सुनको अनुसन्धानमा कमजोरी गर्ने प्रहरीलाई कारबाही सिफारिस गर्न बनेको समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं। सुन तस्करीको अनुसन्धानमा कमजोरी गर्ने प्रहरी तथा कर्मचारीलाई कारबाही सिफारिस गर्न बनेको समितिले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका हकमा के गर्ने भन्ने सम्बन्धमा गृह मन्त्रालयले सहसचिव भरतमणि रिजालको संयोजकत्वमा समिति बनाएको थियो।

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले समितिले कुन दफाअनुसार कारबाही गर्ने भन्ने छुट्याएर प्रतिवेदन बुझाएको जानकारी दिए।

‘कारबाही सिफारिस भएकाको हकमा कानुनको कुन दफाअनुसार कारबाही हुनुपर्ने हो भनेर समितिले प्रतिवेदन बुझाएको छ। अब त्यसैअनुसार कारबाही हुन्छ’, भट्टराईले भने।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन प्रमुख किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डीएसपीहरु रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको थियो। तर के कारबाही भन्ने उल्लेख नभएकाले गृहले समिति बनाएको थियो।

सुनको अनुसन्धानमा कमजोरी गरेको र उन्मुक्ति दिएको आयोगको निष्कर्षपछि पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका थिए। उनलाई बयानपछि छाडिएको थियो।

प्रहरी नियमावलीमा सामान्य सजाय र विशेष सजाय गरी प्रहरी कर्मचारीलाई दुई प्रकारका विभागीय कारबाही हुने व्यवस्था छ। विशेष सजायमा बर्खास्त सम्बन्धी उल्लेख छ।

स्रोतका अनुसार सुन प्रकरणमा समितिले विशेष सजायअन्तर्गतको कारबाही सिफारिस गरेको छैन।

सामान्य सजायतर्फ बढीमा ५ वर्षसम्म बढुवा रोक्का गर्ने, बढीमा ५ तलब वृद्धि रोक्का गर्ने, बढीमा ५ वर्ष खाइपाइ आएको तलब वृद्धि घटुवा गर्ने र तल्लो पदमा घटुवा गर्नेसम्म कारबाही हुने उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *