यही प्रश्न दोहोर्‍याएर सोधेकी थिइन्- ‘तपाईं यति धेरै दौडधुपमा हुनुहुन्छ, तपाईंलाई थकाइ लाग्दैन ?’ उनले मोदी पहिलेभन्दा अहिले झनै बढी सक्रिय भएको कुरा निकाल्दै यस्तो सोधेकी थिइन् ।

त्यसमा मोदीले दिएको जवाफ यस्तो थियो- पहिले जब आमा जीवित हुनुहुन्थ्यो, मलाई लाग्थ्यो कि उनले मलाई जैविक रुपमा जन्म दिइन् । आमाले छोडेर गएपछि भने यी सबै अनुभवलाई जोडेर म के कुरामा प्रस्ट भएँ भने यो कुरामा वामपन्थीहरुले मेरो धज्जी उडाउन सक्छन्, मलाई परमात्माले पठाएका हुन् । यो ऊर्जा जैविक शरीरबाट मिल्दैन । यो ऊर्जा ईश्वरले मसँग केही काम लिन मलाई सामर्थ्य दिएको हो ।’

पत्रकार रुबिकाले ट्विटरमा राखेको भिडियोमा मात्रै होइन, मोदीको आफ्नै युट्युब च्यानलमा पनि उनले आफूलाई भगवानले पठाएको कुराको चर्चा गरेका छन् । बिहीबार मोदीको आधिकारिक च्यानलमा अपलोड भएको २ मिनेट १६ सेकेण्डको भिडियोमा उनले आफूलाई भगवानले पठाएको बताएका छन् ।

उनले भिडियोमा भनेका छन्, ‘ईश्वरले नै मलाई सबैथोक गराउँछन् । उनैले दौडाउँछन् । उनैले पद दिन्छन् । प्रतिष्ठा दिन्छन् । उनैले परिणाम पनि दिन्छन् । म भगवानको दुई रुप देख्छु । एक साकार, अर्को निराकार । १४० करोड देशवासी छन् । म उनलाई परमात्माको रुपमा लिन्छु । उनीहरु मेरो साकार ईश्वरका रुप हुन् । म जसका दैनिक पूजा गर्नेवाला व्यक्ति हुँ । दोस्रो निराकार हुन् । जसलाई मैले न देखेको छु न त देखेकोसँग भेट गरेको छु । तर, मेरो उनमा अपार श्रद्धा रहँदै आएको छ । सायद ईश्वरले न मलाई यो संकेत दिएका छन् कि तिमी निराकार रुपको खोजीमा आफ्नो समय बर्बाद नगर । यो ईश्वरको साकार रुप जुन छ त्यसैमा लाग । तिम्रो साथ निराकार स्वरुप रहनेछ ।’

आफूलाई परमात्माले पठाएको तथा आफ्नो जन्म जैविक नभएको संकेत गरेका मोदीको मन्तव्य अहिले भारतमा भाइरल भएको छ । धार्मिक सवालमा भावुक मोदीको यो सवाल गर्दा उनले पत्रकार रुबिकासँग बोल्दा वामपन्थीहरुले थज्जी उडाउने भनिसकेका थिए । अहिले मोदीले सोचे जस्तो वापमन्थीबाट मात्रै होइन, गैरवामपन्थीबाट पनि उनको आलोचना सुरु भएको छ । चुनावी मैदानमा रापताप बढेको बेला भएकाले यो मुद्दा राजनीतिक मसला पनि बनेको छ ।

मोदी मन्तव्य यसरी बन्दैछ राजनीतिक मसला

मोदीको जन्म, आमा र भगवानबारेको मन्तव्य अहिले भारतको चुनावमा विपक्षीहरुले मज्जाले बिक्री गरिरहेका छन् । गत अप्रिल १९ बाट आगामी जुन १ सम्म हुने भारतको सात चरणको चुनावमा मोदीको मन्तव्य विपक्षीलाई गज्जब मसला भइरहेको छ । भारतका विपक्षी दलहरुको ‘इण्डिया’ गठबन्धनले यसलाई भरमग्दुर प्रयास गरेर सार्वजनिक आलोचना गरिरहेको छ ।

इण्डियन एक्सप्रेसले सार्वजनिक गरेको एक भिडिओमा भारतका विपक्षी दलका नेता राहुल गान्धीले मोदी मन्तव्यको कडा कटाक्ष गरेका छन् । उनले भनेका छन्, ‘देशका प्रधानमन्त्रीले चम्चाहरुको अगाडि अन्तर्वार्तामा खुल्दै भन्छन्, म जैविक होइन । म जैविक होइन । मलाई परामात्माले माथिबाट पठाएका हुन् । लक्ष्यका लागि पठाएका हुन् ।’

मोदीलाई परमात्माले पठाएको कुरामा पश्चिम बंगालकी मुख्यमन्त्री तथा विपक्षी गठबन्धनकी नेतृ ममता बेनर्जीले पनि आलोचना गरेकी छन् । पश्चिम बंगाल राज्यको सुन्दरवन क्षेत्रको मथुरापुरा क्षेत्रको चुनावी सभामा उनले कडा आलोचना गरेको भारतीय अखबार इकोनोमिकटाइम्स्ले उल्लेख गरेको छ ।

सभामा ममता बेनर्जीले मोदीको नाम उच्चारण नगरिकन भनेकी थिइन्, ‘उनी अब आफैंलाई भगवानको पुत्र भन्न थाले । उनले यो दाबी गर्न थाले कि उनी हामीभन्दा फरक हुन् । उनका जैविक आमाबाबु छैनन् । उनी भन्छन् उनलाई परमात्माले पठाएको हो । मेरो यो प्रश्न छ, के भगवानले दंगा गराउन, झूटका विज्ञापनहरु गराउन र एनआरसीको नाममा जनतालाई जेलमा पठाउन पठाएका हुन् ?’

Comments

3 responses to “‘जन्म’ र ‘आमा’सम्बन्धी मोदीको मन्तव्य भाइरल: विपक्षीले बनाए चुनावी मुद्दा”

  1. Samir Avatar
    Samir

    मोदी महामानव हुन! ध्रुव राठिको मानसिक स्वास्थ्य जाँच गर्नु आवश्यक छ!

  2. निमेष अधिकारी Avatar
    निमेष अधिकारी

    सबै मानव हरू लाइ भगवान ले नै पठाएका हुन्, यसमा के नौलो कुरो छ ?आस्थिकहरू भगवान मान्छन्।

  3. Tika Avatar

    You do not have any other issues? Why you are biased against Modi and Bharat?

Leave a Reply

Your email address will not be published. Required fields are marked *