काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा बनाइएका आकर्षक यात्रु प्रतीक्षालय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । धेरैले तस्विर शेयर गर्दै काठमाडौंका मेयर बालेन्द्र शाहको गुणगान गाइरहेका छन् ।
यस्तो प्रकारको यात्रु प्रतीक्षालय सम्भवतः काठमाडौंमै पहिलो पटक बनाइएको हो । धरहराको कम्पाउण्ड बाहिर सडकपेटीसँगै जोडेर बनाइएका तीन वटा प्रतीक्षालयहरु सिसाले घेरिएका छन् । भित्र बस्न कुर्सी राखिएको छ, जहाँ यात्रुले आनन्दले थकाइ मार्न सक्छन् ।

काठमाडौंमा कतैकतै बस विसौनीहरु छन् । तर, त्यहाँ यात्रुका लागि कुनै सुविधा छैन । धरहरा परिसरमा बनेका प्रतीक्षालय भने सुविधायुक्त हुनुका साथै आकर्षकसमेत छन् । प्रतीक्षालय अगाडि फराकिलो फुटपाथ छ ।
यो प्रतीक्षालय केही दिनअघि मात्रै तयार भएको हो । सबैले यसको क्रेडिट मेयर बालेनलाई दिइरहेका छन् । तर, यथार्थमा यो प्रतीक्षालय निर्माणमा उनको हात छैन । आधुनिक धरहरा निर्माण परियोजनाअन्तर्गत यो बनेको हो । प्रतीक्षालय परियोजनाकै अंग हो ।
शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच आधुनिक धरहराको विषयमा विवाद कायमै छ । निर्माणाधीन आधुनिक धरहराको बेसमेन्टको काम नै नसकी काठमाडौं महानगरपालिकाले आफूखुशी पार्किङ खुलाएपछि महानगर र मन्त्रालय आमनेसामने भएका थिए । यसबाट निर्माणको जिम्मा लिएको रमण कन्स्ट्रक्सन असन्तुष्ट बनेको थियो । यद्यपि, पार्किङ अहिले पनि सुचारु नै छ ।
अनर्गल प्रचार गरियोः निर्माण कम्पनी
धरहरा परिसरको बस स्ट्याण्ड महानगरपालिकाले बनाएको चर्चा निराधार भएको रमण कन्स्ट्रक्सनका अध्यक्ष रमण महतोले नेपाल प्रेसलाई बताए ।
उनले भने, ‘मेयरले बनाएको भनेर अनर्गल प्रचार भइरहेको छ । यो हामीले धरहराकै बजेटअन्तर्गत बनाएका हौं ।’
प्रोजेक्टअनुसार बिल्डिङबाहेक परिसर वरपरको सडक, फुटपाथ, बगैंचा, प्रतीक्षालयलगायतका काम जीआईईटीसी-रमण कन्स्ट्रक्सन (जेभी)ले बनाएको उनले बताए ।
महतोका अनुसार दुई महिना अघिदेखि निर्माण सुरु गरेर केही दिनअघि मात्रै प्रतीक्षालय प्रयोगमा आएको छ । प्रतीक्षालय बनाउन लागेको खर्च पनि धरहराकै बजेटमा जोडिएको उनले बताए ।
कहिले हुन्छ हस्तान्तरण ?
२०७२ सालको भूकम्पले धरहरामा क्षति पुर्याएको थियो । क्षतिग्रस्त धरहराको ठुटो त्यत्तिकै राखेर आधुनिक धरहराको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तर, ३ वर्ष अगाडि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक धरहराको औपचारिक उद्घाटन गरेका थिए । धरहरा निर्माणको शिलान्यास २०७५ वैशाख १२ मा ओलीले नै गरेका थिए ।
पुरानो धरहरासँगै नयाँ आधुनिक धरहरा निर्माण गर्न चिनियाँ निर्माण कम्पनी जीआईईटीसी-रमण कन्स्ट्रक्सन (जेभी)ले ठेक्का पाएको थियो । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको आधुनिक धरहराको काम लगभग सकिसकेको छ ।
निर्माण कम्पनी जीआईईटीसी-रमण कन्स्ट्रक्सनले सातौं पटक म्याद थप गरेर असार अन्तिमभित्र हस्तान्तरण गर्ने तयारी गरेको छ । विभागले नै म्याद गरेर डिजाइन भेरियसनको काम गरिराखेकाले ढिलो भएको महतो बताउँछन् ।
तस्विरहरु : उमेश कार्की

Leave a Reply