नेपालले भोलिसम्म विश्वकपका लागि राष्ट्रिय टोली घोषणा गर्नुपर्ने

काठमाडौं। आसन्न आईसीसी टी-२० विश्वकपका लागि नेपालले बुधवारसम्म राष्ट्रिय टोलीको घोषणा गर्नुपर्ने छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतियोगितामा सहभागी हुने २० वटै टोलीलाई बुधवारसम्म अन्तिम टोली घोषणा गर्नुपर्ने समय सीमा तोकेको छ। नेपाल क्रिकेट संघ(क्यान)ले विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्ने छ।

जुन १ देखि प्रतियोगिता सुरु हुँदै छ। नेपालले अहिले घरेलु मैदानमा वेस्ट इन्डिज एसँग ५ खेलको टी-२० शृङ्खला खेल्दै छ। यो शृङ्खलाका लागि प्रारम्भिकरुपमा १६ सदस्यीय टोली घोषणा गरिएकामा पछि ४ खेलाडी थपिएको थियो।

वेस्ट इन्डिज ए शृङ्खलाका लागि रोहित पौडेल, अनिल शाह, लोकेश बम, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द, अविनाश बोहरा, कमलसिंह ऐरी, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी, विनोद भण्डारी, करण केसी र सन्दीप जोरा नेपाली टोलीमा छन्।

यीमध्ये रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी,सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अविनाश बोहरा टोलीमा पर्ने सम्भावना बलियो छ। अनिल शाह, विवेक यादव, आरिफ शेख, सागर ढकाल र प्रतिश जिसी पनि प्रत्याशी हुन्।

यीमध्ये हालै ओमानमा भएको एसीसी प्रिमियर कपमा सहभागी १४ सदस्यीय नेपाली टोलीमा सागर र आरिफ थिएनन्। नेपालले विश्वकपका लागि यसअघि नै सम्भावित टोलीको नाम भने पठाई सकेको छ। अब यीमध्येबाट १५ सदस्यीय टोली घोषणा हुने छ। नेपाल १० वर्षपछि विश्वकपमा सहभागी हुँदै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *