मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन हुने

रुपन्देही । नेकपा एमाले तत्कालीन महासचिव स्व. मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले रुपन्देहीको बुटवलमा स्व. मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा जेठ ३ गते दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।

गतवर्ष शान्तिको कामनासहित भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको एकेडेमीले यस पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो ।

सबैका लागि खेलकुद भन्ने नाराका साथ बालकदेखि वृद्धासम्म सहभागी बनाएर दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्टस एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

२१ किलोमिटरको हाफ म्याराथन प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिन पाउने उनले बताए । त्यस्तै १० किलोमिटर कलेज स्तरीय र ५ किलोमिटरको विद्यालय स्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ ।

६० वर्ष माथिका ज्येष्ठ नागरिकको लागि वाकाथन प्रतियोगिता पनि सँगसँगै राखिएको खेल संयोजक मोहन घलेले जानकारी दिए । खुला रेसको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौँ २० हजार र छैटौँ १० हजार रहेको छ ।

त्यस्तै गरी १० किलोमिटर दौडको प्रथम ३५ हजार, द्वितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथो १० हजार र पाँचौँ र छैटौँको क्रमश: ७ र ५ हजार रहेको छ ।

छात्रछात्रा दौडको विजेताले प्रथम पुरस्कार छात्रतर्फ क्रमश: २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । भने, छात्रातर्फ १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको तयारी तीव्र पारिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए ।

एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई दुई वर्ष पुग्ने औषधिका लागि रकम पनि सोही अवसरमा प्रदान गर्ने अध्यक्ष आचार्यले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *