बझाङ उपनिर्वाचन: थापा र महरले सम्हालेका थिए मोर्चा, शीर्ष नेताको खड्किएन अभाव

कैलाली । वैशाख १५ मा पूर्वी नेपालको इलाम र पश्चिम नेपालको बझाङमा उपनिर्वाचन सम्पन्न भयो । पूर्व र पश्चिम दुबैबाट सूर्य उदायो । इलाममा एमाले उम्मेदवार सुहाङ नेम्वाङले बाबुको विरासत जोगाउँदा बझाङमा कांग्रेस उम्मेदवार अभिषेक सिंहले बुवाको विरासत जोगाउन सकेनन् ।

इलाममा फराकिलो मतान्तर एमाले विजयी हुँदा बझाङमा झिनो मतान्तरले कांग्रेस पराजित बन्यो । प्रतिनिधि सभा निर्वाचन भएको हुँदा एमालेको नजर र प्राथमिकतामा जति इलाम परेको थियो त्यति बझाङ पर्न सकेन ।

एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटकसम्म इलामा पुगेर सुहाङलाई मत माग्दा बझाङमा भने एमालेका कुनै पदाधिकारी पुगेनन् । बझाङमा खटिएका नेताहरूले शीर्ष नेताहरू उपस्थित नहुँदा पनि पुरै पार्टीको तर्फबाट निर्वाचनको मोर्चा सम्हालेका थिए ।

स्थायी कमिटी सदस्य कर्ण थापा र केन्द्रीय सदस्य ऐन महरले बझाङ उपनिर्वाचनको मोर्चा सम्हाले । महिनौँ पहिलेदेखि उनीहरुले एमाले उम्मेदवार जिताउने अभियान सुरु गरेका थिए । स्थायी कमिटी सदस्य थापा मनोनयनदेखि नै मोर्चाको नेतृत्व गरेका थिए ।

युवामाझ लोकप्रिय महरले थापाको चुनावी नीतिलाई कार्यकर्ताहरूसम्म पुर्‍याउन भूमिका खेले । पार्टी इन्चार्जसमेत रहेका पोलिट व्युरो सदस्य राजेन्द्रसिंह रावल, जिल्लामा रहेका अन्य केन्द्रीय सदस्य भैरव बहादुर सिंह, अफिलाल ओखेडा र आशा विकले पनि साथ दिए ।

जिल्ला पार्टीका अध्यक्ष रहेका दमन भण्डारी उम्मेदवार बन्दा पुरै पार्टी कमिटी लागेको थियो । कार्यक्रमको सिलसिलामा युरोप भ्रमणमा रहेकी केन्द्रीय सदस्य आशा विक भ्रमण छोट्टाएर निर्वाचनको प्रचार प्रसारमा जुटेकी थिइन् भने उम्मेदवारको लागि भएको आन्तरिक निर्वाचनमा पराजित भएका अफिलाल ओखेडा पनि भण्डारी जिताउने अभियानमा जुटेका थिए ।

स्थायी कमिटी सदस्य थापा र युवा नेता महरले चुनावी अभियानको लिड गरेका थिए । जिल्लाका अन्य पार्टी कमिटीको सक्रियताले एमाले शीर्ष नेताहरूको अभाव नै बझाङमा खड्किएन ।

‘यस पटकको निर्वाचनमा सबै नेता कार्यक्रर्ताहरुको उत्साहजनक भूमिका देखियो । सबै मिल्दा एमालेलाई कुनै पनि शक्तिले हराउन सक्दैन भन्ने कुरा बझाङ पुष्टि भएको छ’ चुनावी कमान्डर मध्येका एक महर भन्छन् ‘बझाङ र इलामले मिसन ०८४ स्पष्ट पारेको छ । अब एमालेको एकल बहुमतलाई कसैले रोक्न सक्दैन ।’

निर्वाचनको केही दिन अघि मात्रै उम्मेदवार भण्डारीको बुवा बितेपछि उनी सबै ठाउँमा मत माग्न पनि जान पाएका थिएनन् । निर्वाचन उत्कर्षमा हुँदा भण्डारी किरियामा बस्नु परेको थियो । तर, त्यो बेला पनि एमाले पङ्क्ति सक्रिय ढङ्गबाट लाग्यो र उम्मेदवार विना नै गतिविधि बढायो ।

यस पटकको उपनिर्वाचनमा बझाङमा सत्ता गठबन्धन भित्रैका दलहरू पनि एक आपसमा भिडेका थिए । एमाले उम्मेदवार २६६ मतले विजय हुँदा गठबन्धनकै दल माओवादी तेस्रो भयो भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारले धरौटी बचाउन सकेनन् ।

यस अघि कांग्रेसका पृथ्वी बहादुर सिंहले जितेको क्षेत्रमा उम्मेदवारको छनोट, नेता कार्यकर्ताहरूको समन्वय र पार्टीको लोकप्रियताको कारण निर्वाचन जितिएको एमाले नेताहरूको ठहर छ ।

एमालेको आधार इलाका मानिएको बझाङ अब थप बलियो भएको चुनावी कमान्डर कर्ण थापा बताउँछन् । ‘बझाङमा एमाले पहिलेबाटै बलियो हो ।अघिल्लो पटक माओवादी र नेकपा एकीकृत समाजवादीको मत पनि पाउँदा कांग्रेस विजयी भएको थियो तर, अहिले पार्टीले आफ्नो विरासत जोगाएको छ’ उनी भन्छन्, ‘अब बझाङमा अरू पार्टीले जित्छौँ भन्ने नसोच्दा हुन्छ ।’

कर्ण थापा,ऐन महर लगायतले चुनावी नेतृत्व गरेर केन्द्रीय नेतृत्वको सुझाव र निर्देशन अनुसार पार्टी एकढिक्का भएको हुँदा निर्वाचन जितिएको पार्टी बझाङ सचिव आनन्द विकको बुझाइ छ ।

‘बझाङमा एमाले पहिलेबाटै बलियो हो तर, टुटफुटले यहाँ पनि ठुलो समस्या सृजना गरेको थियो । हामी स्थानीय तहमा धेरे ठाउँमा हारेका थियौ, प्रदेश र प्रतिनिधि सभामा पनि जिल्ला शून्य भयो । पुरानै विरासत जोगाउने गरि लाग्यौँ र जित्यौ’ उनले भने ।

फागुन ३ गते केन्द्रीय सदस्य ऐन महरको राजीनामा केन्द्रीय सचिवालय बैठकले स्वीकृत गरेको थियो । तर, निर्वाचनमा महर सक्रिय नहुँदा पार्टीलाई ठूलो क्षति हुने भन्दै १ महिना पछि अर्थात् चैत्र ११ गते केन्द्रीय सचिवालय बैठकले महरलाई फेरि केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

पार्टीभित्र हुन सक्ने सम्भावित अन्तर्घातबाट जोगाउन पार्टी पूर्व अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्व सभामुख अर्जुन थापाको संयोजकत्वमा समिति पनि तयार गरिएको थियो । निर्वाचन जित्नुमा पार्टी भित्रको एकता पनि एक कारण भएको उक्त समितिको ठहर छ ।

शोककै अवस्थामा निर्वाचन जितेको हुँदा भण्डारीसँग नेता कार्यकर्ताहरूले उत्साह साट्न सकिरहेका थिएनन् । भण्डारी जिताउने अभियानको नेतृत्व गरेका महरलाई भने विजय जुलुसमै कार्यकर्ताहरूले काँधमा बोकेर नगर परिक्रमा गराएका थिए । उनीहरुले थापा र महरको नेतृत्वले बझाङमा एमालेले विरासत फर्काएको भन्दै पार्टी जिताउने अभियानमा सबै नेता कार्यकर्ताहरूलाई एक ठाउँमा यसै गरी उभिन समेत अपिल गरेका थिए ।

बझाङमा प्रतिनिधि सभा निर्वाचित एमालेका पुराना नेता भानुभक्त जोशी सहितले एमालेका अर्का पुराना नेता दिलबहादुर सिंहलाई उम्मेदवार बनाउँदा एमालेलाई धक्का पुग्ने आंकलन गरिएको थियो । तर, थापा र महरको नेतृत्वले त्यो आकलनलाई पनि फेल खुवायो । एमाले हराउने आशङ्का गरिएका उम्मेदवारले आफ्नो जमानत समेत जोगाउन सकेनन् ।

Comments

2 responses to “बझाङ उपनिर्वाचन: थापा र महरले सम्हालेका थिए मोर्चा, शीर्ष नेताको खड्किएन अभाव”

  1. Samir Avatar
    Samir

    मिसन’८४ राष्ट्रिय स्वतन्त्र पार्टीको हो। ३० वर्षदेखि सत्तामा रहेका भ्रष्टहरुको होइन।

    1. Ramesh Avatar
      Ramesh

      Sahakaari chor haru 84 maa jamanat bachaunnan

Leave a Reply

Your email address will not be published. Required fields are marked *