एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिन्छ: ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिने बताएका छन् ।

बुधबार गृह जिल्ला झापाको कमल गाउँपालिका-५ स्थित पाडाजुँगी चोकमा सडक विभागले आयोजना गरेको एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा-लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गर्दै उनले सो राजमार्ग निर्माणपछि आर्थिक विकासको नयाँ अवसर सिर्जना हुने बताएका हुन् ।

एसियाली राजमार्गलाई नेपालले सदुपयोग गर्नुपर्ने अध्यक्ष ओलीले बताए । उनले भने, ‘यो ए‍ेतिहासिक काम हामीले सुरु गरेका छौं, यस ठाउँमा कुनै काम हुन्छ भने रोजगारीका अवसर स्वतस् सृजना हुन्छन्, रोजगारीको अवसरदेखि अनेक चिजको फाइदा लिन म आग्रह गर्छु, यो बाटो बन्नासाथ धेरै अवसर आउँछन्, यसको सदुपयोग गर्न पनि आग्रह गर्नु ।’

सो राजमार्ग बनेपछि विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने अध्यक्ष ओलीले बताए । उनले भने,‘यो आफैंमा एउटा इन्फास्टक्चर हो, यिनीहरुको प्रयोग गरेर हामीले विकासका कामलाई ध्यान दिनुपर्छ, आधुनिकीकरणमा ध्यान दिनुपर्छ, जसबाट हामी अगाडि जान सक्छौं, रोजगारीका अवसर सृजना गर्ने, उत्पादन वृद्धि गर्न र उत्पादकत्व वृद्धि गर्ने यी सबै काम उद्यमशिलताको विकासबाट हुन सक्छन् ।’

हामीले बनाएका चौडा बाटा, विद्युत, सञ्चार सुविधा र अन्य कनेक्टिभिटीको विकासका लागि प्रयोग गर्नुपर्ने अध्यक्ष ओलीले बताए ।

नेपालमा अलि गत्तिला बाटा बनायो भने किन बनाइयो भनेर विरोध गर्ने गरिएको उनले बताए । अध्यक्ष ओलीले भने,‘कतिपय मानिसले नबुझ्न सक्छन्, विदेशमा गएर अरुका विकास र बाटा हेर्‍यो अनि आहा यस्तो हुन्छ भन्ने, आफ्ना देशमा बनायो भने खिल्ली मजाक उडाउने, अरुका देशमा अग्ला घरको टुप्पो हेरेर बाटोमा टोपी छोडेर आउने अनि आफ्नो देशमा अलि गत्तिलो घर बनायो भने विरोध गर्ने, यो खालको तरिका हामी नेपालीहरुको छ, अलि गत्तिला बाटा बनायो भने यस्ता बाटा किन बनाइयो भनेर विरोध गर्ने ।’

जिन्दगी भात मात्रै नभएको र भात प्राप्त गर्नका लागि धेरै कुरन गर्नुपर्ने उनले बताए । एसियाली राजमार्ग स्ट्याण्डर हाइवेको रुपमा विकास हुनु सबैका लागि खशीयाली कुरा भएको अध्यक्ष ओलीले बताए ।

सरकारले विकासका कामलाई तिब्रतासाथ अगाडि बढाउने उनले बताए । आफू नेतृत्वको सरकारले विकास र समृद्धिका लागि धेरै काम गरेको अध्यक्ष ओलीले स्मरण गराए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले विकासको लहर पुर्नजीवित गरेकाे भन्दै उनले प्रशंसा गरे ।

एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १ सय २० किलोमिटर सडक चार लेनको बनाइनेछ ।

एसिया महादेशका ३२ मुलुकलाई स्थलमार्गले जोड्ने एसियाली राजमार्गको कूल लम्बाइ १ लाख ४१ हजार किलोमिटर रहने बताइएको छ ।एसियाली राजमार्गको स्वीकृत रुटमा नेपालको पूर्वमा काँकडभिट्टा, पश्चिममा वनबासा, उत्तरमा तातोपानी र दक्षिणमा वीरगञ्जबाट उक्त राजमार्ग नेपाल भित्रिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *