राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।

नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो ।

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए । यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग सोधपुछ गरेका थिए । नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट भएका थिएनन् ।

‘देश सञ्चार’ लाई गत २३ वैशाखमा दिएको अन्तर्वार्तामा नेपालले भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’

यसैगरी, २४ वैशाखमा बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका थिए ।

सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आलोचना गरेका थिए ।

Comments

One response to “राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत”

  1. bharat kumar thapa Avatar

    यस्ता पनि गभर्नर र राष्ट्रपतिको सल्लाहकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *