नयाँ जोश, जाँगरका साथ यही निर्वाचनमा होमिएको रास्वपालाई आम नेपालीले छोटो समयमा नै विश्वास गरेर प्रतिनिधिसभाको २१ सीटमा जिताए पनि । ‘नो नट अगेन’ को नारा बोकेर निर्वाचनमा राम्रो सीट ल्याएको रास्वपा यतिबेला त्यही नाराको भारीबाट थिचिएको छ ।
रास्वपामा सभापति रवि लामिछानेकाे आलाेचककाे छवि बनाएका केन्द्रीय सदस्य गणेश कार्की सरकारबाट जतिसक्दो चाँडाे बाहिरिनुपर्ने तर्क गर्छन् । सभापितिकै कारणले पार्टी अप्ठेराेमा परिरहेकाे उनकाे दावी छ । सभापतिले पुराना पार्टीलाई अंगालो हाल्न थालेपछि रास्वपाको मिसन ०८४ ले हावा खाइसकेको टिप्पणीसमेत उनले गरे । साथै, कांग्रेसकाे मागअनुसार सभापितविरूद्ध संसदीय समिति बनाउन तयार हुनुपर्ने पनि कार्कीकाे राय छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टी सभापति रवि लामिछानेको वरपर भ्रम छर्नेहरू रहेको र जसले पार्टी र सभापतिलाई सिध्याइरहेको टिप्पणी पनि गरे ।
केन्द्रीय सदस्य गणेश कार्कीसँगको कुराकानीको सम्पादित अंश-
-पार्टी कसरी चलिरहेको छ, प्रश्नहरू निरन्तर उठिरहेको छ नि !
हामीले प्रश्नहरूको जवाफ दिइरहेका छौँ । कति प्रश्नको जवाफ प्रष्ट दिएका छौं, कतिको अलिकति घुमाउन खोजिरहेका छौं र कतिपय प्रश्नहरूको जवाफ नदिएर तर्किरहेका छौं ।
– यो भनेको के हो ?
हामी आफ्नो अनुकूलतामा जवाफ दिइरहेका छौँ । मिल्दो प्रसंग आयो भने चर्को स्वरमा जवाफ दिइरहेका छौँ । अलिकति ग्रे जोन (अस्पष्ट अवस्था) मा भएका विषयमा घुमाएर, आज आफू जोगिएर जवाफ दिइरहेका छौं । पुरानाहरू पार्टीको छल्दै बच्दै हिँडिरहेका छौं । कतिपय मुद्दा र विषयका बारेमा अहिले नगरौँ भनेर तर्क गरेर हिँडेका छौँ ।
– यसरी हेर्दा पार्टी ठिकठाक चलेको जस्तो देखिएन ?
पार्टी छोटो समयमा ठूलो भयो । फिक्सन फिल्मको पात्र जस्तो सानोबाट एकैछिनमा ठूलो भएको । अस्वाभाविक गति र रूपको बनेको जस्तो देखियो । जम्प गरेर हिँडे जस्तो हुँदा कहिले कता कहिले कता ठोक्किरहेको छ । ठोक्किएको विषयमा पार्टीभित्र समीक्षा नै हुन सकेन । यहाँ हामी चुकिरहेका छौं ।
– पार्टी आउँदा राजनैतिक विकल्प दिनेगरी आएको, नयाँ सोचको साथ आएको भनिएको थियो, यस्तो अवस्थामा पुग्नु भनेको के ? कसरी व्याख्या गर्ने ?
पार्टीभित्र गम्भीरता देखिएन । फट्याङ्ग्रा उफ्रिएजस्तो पार्टी बन्यो । संसदमा गइयो, संसदबाट सरकारमा, सरकारबाट फिर्ता अनि फेरि सरकारमा, त्यसपछि उपनिर्वाचनमा भाग लियौं, हाम्रो उम्मेदवारको जमानत जफत भयो । सबै तीव्र गतिमा भइरहेको छ । यो गति अस्वाभाविक भयो । कतै हाम्रै शक्ति हामीमाथि त आइलाग्ने होइन भन्ने डर भयो । हाम्रो उफ्राइ हेर्दा जता पनि लड्नसक्ने देखियो । रास्वपाको चरित्र नबन्दै अंक गणितको खेलमा आइसकेका छौं । अहिले रोकिनु पर्ने, समीक्षा गर्नुपर्ने अवस्थामा छौँ तर त्यो हुन नसक्दा निराशा छ ।
जनताले पुराना र नयाँको फरक नै छुट्याउन सकेनन् । इलाम निर्वाचनमा जानु अगाडि पार्टीले आफ्नो चरित्र नै बिगारिसकेको थियो सरकारमा गएर । उम्मेद्वार त गौण कुरा भयो । हाम्रो पराजय सरकारमा गएकै कारणले हो ।
– यो भनेको हामी सैद्धान्तिक रूपमा प्रष्ट छैनौं, साथै संगठनात्मक विधि पद्धतिको अभावले यो अवस्थामा पुग्यौं होइन ?
हामीसँग नीति नभएको होइन । बाहिर नीति छैन, प्रष्ट छैन, भनिरहेकोले साँच्चै छैन कि क्या हो भन्ने भ्रमजस्तो देखिएको हो । पुरानो विचार सिद्धान्त मान्दिन भन्नु पनि सिद्धान्त हो नि, नीति हो नि ! तर समयक्रमसँगै हामी पुराना दलजस्तै संगठन बढाउने पार्टीमा पदाधिकारी राख्ने भागबन्डामा हिस्सा खोज्न थाल्यौं । हामीले स्थायी रूपमा कुनैपनि वाद, सिद्धान्तलाई नअँगाली विषय र समयअनुसार नीति बनाउने भन्ने निर्णय लिएका थियौं । कुनै पनि वाद र नीतिलाई समय अनुसार लिन र त्याग्न स्वतन्त्र हुने भन्ने दस्तावेजमा लेखेका छौं । तर, हामी अल्मलियौं ।
– तपाईँको भनाइको अर्थ रास्वपा, रास्वपा जस्तै रहेन, रंग उड्यो भन्ने हो ?
रंग उडेको होइन, बदलिएको हो कि जस्तो देखियो ।
– त्यसो भए पार्टीमा छलफल किन नभएको, कि हुन नसकेको ?
पार्टीमा छलफल नहुने होइन, हुन्छ । हामी धेरै आ-आफ्नो क्षेत्रमा काम गरेर प्रश्न सोधिरहेका व्यक्तिहरू अहिले पार्टीमा छौँ । छलफल भएपनि विश्वासको वातावरण बन्न सकिरहेको छैन । को व्यक्ति कस्तो छ भनेर राम्रोसँग चिनेकै छैनौं । पार्टीको फड्को मार्ने गतिले छलफल हुन सकिरहेको छैन । अहिले पार्टी सरकारमा गएर आन्तरिक व्यवस्थापनमा लाग्न नै सकेन । अनि प्रश्नहरू धेरै आए ।
– तपाईँको भनाइ पार्टी सरकारमा जानु हुँदैन भन्ने थियो ?
हो, जानु हुँदैनथ्यो । हामीले सरकारमा जान्न भनेर नै भोट मागेको हो । नो नट अगेन अभियान हामीले चलाएको हो । हामीले पुरानो प्रवृत्तिविरुद्ध लड्ने भनेका थियौं । तर, अहिले प्रवृत्ति पनि स्वीकारेको पुराना व्यक्ति पनि स्वीकारेको अवस्थामा पुगेका छौँ । हुँदाहुँदा सबै यस्तै त हो नि भन्नेमा पुग्यौँ । राजनीति भनेको यस्तै रहेछ भन्न थालिसक्यौँ । अब तिनै पुराना नेता अनि प्रवृत्ति बोकेर हिँडेको हो कि भन्ने शंका उब्जेको छ । इलामको उपनिर्वाचनले त झन् शंकालाई बलियो स्थान दिएको छ । यो हाम्रो गलत बाटो हो कि भन्ने छ । हामीले माग र मुद्दामा अरु पार्टीका नेता कार्यकर्तालाई समाहित गराउन सकिन्छ भन्ने विश्वास दिलाउन सकेनौँ । पार्टी परिवर्तन हैन भोट परिवर्तन गुर्नुहोला भन्ने मुद्दा जोडका साथ उठाउन सकेनौँ । हामीले ठूलो संगठन बनाउने भन्दै आत्मविश्वास गुमाएका छौँ । यस्तै कमजोरीले हाम्रो फरक चरित्र बन्न सकेन ।
– सरकारमा जाँदा पार्टी कमजोर हुन्छ भनेर तपाईँहरुले किन भन्न नसकेको, किन छलफल गर्न नसकेको ?
हाम्रो पार्टीभित्र सरकारमा जान हुने र जान नहुने तर्क बोकेका व्यक्तिहरू छौँ तर विचार समूह बनेको छैन । हामीले आ-आफ्नो विचार राखेका छौँ । मत विभाजन गरेको अवस्था छैन ।
– त्यसो भए पार्टी सरकारमा किन गएको होला ?
यसमा विभिन्न कारणहरू छन् । पार्टी सरकारमा जानु कारण म एक एउटा कार्यकर्ता र केन्द्रीय सदस्यको हैसियतले भन्नुपर्दा पार्टी सरकारमा काम गर्नको लागि नै गएको हो । साथीहरूमा काम गर्ने हुटहुटी पनि थियो । तर, पार्टी सरकारमा जानु हुँदैनथ्यो काम गर्ने देखाउने, हुटहुटी देखाउने समय यो थिएन ।
– असल नियत र काम गर्ने हुटहुटी भएकाले मलाई फलानो मन्त्रालय नभइ हुँदैन कसरी भन्न सकेको ?
हो यसमा शंका गर्ने ठाँउ छ । जसरी घटनाक्रम अगाडि बढेको छ, जसरी समाचारहरू आइरहेको छ, यसमा शंका गर्ने ठाउँ छ ।
– त्यसो भए सरकारमा गएको विषयबारे जवाफ दिन पक्कै सजिलो भएको छैन ?
हामी काम गर्न नै गएको हो । काम नभएको पनि देखिँदैन, निरन्तर भइरहेको छ, व्यस्तता बढेको छ म स्वयं शिक्षामन्त्रीलाई सघाउने जिम्वेवारीमा छु । धेरै भए जस्तो देखिन्छ । तर, कामको प्रतिफल लक्षित वर्गमा पुग्यो कि पुगेन भनेर हेर्दा प्रश्न गर्ने ठाउ धैरै छ । कामको चाङ्गमा अलमलिएर व्यस्त भएका छौं, यसले जनतासँग दूरी बढेको छ । परिणाम नै देखिएन ।
– हुन त अहिलेका पार्टी सभापति केन्द्रमा रहेर नै यसको जन्म भएको हो, अहिले समस्याको जड नै त्यही केन्द्र हो कि भन्ने पनि देखियो ?
रास्वपालाई एउटा माला बनाउने कडी नै रवि लामिछाने हुन् । अरु कोही होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको मालाको धागो रवि लामिछाने नै हुन् । तर, माला भनेको धागो मात्र हो, त्यसमा उनिएको फूल केही होइन भन्न थालिएको छ । रविजीको वरपर घुम्नेले धागो भनेकै माला, माला भनेको धागो भनेर सुनाउँछन् । पार्टी सभापतिलाइ नै भ्रममा पारिएको छ । अहिले हाम्रो पार्टी सभापति सरकारमा गएकै कारणले समस्या परिरहेको छ । पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको छ । धागोले ममात्रै हो माला भनेर देखिएको अवस्था छ । पार्टीमा बढी क्षति रवि लामिछानेजी सरकारमा गएको कारणले भएको छ ।
– तपाईँहरूलाई सरकारसँगै सभापतिको बारेमा व्यक्तिगत रूपमा उठेका प्रश्नहरूले पनि समस्यामा पारेको छ होइन ?
मेरो विचारमा विपक्षीले संसद रोकेर संसदीय छानबिन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो । तर, यहाँ समस्या देखियो, यो दुःखद् छ । मुद्दाहरू सवालहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिविरुद्ध होइन । यो रास्वपा गठन हुनुपूर्व रवि लामिछानेको विरुद्धको मुद्दा हो । सभापति रवि लामिछाने र एउटा मिडिया चलाउने रवि लामिछाने अलगअलग हुन् ।
– रवि लामिछाने बिरुद्धको मुद्दाको भारी पार्टीले बोक्छ त ?
बिल्कुलै बोक्दैन । बोक्नु पनि हुँदैन । यहाँ हाम्रो गल्ती भएको छ । हामीले दुई वटा रवि लामिछाने छुट्टयाउन अप्ठ्यारो मानिरहेका छौँ । व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन हुँदैनथ्यो । जे जे व्यहोर्नुपर्ने व्यक्तिगत रूपमा रविजीले व्यहोर्नु हुन्थ्यो ।
– रविजीले पार्टी बैठकमा के भन्नुहुन्छ ?
होइन नै भन्नुहुन्छ । यसमा अर्को कुरा पनि छ । हामीसँग भएका कानून कडा र जटिल छन् । व्यवहारमा ढाल्न वा कार्यान्वयन गर्न नसक्ने खालका छन् । यसमा सुधारको आवश्यकता छ । तर, कानूनी र व्यवहारिक पाटो फरक हो । कहिलेकाहीँ यसमा व्यक्ति फस्न सक्छ । यसरी फसेको व्यक्ति आफू जोगिन जे पनि गर्छु भन्नु गलत हुन्छ । समस्याको गाँठो झन् कसिलो हुन्छ । बरु आफ्ना कुरा प्रष्ट रूपमा भनेको भए द्विविधा हुँदैनथ्यो । हामीले पार्टी सभापतिलाई जोगाउनु छ नैतिक रूपमा बलियो बनाउनु छ । साथै रवि लामिछाने र पार्टी सभापति एकै होइन भन्नुछ । एकैठाउमा मिसाएर सिंगो पार्टी, पार्टीको अभियान, देशभरको उत्साह तोड्न पाइँदैन । रविजी माथि उठेको प्रश्नको जवाफ दिनुपर्छ, उहाले दिइरहनुभएको छ । तर, प्रश्नहरू निरन्तर उठिरहेको छ । जवाफ दिइरहनु पनि भएको छ । यसलाई हेर्दा कतै जवाफ दिने तरिका बदल्ने हो कि । यहाँ त प्रश्नको चक्र जस्तो देखिएको छ एकपछि अर्को गरेर ।

– रवी लामिछानेमाथि संसदीय छानबिन समिति बनाउदा फरक पर्दैन भन्ने तपाईंको भनाइ हो ?
हो, छानबिन समिति बनाउन सकिन्छ । म मेरो सभापति सबै आरोपबाट मुक्त हुनुहुन्छ भन्ने अपेक्षा राख्दछु । हामीले छानबिन समिति माग गर्ने सबैलाई विरोधीको नजरले हेर्न हुँदैन । छानबिन समितिलाई नै पार लगाउने भन्दा पनि प्रश्नहरुको जवाफ दिएर निमिट्यान्न पार्नेतर्फ सोच्नुपर्छ ।
– संसदको गतिरोध अन्त्य गर्न तपाईंहरूको पनि भूमिका हुन्छ कि हुँदैन ?
संसद एक दिन पनि बन्द हुनुहुँदैन । संसद खुला राख्नुपर्छ भनेर हामीले अभियान नै चलाएका हौँ । समिति बन्न वा बनाउन नसकेर संसद अवरोध हुने कुरामा मलाई दुःख लाग्छ ।
– २८ गतेबाट सुरू हुने भनिएको अधिवेशन नै रोकिनसक्ने देखियो, बस्न नै नसक्ने अवस्था देखियो नि !
हो, हाम्रो कारणले संसद अवरुद्ध हुने विषयमा दुःख व्यक्त गर्दछौं । संसदीय छानवीन समिति बनाउने र बनाउन नदिनेबारे स्पष्ट धारणा हुनुपर्छ । संसदीय समिति व्यक्ति विशेषको लागि भन्दा पनि समग्र समस्याको निकास खोजिने गरी समिति बनाउन हामी तयार छौँ ।
– पार्टीको मिसन ०८४ बाटोमा नै अलमलियो होइन ?
हामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो । तर, अर्कैको मिसन ८४ को लागि पुग्यौं । हामीले नो नट अगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा, खायो । हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ । यो निर्णयले कसैलाई पनि खुशी दिएको छैन । सरकारमा गएका साथीहरूले काम गरेर देखाउने अवसर छ । यो अवसर पनि गुमायौं भने ठूलो युवा पंक्तिमा निराशा छाउने देखिन्छ ।
– अब पनि सरकारमा बस्ने सम्भावना कत्तिको छ ?
यो सरकारको भर छैन । अहिले हामी बोलिरहेको छौं यही बेला बाहिर सरकार ढलिसकेको पनि हुनसक्छ । यो पूर्णकार्यकाल टिक्न पनि सक्छ । सरकारमा रहेकाको सिद्धान्त र चरित्र नै स्पष्ट छैन । सरकार रणनीतिको रूपमा सञ्चालन भइरहेको छ तर के गरिरहेको के भइरहेको स्पष्ट छैन काम पनि पारदर्शी छैन ।
– अलिकति इलामको कुरा गरौँ, इलाममा किन हारियो ?
हामी सरकारमा गएर नै गलत भएको हो । सरकारमा गएर निकम्माहरूसँग संगत गर्न थालेपछि हारियो । जनताले पुराना र नयाँको फरक नै छुट्याउन सकेनन् । इलाम निर्वाचनमा जानु अगाडि पार्टीले आफ्नो चरित्र नै बिगारिसकेको थियो सरकारमा गएर । उम्मेद्वार त गौण कुरा भयो । हाम्रो पराजय सरकारमा गएकै कारणले हो ।
– तपाईँको निष्कर्ष सरकारमा जति बसिन्छ त्यति पार्टी कमजोर हुँदै जान्छ भन्ने हो ?
यसबारे मेरो प्रष्ट धारणा छ । सरकारमा जानु हुँदैनथ्यो ।
पार्टीका राम्रा साथी सरकारमा जानुभयो । साथीहरू नर्क जाने बाटो पीच (कालोपत्र) गर्दै हुनुहुन्छ । बाटो जति राम्रो बनाए पनि पुगिने गलतमा नै हो । यसले स्थापित गर्ने सत्य नयाँले पनि पुरानालाई नै बोक्ने भन्ने हो । यो सत्य जति समय आफूसँग रहन्छ निरन्तर क्षति हुन्छ । सरकारबाट निस्किए राम्रो ।
– पछिल्लो राजनीतिलाई (जसपा फुटको) कसरी हेर्नुभएको छ तपाईँको पार्टी त्यहाँ त पुग्दैन नि !
रास्वपा फुट्दैन । किन फुट्दैन भने, रास्वपाभित्र समूह (विचार समूह) बनेको छैन । हाम्रो पार्टीभित्र एक अर्कामा राम्रोसँग परिचय नै भएको छैन । पार्टीमा पूर्णकालीन सदस्य नै छैनन् । पार्टीभित्र, राजनीतिमा रहिन भने के हुन्छ भन्ने खालका साथीहरू हुनुहुन्न । बरु पार्टीको चरित्र सकिएर अनुपयुक्त हुने अवस्था आउन सक्छ ।

Leave a Reply