दिलको उपचार गर्ने डाक्टर स्मृतिको दिल छुने ‘म्युजिक भिडिओ’ बजारमा

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य पेशाले चिकित्सक हुन् ।

लामो समयदेखि यही क्षेत्रमा निरन्तर सोव गर्दै आएकी मुटुरोग विशेषज्ञ डा.स्मृतिले अहिलेसम्म हजारौँ दिल अर्थात हृदय रोगीहरुको सफल उपचार गरिसकेकी छन् ।

चिकित्सक पेशामा अब्बल डाक्टर स्मृतिले पछिल्लो सयम डाक्टर मात्रै होइन गायिकाको पनि परिचय थप्दै गायिका स्मृति पनि बनेकी छन् ।

हजारौँ हृदय रोगीहरुको दिल छोएर सफल उपचार गरेकी शाक्यले पछिल्लो समय ‘मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडिओ बजारमा ल्याएकी छन् ।

भिडिओ:

युट्युटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा एकल सङ्गीका चार वटा एल्बम बजारमा ल्याइसकेका पूर्वप्रदेशमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको शब्द रहेको छ ।

चिकित्सक शाक्यले गाएको गीतमा संगीत पनि पूर्वमन्त्री शाक्यकै रहेको छ । म्युजिक भिडिओको छायाङ्कन देवकुमार श्रेष्ठको निर्देशनमा भएको हो । म्युजिक भिडियोका सबै दृष्य काठमाडौं र ललितपुरमा छायाङ्कन गरिएको छ ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको मोडलिङ रहेको छ । म्युजिक भिडियोमा चिकित्सक शाक्य स्वयंको पनि अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय चिकित्सकीय पेशासँगै गायनको क्षेत्रमा पनि रुचि राख्दै आएकी शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको गीत ‘ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन’ बोलको गीत संगीतज्ञ हरिशरण सायमीसँग ‘कभर सङ’ गाइसकेकी छन् ।

पूर्वमन्त्री शाक्यकै शब्द तथा संगीत रहेको ‘केही मिठा कुरा गरौन, दुई कदमसँगै हिँडौन, जिन्दगीको के भरोसा, माया माया तिमी नै माया’ बोलको गीतमा चिकित्सक शाक्यकै स्वर रहेको छ । यो गीत पनि छायाङ्कनको क्रममा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *