कांग्रेसको ठहर- संसद छलेर सरकारले अध्यादेश ल्याउन खोज्नु संविधान र संसदीय व्यवस्था विपरित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले देश र जनतासँग प्रत्यक्षरुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेको विषयमा आपत्ति जनाएको छ। प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

संघीय संसदको गत अधिवेशनमा कानून निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै सरकारले सहकारी पीडित लगायत देशमा विद्यमान तमाम समस्याहरु समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा संघीय संसदको अधिवेशन अन्त्य गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, सबै विपक्षी दलहरुले सहकारी संस्थाहरुमा लाखौं नागरिकले जम्मा गरेको अरबौं रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानविन गर्न र सहकारी पिडितका समस्या सम्बोधन गर्न संसदीय छानविन समिति माग गरेकोमा उक्त विषयलाई नजरअन्दाज गर्दै सरकारले संसदबाट भागी अधिवेशनको अन्त्य गरी गैरजिम्मेवार र संसदीय अभ्यास विरोधी चरित्र प्रदर्शन गरेको हामीले ठहर गरेका थियौं।

कुनै पनि कानून सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले निर्माण गर्ने संसदीय व्यवस्थाको आधारभूत मान्यता भएको उल्लेख गर्दै सरकारले संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडी देखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको निष्कर्ष निकालेको छ।

सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरित कांग्रेसको ठहर छ। सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरित कार्यले संसदलाई कमजोर पार्ने कांग्रेसको बुझाइ छ।

लगानी सम्मेलनलाई लक्षित गर्र्दै सरकारले अधिवेशन अन्त्य गरेपछि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो।

Comments

One response to “कांग्रेसको ठहर- संसद छलेर सरकारले अध्यादेश ल्याउन खोज्नु संविधान र संसदीय व्यवस्था विपरित”

  1. RA Avatar
    RA

    Makauri NC 😝

Leave a Reply

Your email address will not be published. Required fields are marked *