राष्ट्रियसभा उपाध्यक्षमा एमाले र नेकपा एसको हानथाप

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैत २८ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकिसकेका छन्।

माओवादीबाट उपाध्यक्ष बनेकी उर्मिला अर्यालले राजीनामा दिएपछि नयाँ उपाध्यक्ष निर्वाचन प्रक्रिया अघि बढेको हो। अध्यक्षमा माओवादीकै दाहाल निर्वाचित भएपछि अर्यालले बाध्य भएर राजीनामा बुझाएकी थिइन्।

आजको बसेको राष्ट्रियसभाको बैठकमा नियमावली बमोजिम संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचनको सम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन समेत दिए।

सत्ता गठबन्धनमा माओवादीले अध्यक्ष लिएपछि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो। तर, नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा जोडिएपछि उपाध्यक्षमा दाबी गरेपछि यो विषय सहमतिबाट हटाइएको थियो।

अहिले एमाले र नेकपा एस दुवैले राष्ट्रियसभाको उपाध्यक्ष आफैँले पाउने दाबी गर्दै आइरहेका छन्। राष्ट्रियसभाको उपाध्यक्षमा आफ्नो पार्टीको दाबी स्वभाविक रहेको नेकपा एसका उपाध्यक्ष बेदुराम भुसालले बताए।

उनले भने, ‘अहिलेसम्म कसले लिने भन्ने टुंगिएको छैन। हामीले पनि दाबी गरेका छौँ। यो विषय अब निर्वाचनको मिति पनि तोकिसकेको छ। गठबन्धनमा सहमति होला।’

पार्टीले पाउने निश्चित भएपछि मात्रै उम्मेदवारबारे छलफल गर्ने बताए। त्यसो त नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि उपाध्यक्षको विषयमा छलफल भइरहेको बताए।

उनले भने, ‘पहिला त हामीले पाउने सहमति भइसकेको थियो। तर, अहिले नेकपा एसले पनि दाबी गरेको छ। तर, हामीले पनि दाबी छाडेका छैनौँ। हामीले नै पाउँछौँ भन्ने छ। यो विषयमा अब छलफल हुन्छ।’

गठबन्धन दलमा उपाध्यक्ष एमालेले लिने कि नेकपा एसले भन्ने विषयमा अहिलेसम्म कुनै सहमति नभएको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले बताए।

उनले भने, ‘गठबन्धनका शीर्ष नेताहरुबीच निरन्तर छलफल भइरहेको छ। यो विषय अहिलेसम्म टुंगिएको छैन। अब शीर्ष नेताहरूले नै टुंग्याउनुहुन्छ।’

नेकपा एसका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीसँग राष्ट्रियसभाको उपाध्यक्ष आफूले पाउनुपर्ने शर्त कडा रूपले प्रस्तुत गर्दै आइरहेका छन्।

सत्ता गठबन्धनमा गणितीय रूपमा माधव नेपाल बलियो भएपछि नेकपा एसको दाबीमा ओली लचक भएको बताइन्छ।

तर, एमाले र नेकपा एस दुवै दलको नेताहरूले उपाध्यक्ष आफ्नो पार्टीले पाउने सहमति भइसकेको दाबी गर्दै आइरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *