राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान भएको छ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० को दफा ६ बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा प्रतिष्ठानको कार्यकारी निर्देशक पदको पदपूर्ति गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दरखास्त आव्हान गरेको हो ।

न्यूनतम योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकले मङ्गलवारदेखि आगामी १५ दिन भित्र मन्त्रालयस्थित पदपूर्ति सिफारिस उपसमितिको सचिवालयमा सीप विकास तथा तालिम शाखामा तोकिएको ढाँचामा आवेदन दिन सकिने जनाइएको छ ।

सूचना अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछ । सँगै सरकारी वा गैरसरकारी संघ, संस्था वा प्रचलित कानून बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थामा अधिकृत स्तरको पदमा रहेर श्रम, रोजगार, उद्योग, वाणिज्य, व्यापार, प्रशासन, राजस्व, इन्जिनियरिङ, व्यवस्थापन वा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको र आवेदन दिन अन्तिम मिति सम्ममा ४० वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

आवेदनका साथमा विषय क्षेत्र समेट्ने गरी कम्तीमा पाँच हजार शब्दमा अङ्ग्रेजी वा नेपाली कुनै भाषामा व्यावसायिक कार्य योजना पेश गर्नुपर्नेछ । पदपूर्ति उपसमितिले आवेदन दर्ता गरेका उम्मेदवारमध्ये उपलब्ध भएसम्म उत्कृष्ट ६ जना उम्मेदवारको वर्णानुक्रमका आधारमा सूची तयार गर्नेछ ।

उपसमितिले उम्मेदवारको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्य योजना प्रस्तुतीकरण एवं अन्तरवार्ताका आधारमा बढीमा उत्कृष्ट तीन जना उम्मेदवार छनौट गरी नियुक्तिका लागि वर्णानुक्रमका आधारमा सिफारिस गर्नेछ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *