बनेपामा वृद्धाको हत्या गरी फरार युवक एक महिनापछि पक्राउ, सापटी तिर्न लुटेका थिए मुन्द्री (भिडिओ)

बनेपा । इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षीया वृद्धाको हत्या अभियोगमा एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

कानमा लगाएका दुईवटा मुन्द्री लुटेर व्यक्तिगत खर्च चलाउने उद्देश्यले एउटै घरमा भाडामा बसेकी ८३ वर्षीया लक्ष्मी तामाङको गत फागुन १७ गते बिहान हत्या गरी भागेका अभिषेक अचार्जुलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

धुलिखेल नगरपालिका-९ घर भई बनेपा नगरपालिका १३भैँसेपाटीस्थित वसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोही घरमा डेरा गरी बसेका सुनसरी घर भएका २९ वर्षीय युवक अभिषेकले हत्या गरेको इप्रका बनेपाका डीएसपी लालध्वज सुवेदीले बताए ।

सुवेदीका अनुसार तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिच्नुको साथै मुख थुनेर सुनको मुन्द्री लुटेर फरार भएका थिए । लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रूपैयाँ लिएका थिए । उक्त रकमबाट अभिषेकले साथीहरूबाट लिएको सापटी तिरेको बयान दिएका छन् ।

प्रहरीले पक्राउ परेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान सुरू गरेको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *