अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता हो : डा. सापकोटा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भएको बताएका छन् ।

‘एसिया र विश्व ः समान चुनौती, साझा दायित्व’ नारामा चीनको हैनान प्रान्तमा आयोजित बोआओ फोरममा नेपालका तर्फबाट शुक्रबार सम्बोधन गर्दै उनले आर्थिक कूटनीतिका विविध प्राथमिकताबारे नेपालको धारणा राखेका हुन् ।

‘भूराजनीतिक द्वन्द्व, विश्व राजनीतिमा बढ्दो राजनैतिक ध्रुवीकरण र कमजोर सहकार्य लगायतले गर्दा नेपालको बहुपक्षीय एवं आर्थिक विषयमा अन्तर्राष्ट्रिय सहकार्य सोचेअनुसार अगाडि बढाउन कठिन भइरहेको छ’, सल्लाहकार सापकोटाले भने ।

सो अवसरमा डा सापकोटाले अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने नेपालको लक्ष्य, जलवायु परिवर्तनको प्रकोपलाई समयसापेक्ष सम्बोधन र नेपालको समग्र आर्थिक विकास एवं समृद्धि हासिल गर्न राखिएका लक्ष्यमा सघाउन अनुरोध गरे ।

‘विश्वले अहिले सामना गरिरहेको आर्थिक सङ्कट, ऊर्जा एवं खाद्य सङ्कट, जलवायु परिवर्तनको प्रभावजस्ता विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न बोआओ फोरमजस्ता मञ्चहरू केन्द्रित हुनुपर्छ’, उनले भने, ‘पछिल्ला विश्वयापी सङ्कटका कारण नेपालजस्ता दक्षिण गोलार्द्धका विकासोन्मुख मुलुकहरू अझ बढि मार परेका छन् ।’

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *