वाइडबडी प्रकरणमा कांग्रेसलाई ओलीको प्रश्न- काँक्रो आफू चोर्ने, बीउ अर्काको गालामा टाँस्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले भ्रष्टाचार गरेको सुइँको पाउने बित्तिकै हटाएर कारबाही गर्ने बताएका छन्।

एमाले स्याङ्जा जिल्ला अधिवेशन उद्घाटनलाई गर्दै एमाले भ्रष्टाचार विरोधी अभियानको पक्षमा रहेको बताए।

उनले भने- हामी भ्रष्टाचार अन्त्य गरेर देश बनाउने अभियानमा लागेका छौँ। हाम्रो मन्त्री होस् वा अरू कसैले भ्रष्टाचार गरेको सुइँको पाउनेवित्तिकै एक छिन नपर्खीकन अवकाश दिन्छौँ। प्रमाण छैन भने पनि यथार्थ बुझ्छौँ र अवकाश दिन्छौँ। प्रमाण छ भने हाम्रै भए पनि कारबाही गर्छौं। हामी भ्रष्टाचारको विरुद्धमा छौँ। सुशासन र विकासको पक्षमा छौँ।

उनले वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर अघि बढेपछि कांग्रेस आत्तिएको टिप्पणी गरे।

उनले भने- नेपाली कांग्रेसले मतिर फर्किएर धेरै पटक भनेको थियो वाइडबडीको छानबिन गर, वाइडबडीका भ्रष्टहरूलाई कारबाही गर भनेर, चर्को चर्को स्वरमा कराउँथ्यो। यो वाइडबडीको मुद्दा अघि बढ्यो के गर्यो भनेर कांग्रेस उफ्रिने उत्तेजित हुने, कराउने गर्न थालेको छ। मैले उसैलाई भनेको थिए, वाइडबडीको छानबिन गराऊ र जेलमा जाऊ भनेका थिए। अरू पनि छानबिन गराऊ जेलमा जाऊ, काँक्रो आफू चोर्ने, काँक्रोको बीउ अर्काको गालामा टाँस्ने ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेपछि ओलीले यस्तो टिप्पणी गरेका हुन्। तत्कालीन मन्त्री शाही कांग्रेसका प्रदेश सभा सदस्य पनि हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *