रविको आलोचना गरेको विषयमा रास्वपाले प्रश्न सोधेपछि रमेश खरेलले अंग्रेजीमा पठाए राजीनामा पत्र

काठमाडौं । पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापतिको विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो ।

खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बतायो । उनले अंग्रेजीमा लेखेको राजीनामा पत्र महामन्त्री डा. मुकुल ढकालको टेबलमा पुगेको छ ।

पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गरिएको पत्रमा खरेलले लेखेका छन्, ‘सचेत रुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।’

खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका छन् ।

‘यद्यपि, पछिल्लो विकासक्रम तथा मेरो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग तादाम्यता मिल्न सकेन,’ उनले भनेका छन् ।

रमेश खरेल अहिले स्पेस फोके टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँछन् । हालैको एपिसोडमा उनले स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी रवि लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए । यही विषयमा स्पष्ट पार्न रास्वपाको अनुशासन समितिले उनलाई आग्रह गरेको थियो ।

रमेश खरेल रास्वपाको साधारण सदस्यको हैसियतमा मात्र थिए । बाराको उपचुनावमा रास्वपाबाट उम्मेदवारी दिएर पराजित भएपछि उनी पार्टीमा निष्क्रिय बनेका हुन् । उनले केन्द्रीय सदस्य बन्ने प्रस्ताव अस्वीकार गरेका थिए ।

Comments

4 responses to “रविको आलोचना गरेको विषयमा रास्वपाले प्रश्न सोधेपछि रमेश खरेलले अंग्रेजीमा पठाए राजीनामा पत्र”

  1. Nagendra Avatar
    Nagendra

    निकट भविस्यमा एउटा अर्को पार्टी खुल्ने कुराको संकेत हो यो !! एउटा त्यान्द्रो पक्डियो, अलि अलि फलोअर जम्मा पार्यो पार्टी खोल्यो : नेपालमा चलेको बिजिनेस !! कत्ति सजिलो छ नि : जस्तो वा जत्ति अपराध गर्यो उत्ति चल्तीको उत्ति ठुलो नेता : पार्टी : अनि कामै नभएका पछुवा !!

  2. Bhavani Sharma Avatar
    Bhavani Sharma

    जुन दलमा अभिव्यक्तिको स्वतन्त्रता हुन्न त्यस्तो दलमा बस्नु दासत्व अङ्गीकार गर्नु हो।

  3. माईकालाल Avatar
    माईकालाल

    रमेश खरेल पुलिस हुँदा मलाई मन पर्थ्यो। तर उनी पुलिस हुँदा उनमा बिस्तारै राजनीतिक महत्वाकांक्षा बढ्दै गयो , पुलिस भएर पत्तै नपाई नेता जसरि पनि बोल्न थाले घरि घरि । अनि त्यहि कारण डिईजीबाटै बिदा हुन पुगे । अनि उनको राजनीतिक महत्वाकांक्षा झनै चुलियो । तर उनको महत्वाककांक्षाले गर्दा उनलाई कुनै पार्टी भित्र छिर्न दिएन । त्यसपछि आफ्नै पार्टी खोले । तर पार्टी खोल्नु सेलेब्रेटी पुलिस भए जस्तो सजिलो थिएन, अनि पछारिए । पछाडीएको तोडमा रबिको पछि लागे । तर त्यहाँ पनि पछारिएपछि रबिलाई पनि सराप्न थाले । आखिर रबिले पनि आफूलाई सराप्नेलाइ किन राख्नु ? उनी आफैँ ननिस्केको भए रबिले आफैँ निकाल्ने थिए ।

  4. sajan Avatar
    sajan

    रमेश खरेल राजनिति गर्न योग्य व्यक्ति हैनन् । यिनी संग देश बनाउने योजना नै छैन । प्रहरीले गर्नुपर्ने अपरेसन कार्यमा मात्र सफल हुने पात्र हुन । यिनिमा एउटा गुण चाहिँ छ घुस खादैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *