महाजात्राले महाव्यापार गर्दा ‘डिग्री माइला’ को ग्रस कलेक्सन कति ?

काठमाडौँ। आज राजधानीमा चलचित्र ‘डिग्री माइला’ को पत्रकार भेटघाट कार्यक्रम आयोजना गरियो। चलचित्र निर्माण टिमले सबैलाई धन्यवाद दिन कार्यक्रमको आयोजना गरेका थिए।

आयोजित कार्यक्रममा चलचित्रको ग्रस कलेक्सनको चर्चा चलेको थियो। चलचित्र निर्माताका अनुसार ‘डिग्री माइला’ले पहिलो साता घरेलु बक्स अफिसमा ५ करोड ५ लाख ग्रस कमाइ गरेको छ। चलचित्रले काठमाडौं उपत्यकामा २ करोड ५० लाख ग्रस र उपत्यकाबाहिर २ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो।

निर्देशक रामबाबु गुरुङ चलचित्र क्षेत्रका स्थापित निर्देशक हुन। उनले बनाएका चलचित्रहरूले सिने नगरीमा राम्रा रेकर्डहरू राखेका छन्। त्यसैले पनि, उनले बनाएका चलचित्रहरूले राम्रो कमाइ गर्नेमा धेरै विश्वस्त रहन्छन्। तर ‘डिग्री माइला’ भने निर्माण टिमले सोचेजस्तो रहेन।

कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो कमाइ आफूहरूले अपेक्षा गरेको भन्दा कम रहेको बताए ।

‘ओपनिङ सोचेजस्तो भएन। हामीले कबड्डी र जारीकै लेभलमा कमाइ होला कि भन्ने सोचेका थियौँ । हाम्रो अपेक्षा धेरै माथि रह्यो,’ पोखरेलले भने ।

भिन्न तरिकाले कथा भन्ने आफूहरूको प्रयासको गरेको बताउँदै पहिलो साताको कमाइ अपेक्षित नै रहेको चलचित्रका प्रमुख पात्र दयाहाङ राईले सुनाए।

चैत्र ३० गतेबाट रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *