‘पूर्ण बहादुरको–सारङ्गी’को मोसन पोष्टर टिजर रिलिज, बुवाको भूमिकामा विजय बराल ?

काठमाडौं। सेभेन सिज इन्टरटेनमेन्टको निर्माणमा नयाँ नेपाली चलचित्र ‘पूर्ण बहादुरको–सारङ्गी’बन्ने भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्रको शुक्रवार मोसन टिजर पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो ।

सार्वजनिक मोसन टिजर पोस्टरमा सारङ्गीको मिठो धुन, रुख र पहाडको बाटो देखाइएको छ। त्यहीँ बाटो हुँदै एक व्यक्ति हिँडिरहेको देखाइएको छ जसले काँधमा बच्चा बोकेका छन् र पछाडि सारङ्गी झुन्ड्याएका छन् । त्यतिकैमा बच्चाले सोध्छ,‘बा, तिमीले मलाई सधैँ किन काँधमा बोकेर हिँड्छौ ?’

हाँस्दै बाउले जवाफ दिन्छन्, ‘किनभने म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर ।’ यतिभन्दा ऊ भक्कानिइसकेको हुन्छ । थप बोल्न सक्दैन ।

टिजर हेर्दा ऊ गाउँघरमा सारङ्गी रेट्दै हिँडेर आफ्नो घरपरिवार चलाइरहेको र उसको परिवारमा बाउ र छोरा मात्रै रहेको अनुमान लगाउन सकिन्छ ।

संवादपछि सन्तानको खुसीका लागि आफूले सके जति घाम र हुरी छेकिदिने र शरीरमा एक मुठ्ठी सास रहेसम्म सन्तानलाई काँधमा बोकेर हिँडिरहने भाव प्रकट गरिएको छ। सार्वजनिक टिजरमा बाउ र छोराको भूमिकामा को छन् भन्ने प्रस्ट्याइएको छैन।

सार्वजनिक मोसन टिजर पोष्टरमा देखाइएका बुवा विजय बराल हुन। टिजरमा बुवाको आवाजमा विजय बरालको आवाज सुन्न सकिन्छ। सुरुमा झट्ट सुन्दा कसको आवाज भनेर ठ्याक्कै ठम्याउन गाह्रो पर्छ। तर उक्त आवाज विजय बरालको हो। थुप्रै चलचित्रबाट चौतर्फी तारिफ बटुल्न सफल बरालको यो चलचित्र कस्तो हुनेछ, त्यो हेर्न भने २०८२ कुर्नुपर्नेछ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो चलचित्रलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दैछन् । रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त सिवाकोटीको संगीत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *