काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेर आफूहरू उनको साथमा रहेको जानकारी गराएका छन् ।
नागरिकता किर्ते गरेको अभियोगमा अनुसन्धान गर्न आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतबाट मंगलवारमात्र सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।
सिरोहियालाई पक्राउ पुर्जी जारी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित कांग्रेस सांसदहरू राजेन्द्र बजगाईँ,दीपक गिरी,राजु थापालगायत थापाथलीस्थित कान्तिपुरको कर्पोरेट कार्यालयमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।
कांग्रेस सांसदहरूसमक्ष सिरोहियाले कान्तिपुरविरुद्ध गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध लिएको बताएका छन् । सो अवसरमा छोरा सम्भव र बुहारी श्रृंखलासहित उपस्थित भएका सिरोयिहा तथा कान्तिपुरका पत्रकारहरूले पनि पूर्वाग्रही कारबाहीविरुद्ध एकजुट हुन आग्रह गरेका छन् ।
यसअघि संसद भवनभित्रबाटै सांसद राजेन्द्र बजगाईले लोकतन्त्रको पहरेदार कान्तिपुरको पक्षमा खडा हुन आह्वान गरेका थिए । कान्तिपुरमा कांग्रेस सांसदहरुहरुको ओहोरदोहोर चलिरहेको छ । उता सिरोहियाले पक्राउ पुर्जीविरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्दैछन् ।

Leave a Reply