चीज गुरुङले आफ्नो बुवाको संगीत चोरेको ‘बले’को आरोप, समाजको धम्की नदिन चेतावनी

काठमाडौं । गायक राजेन्द्र लम्सालका छोरा तथा कलाकार सागर लम्साल ‘बले’ले आफ्नो बुवाको गीत ‘छोडेर आए म’ सँग चीज गुरुङको गीत हुबहु मिलेको आरोप लगाएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उक्त गीत हटाउन समेत आग्रह गरेका छन्। स्टाटसमा उनले कुनै पनि संस्थाको आडमा धम्की नदिन भनेका छन् ।

गत महिना सार्वजनिक भएको गीत हुबहु चोरी गरिएको बलेको आरोप सागरको छ । विवादपछि गुरुङले गीतको डिस्क्रिप्सनबाट संगीतकारको नाम हटाएर त्यसलाई खाली राखेका छन् । तर भिडियोको अन्तिममा भने गीतकार र संगीतकारको नाममा चीज गुरुङ नै छ।

गुरुङले ल्याएको उक्त गीत अप्रिल १ मा युट्युबमा आएको थियो । अहिलेसम्म यो गीतलाई १६ लाख पटक हेरिएको छ भने गीत म्युजिकको ट्रेन्डिङ २० मा छ।

उनको स्टाटस–

गुरुङ समाजको आडमा धम्की नदिनुहाेला 

नयाँ संगीतकारमा संगीत सिर्जनाको कमी हो या पुराना गीतहरूको प्रभाव बढी हो। करिब एक महिना अगाडी रिलिज भएको गायककार चिज गुरुङको आफ्नै युट्युब च्यानलमा राखिएको ‘हावा सरर’ बोलको गीतको संगीत मेरो बुवा राजेन्द्र लम्साल तथा नारायण रायमाझीले गाउनुभएको तथा कृष्ण उजाड पौडेलले संगीत गर्नुभएको गीत ‘छोडेर आए म’ सँग हुबहु मिल्दो देखियो।

गज्जबको कुरा त के भने चोरिएको गीत बजारमा आएको केही मिनेट मै मैले यो गीतको संगीत त मिल्दोजुल्दो देखियो भनेर सम्बन्धित पक्षलाई जानकारी गराउँदा तपाईँ जे गर्न सक्नुहुन्छ गर्नुस् मसँग मेरो समाज छ, मेरो तर्फबाट मेरो समाज लड्छ भन्ने जवाफ आयो।

बजारमा चोरिएको संगीत भन्ने हल्ला नहुँदासम्म सानसँग संगीतकारमा आफ्नो नाम राखेका चिज गुरुङले अहिले सबैले थाहा पाइसकेपछि युट्युब डिस्कृप्सनबाट त आफ्नो नाम हटाएर संगीतको ठाउँमा म्युजिक कलेक्सन मात्र लेखी ठाउँ खाली राखेका छन् तर गीत तयार पार्दा सानसँग संगीतकारको प्लेटमा आफ्नो नाम लेखाएका चिज गुरुङले युट्युबको डिस्कृप्सनबाट संगीतकारको नामबाट आफ्नो नाम हटाए पनि भिडियोमा भने यथावत् छ।

वास्तविक सिर्जना गर्ने संगीतकार तथा सम्बन्धित पक्षलाई जानकारी नगराई बजारमा गीत आयो, आएको पनि महिनौँ भयो, नाम भयो, दाम भयो तर नेपाली लोक दोहोरीलाई केही हद सम्म नियमन गर्ने, असली सर्जकको हक हितमा बोल्ला भन्ने आशा राखिएको लोक तथा दोहोरी प्रतिष्ठान पनि यो विषयमा मौन छ।

मैले यसको बारेमा प्रतिष्ठानका अग्रजहरूलाई जानकारी गराइरहे तर थाहा छैन प्रतिष्ठानले कहिले सुन्ने हो। पछिल्लो समय अति नै अपाच्य शब्द राखेर निर्माण गरिएका दोहोरीबारे पनि लोक दोहोरी प्रतिष्ठानले मुख खोलेको छैन सायद कान पनि नखोलेरै बसेको छ होला। अब जसलाई जसलाई जसको जे मन लाग्छ चोरी गरी बजारमा नाम र दाम कमाउन पाइने हो ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *