‘कांग्रेसले सहकारीलाई लिएर राजनीतिकरण गर्दैछ, सहमतिको विकल्प छैन’

काठमाडौं । प्रमुख प्रतिपक्षल दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीमा रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष पनि तयार भएपछि टीओआरमा कुरा मिल्न सकेको छैन । समिति गठनको लागि आज कार्यदलको बैठक बस्दैछ । आजको बैठकमा सहमति हुने नहुने निर्णायक छलफल गर्ने मुडमा दुवै पक्ष देखिएको छ ।

कांग्रेसले छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्नुपर्ने अडान राखेको छ । तर, सत्तापक्ष त्यो चाहँदैन । यसअघि कार्यदलको बैठक मंगलबार बसेको थियो। तर, सहमतिको सम्भावना कमजोर बन्दै गएको छ ।

सत्तापक्षले वार्ता चलिरहेको बेलामा कांग्रेसले सडक आन्दोलन घोषणा गरेर परिस्थिति बिथोल्न प्रयास गरेको आरोप लगाएको छ । सहमतिको प्रयास जारी राख्दै दुवै सदनको बैठक भोलिका लागि बोलाइएको छ । तर, कांग्रेस सहमति नभएसम्म सदन चल्न नदिने पक्षमा छ । यता, सरकारले पनि कांग्रेसको नाराबाजीबीच पेलेरै सदन अघि बढाउँदै आइरहेको यही विषयमा केन्द्रित रहेर कार्यदलका सदस्य तथा रास्वपा सांसद शिशिर खनालसँग गरेको संक्षिप्त कुराकानीः

– टीओआरको विषयमा छलफल चलिरहेको बेलामा कांग्रेसले सडक आन्दोलनको घोषणा गर्‍यो अब सहमतिको सम्भावना टर्दै गएको हो ?

हाम्रो आशा त उहाँहरू सहमतिमै आउनुहुन्छ भन्ने हो । तर, उहाँहरू राजीनामाको कुरा पनि उठाउँदै आन्दोलनको घोषणा गर्नुभएको छ । तर, पनि अहिलेसम्म छलफल नगरेको हुनाले सहमति हुन्छ भन्ने आशा राखेको छौं ।

– हिजोको कांग्रेसको बैठकमा गृहमन्त्रीको राजीनामाको विषय पनि उठेको छ । त्यसलाई कसरी हेर्नुभएको छ ?

अस्तिको बैठकबाट चाहिँ हामी सहमति खोजौं भन्ने लाइनमै टुंगिएको हो । यसले गर्दा अब अघिल्लो दिन पनि उहाँहरूको बाहिरको विज्ञप्तिभन्दा कार्यदलमा आइसकेपछिको संवाद चाहिँ सकारात्मक नै थियो । त्यसले गर्दा बाहिर राजनीतिक कुरा जे भएपनि सहमतिकै बाटोमा जानुपर्छ । त्यही बाटोमा कांग्रेस आउँछ भन्ने विश्वास लिएका छौं ।

– कांग्रेसले समितिमा गृहमन्त्रीकै नाम किटान गर्नुपर्ने बटमलाइन बनाइरहेको छ । त्यसमा रास्वपा तयार हो ?

सम्भव हुँदैन । त्यो न्यायसंगत नहुने कुरा हो । हामीले भित्र बाहिर एउटै कुरा गरेका छौं, अरुले जस्तो दोहोरो चरित्र देखाएका छैनौं । अहिलेसम्म संसदीय इतिहासमा त्यस्तो भएको छैन । त्यस्तो नजिर स्थापना गर्ने बाटोमा जानुहुँदैन भन्ने पक्षमा छौं । यसअघि पनि अनेक खालका विशेष समितिहरू बनेको छ, संसदमा कुरा उठ्दा व्यक्तिकेन्द्रित नै हुन्छ । कुनै मन्त्री र प्रधानमन्त्रीमाथि कुरा उठ्दा त व्यक्तिकेन्द्रित नै हुन्छ नि !

तर, कार्यदल र संसदीय समिति बन्दा चाहिँ विषयवस्तु केन्द्रित नै बनेको इतिहास छ । त्यसको तथ्य नै छ । व्यक्तिकेन्द्रित समिति बनाउन हुँदैन । त्यसले गलत नजिर स्थापना गर्छ, प्रश्न हरेक सांसद, मन्त्री र प्रधानमन्त्रीमाथि पनि उठ्छन् । त्यसैले विषयवस्तु समाधान गर्ने बाटोमा जानुपर्छ भन्ने हाम्रो दलिल नै त्यसमा छ । हामी त्यही अडानमा छौं ।

– भनेपछि यो मुद्दालाई कांग्रेसले सत्ता समीकरणमा खेल्नलाई सारेको भन्ने बुझ्नुभएको छ ?

कांग्रेस यो विषयलाई राजनीतिकरण गर्दैछ । सहकारीको बचतकर्ताको पक्षमा उहाँहरू बोलिराख्नुभएको छैन । पछिल्लो स्टेटमेन्ट बल्ल देखिन थालेको छ । हामीले बचतकर्ताको रकम फिर्ता हुनुपर्छ भन्ने मागलाई प्रमुख बनाउनुपर्छ भन्दै आयौं । सहकारीमा सानासाना बचतकर्ताहरू हुनुहुन्छ । त्यहाँ श्रमजीवि वर्गको पैसा छ ।

पहिला राज्यले त्यो लाखौं बचतकर्ताको रकम फिर्ताको सुनिश्चिता गर्नुपर्छ । त्यहाँ उहाँहरुको ध्यान छैन । यत्रो ठूलो सरकारले तीन खम्बे अर्थनीति भनेर एउटा खम्ब सहकारीलाई बनायो । सहकारी क्षेत्र नै धराशायी हुँदै गर्दा यो क्षेत्रको कानूनी र नीतिगत समस्या के छन् भन्ने कुरा पो सदन र सांसदले हेर्नुपर्ने हो । यसमा पनि उहाँहरूको ध्यान छैन । छोटो सत्ता केन्द्रित राजनीतिमा उहाँहरूको ध्यान छ ।

– तर, यो परिस्थिति गृहमन्त्रीले सदनमा दिएको अभिव्यक्तिले बिथोलिएको जस्तो देखिन्छ नि !

गृहमन्त्रीले सदनमा बोलिसकेपछि पनि हामी समितिको लागि कार्यदलको बैठक बस्यौं । बाहिर जसरी राजनीतिक ढंगले प्रस्तुत भइराख्नुभएको छ राजनीतिक दल हो त्यसलाई हामीले अन्यथा पनि लिएका छैनौं । तर, कार्यदलमा आइपुग्दा त्यस्तो देखिँदैनथ्यो । उहाँहरूलाई अस्ति पनि सकारात्मक नै पाएको हो ।

यो विषयवस्तु उठान गरिसकेपछि यसलाई न्यायोचित निकास हुनुपर्छ भन्ने छ उहाँहरूले हामीहरुसँगको संवादमा राखिराख्नुभएको छ । तर, गृहमन्त्रीले बोलेकै आधारमा माहोल बिग्रिएको अस्तिको बैठकमा महशुस गरेका थिएनौं त्यो निरन्तर रहन्छ भन्ने बुझाइ छ ।

– गृहमन्त्रीले सदनमा नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न कांग्रेसले चुनौती दिएको छ । त्यसबारे पार्टीमा केही छलफल भएको छ ?

यसलाई हामीले स्वाभाविकरूपमा लिएका छौं । गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लागेको छैन । उहाँहरूले संसदीय छानबिन समितिको एजेण्डालाई नै मूल बनाइराख्नुभएको छ । त्यसको निकास दिन छलफल गरिरहेका छौं । तर, अन्य कुरामा उहाँहरूले पनि हाम्रा विरुद्ध भन्नुभएको छ हामीले अन्यथा लिएका छैनौं । यो नेपाली राजनीतिक इतिहासमा भइराख्ने कुरा हो नयाँ कुरा पनि होइन । त्यसैले यो कुराको पछि हामी लागेका छैनौं ।

– कांग्रेसले बहुमतको बलमा पेल्यो भन्दै आइरहेको छ। आज सहमति नभए सदन अस्ति नै ढंगले चल्छ ?

अहिलेसम्म आशा गरौं, भोलि सदन कसरी जान्छ भन्ने कुरा सहमतिमा भर पर्छ । उहाँहरूले सदनलाई अवरुद्ध पारिराख्नुभएको छ । त्यो दुर्भाग्यपूर्ण छ । गएको शनिबार शीर्ष नेताहरूको बैठकले संसदीय समिति बनाउने निर्णय गरेका थियो । त्यसले गर्दा उहाँहरूको प्रमुख मागको सम्बोधन भइसकेको अवस्था हो ।

अब कसरी भन्ने कुरामा मात्रै टीओआरमा छलफल गरिरहेका छौं । संसदीय समिति बनाउँ भनेर सत्तापक्ष प्रतिपक्षले राखेको मुख्य मागमा आइपुग्दा कांग्रेसले सदनलाई होल्ड गरेर बस्नु चाहिँ सहमतिबाट ब्याक हुन खोजेको देखिन्छ ।

– यो टीओआरमा नमिलेको कुरा गृहमन्त्रीको नाम राख्ने विषयमात्रै हुन् कि अरु पनि छन् ?

मुख्य त त्यही हो । अन्य केही विषयवस्तुमा सहजै मिलाएर जान सकिन्छ । उहाँहरूले नाम राख्नुपर्ने कुरा गरिराख्नुभएको छ । नामभित्र यसले स्थापित गर्ने संसदीय नजिरको पनि कुरा हुन्छन् । व्यक्तिको नाम जोडियो कि जोडिएन भन्ने कुराले खास ठूलो अर्थ राख्दैन । जुन नजिर हामीले स्थापना गर्छौँ, नाम नै तोकिने भए त उदाहरणको लागि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि करको दर हेरफेरको कुरा पनि उठेको थियो ।

तर, त्यो बेलामा पनि विषयलाई मात्रै छानबिन गर्नेगरी टीओआर बनाएएको थियो । जनार्दन शर्मामाथि छानबिन भनेको छैन । कांग्रेसले मागेको कुरा संगतिपूर्ण देखिएको छैन । त्यसैले व्यक्तिको नाम किटान गर्ने कि नगर्ने भन्दा पनि कस्तो नजिर स्थापना गर्ने भन्ने कुरा पनि हो ।

Comments

One response to “‘कांग्रेसले सहकारीलाई लिएर राजनीतिकरण गर्दैछ, सहमतिको विकल्प छैन’”

  1. Rohan Avatar
    Rohan

    वार्ता चलिरहेको बेलामा जबर्जस्ति संसद चलाउन मिल्ने, कांग्रेसले सडक आन्दोलन घोषणा गर्न नमिल्ने, कस्तो स्वांठ रैछ । हुनत भाई एमालेलाई त्यहि सिकाएको होला ओलिबाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *