संसदीय समितिको मागमा अडिग रहने कांग्रेसको निर्णय, सभामुखको भूमिका तटस्थ नभएको ठहर (भिडिओ)

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दल बैठकले हिजोको संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर समेत गर्‍यो ।

बैठकपछि पत्रकारसँग बोल्दै कांग्रेस नेता रमेश लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानविनको माग पुन जोडदार रुपमा राखिएको बताए ।

सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर कांग्रेसले गरेको उनले जानकारी दिए । ‘सरकारलाई यस्ता जनहितविरोधि काममा नलाग्न चेतावनी दिएका छौं,’ लेखकले भने ।

कांग्रेसले हिजो वैठक सञ्चालनको विषयलाई लिएर पनि ध्यानाकर्षण भएको जनाएको छ ।

लेखकले भने, ‘विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ । एकजना मात्रै उभिए पनि अवरोध मानिन्छ भनेर सभामुखबाट रुलिङ भएका छन् । तर सिंगो प्रतिपक्षी दल वेलमा नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नु उचित भएन भन्ने ठहर गरिएको छ । सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो । तर, त्यस्तो भूमिका उहाँबाट भएन । हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं ।’

प्रतिपक्षी सांसदहरु सदनमा उभिएको बेला सत्तापक्षकै माननीय नेताहरु उभिने कुरा स्वभाविक नभएको पनि लेखकले बताए ।

 

Comments

One response to “संसदीय समितिको मागमा अडिग रहने कांग्रेसको निर्णय, सभामुखको भूमिका तटस्थ नभएको ठहर (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    यही कांग्रेस होइन तत्कालीन नेकपा एमालेलाई फुटाउन सभामुख रामचन्द्र पौडेल र अग्नि सापकोटा प्रयोग गर्ने कांग्रेस आततायी थियो र छ भन्ने म एक आम नागरिकको बुझाई हो सत्ता नभए पछि बौलाउने रोग कांग्रेसीमा रहेछ नत्र हिजो को अवस्थामा के हेरेर बसेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *