१० वर्षअघि पहिलो टी-२० विश्वकप खेल्ने नेपाली टीमका सदस्य अहिले को कहाँ छन् ?

काठमाडौं । नेपालले १० वर्षपछि दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ । आउँदो जुनमा हुने प्रतियोगिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । नेपालले यसअघि २०१४ मा टी–२० विश्वकप खेलेको थियो । त्यसको १० वर्षपछि नेपालले विश्वकप खेल्न लागेको हो ।

नेपालले दोस्रो पटक विश्वकप खेल्न लाग्दा १० वर्षअघि खेलेका एक खेलाडी मात्र दोस्रो पटक विश्वकप खेल्दै छन् । दोस्रो पटक विश्वकप खेल्ने एक्ला नेपाली खेलाडी हुन्, सोमपाल कामी । उनी अहिले टोलीको मुख्य र अनुभवी खेलाडी हुन् ।

नेपालले २०१४ भएको टी–२० विश्वकपको पहिलो चरणमा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो । घरेलु टोली बङ्गलादेशसँग मात्र पराजित भएको नेपाली टोली नेटरनरेटका आधारमा दोस्रो चरणमा पुग्न सकेको थिएन ।

त्यतिबेला नेपाली टोली पारस खड्काको कप्तानीमा थियो । १५ सदस्यीय टोलीका अन्य खेलाडीमा प्रदिप ऐरी, सुबास खकुरेल,अनिल मन्डल, ज्ञानेन्द्र मल्ल, अमृत भट्टराई, सोमपाल कामी, नरेश बुढाऐर, शरद भेषावकर,सागर पुन, शक्ति गौचन, बसन्त रेग्मी, राहुल विके, विनोद भन्डारी र जितेन्द्र मुखिया थिए। राहुल, अनिल, अमृत र प्रदिप ऐरी तीनवटै खेलमा बेन्चमा सिमित भएका थिए ।

कहाँ छन् विश्वकप खेलेका नेपाली खेलाडी ?

नेपालले विश्वकप खेल्ने तयारी गरिरहँदा अघिल्लोपटक विशवकप खेलेका दुई जना खेलाडी मात्र राष्ट्रिय टोलीमा पर्न संघर्षरत थिए । त्यसमध्ये सोमपाल कामीको स्थान लगभग पक्का थियो । नेपाल एका कप्तान रहेका विनोद भन्डारी भने ढुक्क थिएनन् ।

अन्ततः उनी १५ सदस्यीय राष्ट्रिय टोलीमा अँटाएनन् । विनोदले हालै वेस्ट इन्डिज एविरुद्ध खेलेका थिए । ३४ वर्षीय विनोदले हालसम्म नेपालका लागि ४० टी–२० अन्तर्राष्ट्रिय खेल्दै २ अर्धशतकसहित ४ सय ५ रन जोडेका छन् ।

विश्वकपमा नेपाली टोलीको कप्तानी गरेका पारस खड्का अहिले क्रिकेटको व्यवस्थापनतिर छन् । पारस गत असोजमा भएको निर्वाचनबाट नेपाल क्रिकेट संघ–क्यानको सचिव निर्वाचित भएका थिए। उनले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश घोषणा गरेका थिए ।

पारसले नेपालका लागि ३३ टी–२० अन्तर्राष्ट्रिय खेल्दै एक शतक र ४ अर्धशतकसहित ७ सय ९९ रन जोडेका छन् । पारसपछि नेपाली टोलीको कप्तान बनेका ज्ञानेन्द्र मल्ल नेपाल ‘ए’ टीमको मुख्य प्रशिक्षकको रूपमा छन् । गत साउनमा क्रिकेटबाट संन्यास लिएका मल्ल फागुनमा ‘ए’ टिमको मुख्य प्रशिक्षक नियुक्ति भएका हुन् ।

ज्ञानेन्द्रले ४५ टी–२० अन्तर्राष्ट्रिय खेल्दै एक शतक र २ अर्धसतकसहित ८ सय ८३ रन जोडेका थिए । विनोदजस्तै जितेन्द्र मुखिया र शरद भेषावकर अहिले पनि घरेलु क्रिकेट खेल्दै छन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका जितेन्द्र मुखिया २ वर्षयता राष्ट्रिय टोलीमा छैनन् । उनले नेपाली टोलीबाट १० टी–२० अन्तर्राष्ट्रिय खेल्दै १० विकेट लिएका छन् ।

करण केसी, अविनाश बोहरा र सोमपाल कामीको प्रभावपछि जितेन्द्रलाई राष्ट्रिय टोलीमा ठाउँ बनाउन मुस्किल भएको थियो । उनी विश्वकपको अफगानिस्तानविरुद्धको खेलमा प्लेयर अफ दी म्याच घोषणा भएका थिए ।

शरद भेषावकरले घरेलु क्रिकेट खेलिरहेपनि २ वर्षयता राष्ट्रिय टोलीमा छैनन् । सन् २०१४ को विश्वकपमा नेपाललाई छनोट गराउन भेषावकरको भूमिका महत्वपूर्ण रहेको थियो ।

उनले निर्णायक इनिङ खेलेका थिए । तर मध्यक्रममा कुशल मल्ल, भीम सार्की, सन्दीप जोराजस्ता खेलाडीको उपस्थितीपछि भेषावकर टिमलाई अँटाउन छाडेका थिए । उनले नेपाली टोलीका लागि २० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ३ सय २५ रन जोडेका छन् । उनले कुनैपनि खेलमा अर्धसतकीय इनिङ खेल्न सकेनन् । शरद घरेलु क्रिकेटसँगै कमेन्टेरका रूपमा छन्। उनले एपिएफबाट खेल्ने गर्छन् ।

शक्ति गौचन खेलाडी उत्पादनमा व्यस्त छन् । उनले झन्डै डेढ दशक नेपाली टोलीबाट खेलेका थिए । सन् २०१८ पछि भने उनी टोलीमा अँटाएनन् । उनले सन्याश घोषणा भैरहवामा रहेको स्टार क्रिकेट एकेडेमीमा खेलाडी उत्पादन गर्न थालेका थिए ।

अहिले राष्ट्रिय टीमका महत्त्वपूर्ण खेलाडी कुशल मल्ल उनैको उत्पादन हुन् । शक्तिले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ खेल खेल्दै ८ विकेट लिएका छन् । सागर पुन २०१८ पछि अमेरिकामा बस्दै आएका छन् ।

उनी २०२२ को डिसेम्बरमा घरेलु क्रिकेट खेल्न आएका थिए । ब्याटिङ अलराउन्डर सागरले नेपालका लागि ९ टी–२० अन्तर्राष्ट्रिय खेल्दै ९० रन बनाएका थिए भने ६ विकेट पनि लिएका थिए ।

वसन्त रेग्मी पनि अहिले अमेरिकामा छन् । उनले अन्तिम पटक सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले पनि झन्डै डेढ दशक नेपाली राष्ट्रिय टोलीबाट खेले। बसन्तले नेपालका लागि १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा २५ विकेट लिएका छन् ।

अनिल मण्डल र प्रदीप ऐरी पनि घरेलु क्रिकेट खेल्दै छन् । अनिल आर्मी र प्रदीप एपिएफ क्लबमा आबद्ध छन् । अमृत भट्टराई अस्ट्रेलिया र राहुल विश्वकर्मा युरोपमा छन् । प्रदिप दुई वर्षयता राष्ट्रिय टोलीमा छैनन् । उनले नेपालका लागि १२ खेल खेल्दै ९१ रन जोडेका छन् । अनिल ८ वर्षयता नेपालका लागि खेल्न सकेका छैनन् ।

उनले २ वटा मात्र टी–२० अन्तर्राष्ट्रिय खेले जसमा ११ रन जोडेका थिए । सन् २०१६ पछि राष्ट्रिय टोलीमा नरहेका नरेशले ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा जम्मा ७ रन जोडेका थिए । राहुलले नेपालका लागि कहिल्यैपनि टी–२० अन्तर्राष्ट्रिय खेल्न पाएनन् । सन् २०१४ पछि उनी टिममा समेत परेनन् ।

Comments

One response to “१० वर्षअघि पहिलो टी-२० विश्वकप खेल्ने नेपाली टीमका सदस्य अहिले को कहाँ छन् ?”

  1. Aasha magar Avatar
    Aasha magar

    Lets hope that This squad will not be forced to go abroad for better opportunity eg. ex-cricketer

Leave a Reply

Your email address will not be published. Required fields are marked *