बैंक खाता रोक्का तथा फुकुवाको लागि स्पष्ट व्यवस्था गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गर्ने भएको छ । बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट गर्न विनियमावली बनिरहेको छ ।

विभिन्न कारणले खाता रोक्का गर्नुपर्ने स्थितिमा रहेको अस्पष्टतालाई नेपाल राष्ट्र बैंकले स्पष्ट पार्न बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ जारी गर्न लागेको छ । यसको मस्यौदा तयार भइसकेको छ । सुझावका लागि मस्यौदा राखिएको छ ।

यसमा सम्पूर्ण, आंशिक र निश्चित खाता रोक्का हुनसक्ने गरी प्रस्ताव गरिएको छ । कुनै इजाजतपत्र प्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले कानूनको व्यवस्था स्पष्ट उल्लेख गरी खाता रोक्का गर्नुको कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा तीनपुस्ते विवरण खुलाई खाता रोक्का गर्न निर्देशन दिनेछ ।

निश्चित खाता मात्र रोक्का गर्ने, व्यक्तिको सम्पूर्ण खाता रोक्का गर्ने र आंशिक रोक्का गर्न सकिने गरी केन्द्रीय बैंकले विनियमावलीमा प्रस्ताव गरेको छ ।

कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण, आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण खुलाउनु पर्नेछ ।

यता फुकुवाको लागि खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीको अनुरोधमा वा अदालतको आदेश बमोजिम रोक्का रहेको खाता फुकुवा गर्न इजाजतपत्र प्राप्त संस्थालाई निर्देशन दिएपछि फुकुवा हुनेछ ।

संस्थाले सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का, आंशिक खाता रोक्का एवं फुकुवा गर्न राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम अविलम्ब खाता रोक्का वा फुकुवा गरी खाता रोक्का वा फुकुवा भएको जानकारी तत्काल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *